चतरा/कुनैबेला बराहक्षेत्र चतराका बयरवन बजार चौक र गल्लीमा ‘फोहोर–मलाई’ लेखिएको सिमेन्टद्वारा निर्मित कन्टेनर हुन्थ्यो । त्यसैमा फोहोरको व्यवस्थापन गर्ने गरिन्थ्यो । कालान्तरमा त्यो फोहोर संकलन गर्ने कन्टेनर हराएर गयो । युवा समुहको सक्रीयतामा राखिएका त्यस्ता कन्टेनर जीर्ण भए ।
र, उपयोग योग्य भएनन् । अहिले न त्यस्ता कन्टेनर देख्न सकिन्छ न त व्यवस्थित डम्पिङसाइट नै । पुरानो व्यापारिक केन्द्र चतरामा विकास पछिको ह्रास हाबी हुनुमा बजारको विस्तारीकरण हुन नसक्नु रहेको उद्योग वाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष रमेशकुमार विष्ट बताउँछन् । पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, ओखलढुंगा लगायतका जिल्ला र आसपासका ग्रामीण क्षेत्रको मुख्य बजारका रुपमा कुनै समय कहलिएको चतरा विकासका अन्य विकल्पहरू खोलिएपछि विस्तारै सुक्दै गएको थियो । माओवादी सशस्त्र द्वन्द्वपछि र धनकुटा हिलेतर्फबाट भोजपुर, खोटाङका लागि सडकसञ्जाल फैलिएपछि ओझेलमा परेको छ ।
सप्तकोशी नदीमा पुल निर्माण भएर सुचारु भइरहँदा चतरा बजार एकपट पुनः व्यापारिक दृष्टिले माथि उस्कन सक्छ भन्ने अनुमान स्थानीयको छ । नयाँ परिस्थितिमा आवश्यक पूर्वाधार निर्माण गर्न र चतरालाई व्यापारिक केन्द्रका रुपमा पुनस्थापित गर्न यसको सुन्दरतालगायतका पूर्वाधार आवश्यक पर्ने बुद्धिजीवी प्रह्लाद भट्टराई बताउँछन् । विगत एक दशक अगाडि चौकचौकमा देखिने कन्टेनर अहिले नदेखिँदा यो समाज विकास तिर लम्कँदैछ या खस्किँदैछ अनुमान गर्न सकिन्छ ।
वराहक्षेत्रको चतरामा डम्पिङसाइट व्यवस्थित पूर्वाधार निर्माण र ठाउँ को निश्चिचता नभइँदिँदा दिन प्रतिदिन फोहोर मैलाबाट निस्कने प्रदूषणको सिकार बनिरहेका छन्, चतरावासी ।विकासले फड्को मार्दै जाँदा वृद्धि भएको जनसंख्याको चाप, नगरोन्मुख क्षेत्र साथै हिन्दूहरुको पवित्र भूमिका रुपमा मानिएको वराहक्षेत्र र प्रथम कुम्भ आयोजित भूमिमा महत्वपूर्ण पूर्वाधार व्यवस्थित डम्पिङसाइट नहुँदा दीर्घकालीन असर पर्ने स्थानीय युवा टेकबहादुर राई बताउँछन् । वराहक्षेत्र गाविसको वडा नं. १ र ४ को सिमाना रहेको महावीर र गौरी खोला अहिले फोहोर मैला थुपार्ने स्थल बनेको छ ।
स्थानीय निकाय र स्थानीय समाजसेवीले समेत यसको दीर्घकालीन असरका बारे सोच्न सकेका छैनन् । ‘खोलामा भएभरको फोहोर ल्याएर थुपार्छन स्थानीय महिला भन्छिन्, ‘अधिकांश वडा नं ४ वयरवन बजारकाले यही खोलामा फोहोर थुपार्ने गरेका छन् ।’ झण्डै एक किलोमिटरको दूरीमा रहेको जागृत चौकदेखिका स्थानीयको फोहोर फाल्ने ठाउँ बनेको छ, गौरी खोला । स्थानीय सैनिक टोलका केही युवाहरूले ‘फोहोर फाल्न मनाही छ’ लेखिएको बोर्ड पनि राखे तर केही दिनमा त्यो देखिएन । फोहोर फाल्ने काम भइरह्यो । यतिबेला अघोषित डम्पिङसाइट बनेको महाविर र गौरी खोलामा फोहोर मैलाको थाक देख्न सकिन्छ यसरी नै डम्पिङसाइट नबन्दा र दिनप्रतिदिन यही खोलामै सबैले फोहोर थुपार्दै जाने हो भने फालिएको फोहोरको थाक पुलमाथि सम्म नै आइपुग्ने स्थानीय मोहन राई बताउँछन् ।
राई भन्छन् ‘खोलामा फालिएको फोहोरले अहिले बजार नै दुर्ग्न्धित भएको छ । पहिलापहिला देउसीभैलोको संकलित रकमले कन्टेनर किनिन्थ्यो, अहिले युवाहरू तातिदैनन् ।’ चतरा–बयरवन बजार एकातिर डम्पिङसाइटको समस्याले दुर्ग्न्धित छ भने, दुईवर्ष अगाडि नै बनिसक्नु पर्ने कालोपत्रे सडक बन्न नसक्दा यातायातका साधनले उडाएको धुलोमैलोको असर समेत स्थानीयलाई परेको छ । आफैँले उब्जाएको फोहोर मैलाको प्रदूषणले समाज प्रदुषित त बनेकै छ व्यक्ति विशेषसमेत रोगको सिकार बन्दै गएका छन् । यसरी नै खोलामा फोहोर मैला फ्याँक्ने कार्य निरन्तर चलिरहे फोहोरबाट उब्जेको प्रदूषणले सरूवा रोग फैलने स्थानीय वान्तावा क्लिनिककी एचए सीता राई बताउँछिन् । स्थानीय पवित्रा खडका भने स्थानीय निकायले पहलकदमी नलिएको बताउँछिन् । उनले गाविसले फोहोर फाल्न नियन्त्रण गर्नुपर्ने र व्यवस्थित डम्पिङसाइट निर्माण गर्न पहल गर्नुपर्ने बताउँछिन् ।
खडका भन्छिन्, ‘डम्पिङसाइटको व्यवस्थापनमा सम्बन्धित निकायले ‘इनिसियसन’ लिनुपर्छ । अनि मात्र सहज व्यवस्थापन हुन्छ ।’फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले फोहोरलाई घरमा नै कम्तिमा कुहिने र नकुहिने छुट्याउनु पर्ने, सम्बन्धित निकायले तोकेको ठाउँमा र समयमा फाल्नुपर्ने व्यवस्था गरेको छ । ‘तर सचेतना आउन सकेको छैन ।’ स्थानीय यमुना लिम्बू भन्छिन् ।