विराटनगर/मोरङको जाँते स्थित तेली खोलाको उचाई बढेका कारण वर्षेनी जमिन कटान भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न तटबन्ध निर्माण गर्न स्थानीयले माग गरेका छन् । स्थानीय तेली खोलामा थुप्रिएको नदीजन्य पदार्थले वार्ड नम्वर २, ३ र ९ को करिव ३ सय घर उच्च जोखिममा परेपछि जिल्लादेखि मन्त्रालयसम्म स्थानीयले दौडधुप गरिरहेका छन् । जाँतेका स्थानीय राजनीतिक दलहरुको संयुक्त प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाउँदै तटबन्द निर्माण गर्न र उकास भएको खोलाको ढुंगागिटी निकाल्न माग गरेका हुन् ।

वर्षायाममा सय विगाह भन्दा बढी जमिन यसैबर्ष कटान गरेपछि स्थानीयहरुले वीरबहादुर पाहिमको अध्यक्षतामा तेली खोला नदी नियन्त्रण समिति गठन गरेर तटबन्द निर्माण तथा जम्मा भएको ढुंगागिटी निकाल्नकालागि पहल अघि बढाएका हुन् । उनीहरुले जलस्रोत मन्त्रालयमार्फत नदि नियन्त्रणकालागि आपतकालिन काम अघि बढाउन माग अगाडी सारेका छन् । मन्त्रालय लागत स्टमेट तयार गरी प्रस्ताव अघि बढाएको र अहिले अर्थमन्त्रालयमा पुगेको समितिका अध्यक्ष पाहिमले बताए । आपतकालिन नियन्त्रणकालागि जलस्रोत मन्त्रालयले १ करोड ६ लाख रुपैंया खर्च अनुमान गरी अर्थमन्त्रालयसंग बजेट माग गरेको छ । त्यस अघि वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने भएकोले तत्काल इआएए गरिदिन पनि माग गरेका छन् ।

चुरे क्षेत्रबाट बगेर आएको गिटि, ग्रेगर, बालुवा आदिले केही वर्ष यता खोला उकास भएर करिव ३ मिटर अग्लो हुँदा दुवै किनारा तर्फ खेतियोग्य जमिन कटान तिब्र भएको छ । नदि नियन्त्रण नगर्ने हो भने धानखेती, बाह्रगोठे र तेलीखेती तीन वटा गाउँ कुनै पनि बर्षामा बगाउन सक्ने खतरा बढेको छ र तीन गाउँ विस्थापित हुने जोखिममा रहेको छ । ति गाउँ र खेतीयोग्य जमिन जोगाउन दिगो तटबन्द निर्माण गर्न र नदि उकास हुन नदिन नियमित निश्चित परिमाणमा ढुंगागिटी निकाल्न आवश्यक रहेको उनीहरुले बताएका छन् । केही दिन अघि स्थानीय विकास राज्य मन्त्रि श्रीप्रसाद जवेगुले तेली खोला र जोखिममा परेको गाउँको भ्रमण गरी नियन्त्रणको पहल अघि बढाउन आग्रह गरका थिए । त्यसलाई नियन्त्रण गर्न ढुंगागिटि निकाल्न जिल्ला वन कार्यालयले रोक लगाएका कारण समस्या भएको भन्दै उनीहरुले लेटाङ, केरावारी लगायतकै भौगोलिक अवस्थिती रहेकोले उत्खनन् गर्न दिन वातावरण बनाइदिन उनीहरुले माग गरेका हुन् ।

वन कार्यालयले ढुंगागिटि उत्खनन् गर्दा चुरे क्षेत्र जोखिममा पर्ने भन्दै त्यहाँबाट नदीजन्य वस्तु निकाल्न रोक लगाएको छ । जसले गर्दा आगामी वर्षायाममा झन बाढीको जोखिम बढ्ने भन्दै स्थानीयहरु चिन्तित भएको पूर्व जाँते गाविस अध्यक्ष तथा नेकपा एमालेका नेता उपेन्द्र घिमिरेले बताए । प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले स्थानीयसंग भेटघाट लगतै पत्र पठाएरै जिल्ला वन कार्यालय, जिल्ला विकास समिति, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई तटबन्द निर्माण गर्न र नदि कटान नियन्त्रणका अन्य उपायकालागि आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिएका छन्।

प्रजिअले एक साता भित्रै वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउन निर्देशन दिएका छन् । उनले निर्देशन पछि तत्काल वातवरणीय परिक्षणको काम अघि बढ्ने विश्वास बढेको स्थानीय राजनीतिक दलका नेता वीरबहादुर पाहिमले बताए । प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउन स्थानीयवासी तथा राजनीतिक दलका संयुक्त प्रतिनिधिमण्डलमा नेपाली काग्रेंसका जिल्ला नेता राजु मास्के, नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बु, दिपक भट्टराई, जाँते अध्यक्ष भूपेश लिम्बु, नेपाली काग्रेंसका प्रतिनिधि इन्द्र सुब्बा, नदि नियन्त्रण समितिका सचिव रामप्रसाद फुँयाल लगायत सहभागि थिए ।