इटहरी/सिँचाइमन्त्री दीपक गिरीले देश र जनताका लागि आवश्यक परेका साना हुन वा ठूला योजनालाई राज्यले पहिलो प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।
मन्त्री गिरीले आज सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुनसरी बराहक्षेत्रको चतरामा रहेको नहरको मुख्य न्यू इन्टेक क्षेत्रको स्थलगत अवलोकनका क्रममा त्यस्तो बताएका हुन् ।
पूर्वी नेपालको कृषि भूमिको सिँचाइ सुविधा उपलब्ध गराउने महत्वपूर्ण सिँचाइ नहर किसानले चाहेअनुसार र कृषिका लागि आवश्यक परेका बेला सहजरुपमा पानी आपूर्ति हुनुपर्नेमा जोड दिँदै मन्त्री गिरीले त्यसका लागि के–कस्ता योजना कोसी नदीमा थप्नुपर्छ त्यसका लागि सरकार सचेत रहेको बताए ।
यसअघि पनि मन्त्री गिरीले सुनसरी–मोरङ सिँचाइ आयोजनाको न्यू इन्टेक क्षेत्रका स्थलगत अवलोकन र अनुगमन गरैका थिए ।
सो क्रममा आयोजनाका प्रबन्धक तारा पौडेलले न्यू इन्टेक रहेको मुहान क्षेत्रको कोसी नदीमा पानी पश्चिमतर्फ गरिहिरिएर जाँदा नहरमा पानी नचढ्ने खतरा सिर्जना भएपछि त्यहाँ ब्यारेज निर्माणको आवश्यकता खड्किएको बताएका थिए।
बराह क्षेत्रको सुनसरी र उदयपुरलाई एकआपसमा जोड्न पक्की पुल निर्माण गर्दा कोसीको पश्चिमपट्टिको सतह गहिरिएको र हिउँदमा नहरमा पानी लैजान ब्यारेज बनाउन कम्तिमा रु १३ अर्ब बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।
सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर निर्वाध रुपमा सञ्चालनमा ल्याउन कोसी नदीमा राष्ट्रिय गौरवका रुपमा ब्यारेज आयोजना ल्याउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।