धरान/ सानोदेखि ऐतिहासिक महत्वका मन्दिरहरुले धरानको विजयपुरलाई ढपक्कै ढाकेको छ । तर, भक्तालूहरुको मानसपटलमा धरानका तीनवटा मन्दिरहरु पिण्डेश्वरी, बुढासुब्बा र दन्तकाली नाँच्छन् । तीनवटा मन्दिरहरु जत्तिकै महत्वका करिव ५० को हाराहारीमा अन्य मन्दिरहरु छन् । जसको खोजिनीति सायदै हुन्छ । ‘विजयपुरलाई मन्दिरै मन्दिरले ढाँकेको छ । तर, धेरैलाई थाहा हुँदैन् यहाँ अन्य मन्दिरहरु पनि छन् भन्ने ।’
धरानका बारेमा सोध अनुसन्धान गरिरहने हरेराम कर्मचार्य भन्छन् । तर, अधिकांसको मानसपटलमा तीनवटा मन्दिरहरु नै घुमिरहेको हुन्छ । धरानदेखि करिव तीन किलोमिटर उत्तर पूर्वको विजयपुर धरानको श्रीपेच भन्दा फरक नपर्ने कर्मचार्यको ठहर छ । धरानका पिण्डेश्वरहरु जत्तिकै महत्वको पञ्चकन्या मन्दिर पनि छ । विजयपुर क्षेत्रमा झण्डै ५० को हाराहारीमा मन्दिरहरु छन् । राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका छन् । पुरातात्विक महत्वको मन्दिरहरु केही जिर्णोद्धार अवस्थामा छन् । पिण्डेश्वर मन्दिर परिषर मात्रै १६ वटा अन्य मन्दिरहरु रहेको विजयपुरका जानकार प्राध्यापक डा. राजेन्द्र शर्मा बताउँछन् । विजयपुर क्षेत्रमा गादी गणेश मन्दिर, पिण्डेश्वर मन्दिर परिषरमै रहेको बालाम्बा पिण्डेश्वर भगवतिको मन्दिर, त्यसका अलवा भीमसेन मन्दिर, विद्यवासिनीदेवीको मन्दिर, साहिली बाहिनी मन्दिर, गुप्तवासिनी देवी, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, श्रीराम मन्दिर, लक्ष्मीनाराण मन्दिर, बलभद्रेश्वर शिवालय, सिंहदेवी भगवती मन्दिर छन् ।
त्यस्तै चन्द्रेश्वर शिवालय, सिद्धिविनायक गणेश मन्दिर, सिद्धेश्वर महादेव, सिंहवाहिनी मन्दिर, शिव मन्दिरलगायतका मन्दिरहरु धरानको विजयपुर क्षेत्रमा मात्रै छन् । जुन मन्दिरहरु अस्तित्वमा भए पनि स्थानीय भक्तालूहरुसमेतले वास्ता गर्ने गरेका छैनन् । ‘सम्प्रदाय विशेष मन्दिरहरु भएकाले पनि चहलपहल केही कम हुने गरेको मात्रै हो ।’ प्राध्यापक डा. शर्मा भन्छन् । विजयपुरले धार्मिक पर्यटनमा पूर्वको प्रतिनिधित्व गर्ने गरेको छ भन्दा फरक नर्पने उनी बताउँछन् । धरानमा हालै निर्माण गरिएको मुगादेवी मन्दिर पनि अस्तित्वमा छ । विजयपुरको आफ्नै महत्व छ । यसको ऐतिहासितालाई हेर्ने हो भने धरान सहर निर्माण हुनु पूर्व नै यहाँ बसोबास भएको इतिहासले प्रमाणित गर्ने प्रा.डा. शर्मा बताउँछन् । उनका अनुसार विजयपुर झण्डै २ सय वर्षदेखि मानववस्ती बसेको हुन सक्ने सम्भावना छ । ‘किनकी १८३१ मा त पृथ्वी नारायण साहसँग लिम्बुवानका राजाहरुको सम्झौता भएको इतिहास छ ।’
उनी भन्छन् । त्यही कालदेखि नै आ आफ्ना आश्थाका केन्द्रको मूर्ती राख्ने र पूजा गर्ने प्रचलन विजयपुरमा बढेका कारणले पनि बढी मन्दिरहरु भएको अनुमान उनी लगाउँछन् । विशेष गरी हिन्दू धर्मालम्बीहरुले पञ्चयन देवाता जस्तै सूर्य, देवी, गणेश शीव र विष्णूलाई पूजा गर्ने चलन छ । त्यही अनुसार नै उनीहरुले आ आफ्नो तरिकाले मन्दिरहरु स्थापना गरेको देखिन्छ । धरानमा बालगोपाल मन्दिरको इतिहास झण्डै ९० वर्ष पुरानो छ । जसलाई बालगोपाल धामको रुपमासमेत परिचित रहेको थियो । त्यस्तै हनुमानको मन्दिर, नसिंङको मन्दिर, आइतबारदेवीको मन्दिर, हनमाुन थान, भिनसेन थानलगायत नामका मन्दिरहरु अहिले पनि अस्तित्वमा रहेका छन् । तर, प्रचार प्रसारको अभावमा कतिपय मन्दिरहरु भए पनि नभएको जस्तो भएको स्थानीय विजयपुरबासी पंकज मिघिरे बताउँछन् । मन्दिरहरुकै कारणले पनि धरानको गरिमालाई ओजिलो बनाउन सक्ने सम्भावना प्रसस्त देख्छन् उनी ।
‘विजयपुरलाई धरानको आर्थिकको मेरुदण्ड हुन्छ ।’ उनले भने, ‘तर, प्रचार प्रसारको कमी छ ।’ खाली धरानमा पिण्डेश्वर, दन्तकाली र बुढासुब्बामा मात्रै वर्षेनी मान्छेहरुको लर्को लाग्ने गरेको छ । हरेक वर्षको श्रावणमा पिण्डेश्वरमा जल चढाउनेहरु झण्डै तीनदेखि चारलाखको हाराहारीमा पुग्छन् । ‘हिन्दु पर्यटकहरुलाई मात्रै भित्रयाउन सक्ने हो भने धरानको विकास हुन्थ्यो ।’ उनी भन्छन् । यतिका धेरै मन्दिरहरु हुँदा पनि त्यसको प्रचारमा धरान उपमहानगपालिकाको ध्यान सून्य रहेको ठहर प्राध्यापक डा. टङ्क न्यौपानेको छ । ‘स्थानीय निकायले विज्ञापन गर्नुपर्छ । प्रचार प्रसार गर्नुपर्छ ।’ उनी भन्छन्, ‘त्यसमा नपा चुकेको छ ।’ धरान बजार भन्दा पुरानो अस्तित्व बोकेको विजयपुरलाई मन्दिरहरुलाई नै बेच्न सकियो भने पनि आर्थिक रुपमा सवल हुन सकिने तर्क त्यहाँका विद्वानहरुको छ ।