तरहरा/जाडो मौसम शुरु भएसँगै पर्यटकीय क्षेत्र तालतलैया आन्तरिक तथा बाह्य पर्यटकहरुले भरीभराउ हुने गरेको छ । नजिकै जङ्गल, पोखरी, बगिरहेको खोल्सो, रोपिएका ससाना बिरुवा, ढुङ्गाबाट सजाइएका मूर्तिहरुले पिकनिकको लागि धनकुटाको भेडेटार, तमोर, झापाको दोमुखा, इलामको कन्याम बिर्सने स्थान बन्दै गएको छ इटहरीको तालतलैया ।वनभोजको मौसम शुरु भएसँगै तालतलैयामा पर्यटकहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
अहिले वनभोज खान आउने समूहहरुले दैनिकजसो तालतलैया भरीभराउ हुने गरेको छ । शनिबार र बिहीबार तालतलैया क्षेत्रमा पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ । पूर्वका विभिन्न ठाउँका सर्वसाधारण वनभोज खान यहाँ आउने गरेका छन् ।साढे आठ हेक्टर क्षेत्रमा पैmलिएको तालतलैया सिमसार क्षेत्रअन्तर्गत पर्छ । इटहरी चौकदेखि ४ किलोमिटर उत्तरमा पर्ने तालतलैयामा पिकनिकको लागि पूर्वी नेपालको साथै भारतबाट समेत प्रशस्तै मानिस आउने गरेका छन् । सोमबार वनभोज खान साथीहरुसँगै तालतलैया पुगेका झुम्काका सहदेव खड्काले तालतलैया वनभोजको लागि उपयुक्त स्थान रहेको बताए । आप्mनै ठाउँको पर्यटकीय स्थलको विकास गर्नुपर्छ भन्दै यहाँ आएपनि यो स्थान अहिले पूर्वकै रमणीय भएको दाबी गरे । तालतलैयाको मुहार फेरिएको भन्दै दिनभरी रमाउने ठाउँ प्रशस्त रहेको अनुभव उनले सुनाए ।तालतलैया क्षेत्रमै वनभोज खान साथीहरुसँग आएका इनरुवाका जगदीश मेहेताले तालतलैया क्षेत्र वनभोजको लागि उपयुक्त रहेको बताए । हाई–वेबाट समेत त्यहाँ पुग्न नजिक हुनुको साथै रमाउन सक्ने ठाउँ भएको भन्दै तालतलैयाको प्रशंसा गरे । ‘जाडो मौसममा वनभोजको लागि साह्रै उपयुक्त ठाउँ रहेछ, म अरुलाई पनि यहाँ आउन सल्लाह दिन्छु’, उनले थपे ।
पछिल्लो समय वनभोज खानेहरु यहाँ उल्लेखनीय मात्रमा आउने गरेको तालतलैया संरक्षण समितिले जनाएको छ ।तालतलैया विकास तथा संरक्षण समितिका लेखा संयोजक सवालकृष्ण विष्टले शनिबार र बिहीबार दैनिक ४० हजारसम्म आन्तरिक पर्यटक आउने गरेको जनाए । भारतको फार्वेसगञ्ज, पूर्णिया, पटना लगायतका क्षेत्रबाट बाह्य पर्यटक समेत आउने गरेको उनको भनाइ छ । ‘कटेजमा ५ सय, भुइँमा ३ सय र वनभोज समूहभन्दा बाहिरकालाई २० रुपैयाँ लिने गरेका छौं’, विष्टले भने, ‘हामीले पर्यटकलाई आकर्षण गर्न तालतलैया क्षेत्र समेत सिङ्गार्दै आएका छौं ।’
तालतलैयासँगै सुनसरीकै तरहरा नजिक रहेको सूर्य टोललाई पनि वनभोज स्थल बनाइएको छ । स्थानीयवासी जागरुक बन्दै गएपछि बिस्तारै सिमसारले आफ्नो मुहार फेर्दै गएको हो । अहिले सिमसार क्षेत्रलाई संरक्षण तथा पर्यटक भिœयाउन विशेष योजना नै बनाइएको छ ।तालतलैयाको पूर्वतर्पm मोरङ जिल्लाको सुन्दरपुरदुलारी नगरपालिकामा पर्ने हसिना सिमसारले पनि पर्यटक भिœयाउन थालेको छ । निरन्तर बग्ने जरुवा, प्राकृतिक तलाउ, वाल्मीकि ढिस्का, रमिते भुल्का, चराचुरुङ्गीको भीडभाडले हसिनालाई गज्जबको घुमघामस्थल बनाएको छ ।स्थानीयहरु आफ्नो ठाउँको विकास हुने, आम्दानी तथा व्यापार बढ्ने हुँदा नयाँ–नयाँ योजना बनाएर सिमसार क्षेत्रको विकासमा लागिपरेका छन् ।
तर सरकारले त्यसअनुरुप आवश्यक नीति तथा पूर्वाधार बनाउन सकेको छैन । त्यसका साथै पर्यटकीय क्षेत्रको महत्वबारे स्थानीयमै चेतनाको कमी छ भने प्रचारप्रसार नहुँदा सोचेजस्तो उपलब्धी हासिल हुन सकेको छैन । पूर्वका सिमसारहरुलाई औद्योगिक करिडोरको रुपमा विकास गरेर भौतिक तथा नीतिगत सुधार गर्ने हो भने नेपालमा मात्र नभइ विश्वकै पर्यटकहरु आउने पक्का छ ।