15310554_10206746184366672_1084693051_n हाबेचौरी(मोरङ) / तीन वर्षअघि ‘होमस्टे’ सञ्चालन हुँदा मोरङको सिंहदेवी–५ हाबेचौरीका भीम ठकुरीमा जति चिन्ता थियो, वर्षेनी त्यो चिन्ता घट्दो छ । २०७० सालमा अनौपचारिक होमस्टे शुरु गर्दा ‘आगन्तुक’ को समस्या होला भन्ने ठानेका ठकुरीलाई यसपटक भेट्दा उनको अनुहारमा चिन्ताको रेखा देखिएन । भने, ‘अहिले सिजनमा ७–८ वटा समूह जेफालेडाँडा चढ्न आइपुग्ने गरेका छन् ।’ मङ्सिरदेखि जेठसम्म आन्तरिक पर्यटकहरुको आगमन हुने हाबेचौरीमा जेफालेडाँडा चढ्नकै लागि पर्यटकहरुआइपुग्ने गरेका छन् । यहाँबाट पूर्वका मनोरम दृश्यहरुसँगै भारतको बिहारसम्म देखिने गरेको छ । त्यस्तै हिमाली दृश्यहरु अवलोकन गर्न सकिने भएकाले वर्षेनी आगन्तुकहरुको आमगन बढ्दो छ । यससँगै सूर्योदयको दृश्यावलोकन यहाँको मूल विशेषता नै हो ।jefale homaste मोरङको केराबारी हुँदै जेफाले पुग्न सकिन्छ भने धनकुटाको भेडेटार, राजारानीको बाटो हुँदै पनि जेफाले पुग्न सकिन्छ । एक हजार ९ सय ८० मिटर उचाइमा रहेको जेफालेडाँडाबाट पूर्वका दृश्य र हिमाली दृश्य हेर्न आइपुग्ने आगन्तुकहरु हाबेचौरीमा स्थापित जेफाले सामुदायिक होमस्टेमा बास बस्ने गरेका छन् । हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न एक रात बास बस्नैपर्छ जहाँ स्थानीय परिवारले आगन्तुकहरुलाई स्वागत गर्छन् । विशेष प्याकेजको रुपमा ढिँडो, सिस्नो, स्थानीय जातका कुखुरा, ग्रिन टी पस्किँदै सांस्कृतिक नाच हुर्राले आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गरिने जेफाले सामुदायिक होमस्टेका सचिवसमेत रहेका ठकुरीले बताए । ठकुरीको घरसहित पाँचवटा घरमा होमस्टेको व्यवस्था गरिएको छ । २०७२ जेठ ४ गते यसको औपचारिक दर्ता गरिएको हो । दर्ताअनुसार ठकुरीको घरसँगै डिल्ली अधिकारी, युवराज खड्का, ललितबहादुर लिम्बू र गङ्गाप्रसाद लिम्बूको घरमा होमस्टेको व्यवस्था छ । एकपटकमा ४० जनाभन्दा बढीलाई बास बसाउन सक्ने व्यवस्था रहेको होमस्टेका कारण अहिले आर्थिक उपार्जनसमेत हुन थालेको ठकुरीले बताए । ‘होमस्टेका कारण धेरै प्रगति भएको छ । आर्थिक रुपमा लाभ भएको छ ।’ उनले भने । विशेष गरी जेफालेडाँडा चढ्नकै लागि पर्यटकहरु यहाँ आइपुग्ने गरेका छन् । चिसो मौसम र मनोरम दृश्य देखिने भएकाले पनि यहाँ झापा, मोरङ, सुनसरीलगायत जनकपुरसम्मका आगन्तुकहरु आउने गरेका छन् । ‘जेफाले’ लिम्बू भाषाको ‘जेफालो’ बाट रुपान्तरित शब्द हो । ‘जेफालो’ को अर्थ लिम्बू भाषामा ‘पासो थाप्ने ठाउँ’ हुन्छ । अत्यधिक वन्यजन्तु आउने कारणले जेफालो राखिने गरिएको जानकारहरु बताउँछन् । अहिले पनि हरिण, बँदेललगायतका जङ्गली जनावरहरु देखिने गरेको स्थानीय बताउँछन् । सूर्योदयसमेत देख्न सकिने भएकाले जेफालेमा आउने आगन्तुकहरु लोभिने गरेको होमस्टे सञ्चालन गरिरहेकी शर्मिला खड्काले बताइन् । सूर्योदय हेर्नकै लागि स्थानीय र जिल्ला विकास समितिको सहयोगमा जेफालेडाँडामा तीनतले पक्की टावर निर्माण गरिएको छ । २०७२ जेठ १२ गते यसको उद्घाटन गरिएको हो । होमस्टेको थालनी पनि जिविसकै सहयोगमा २०७० मा अनौपचारिक रुपमा भएको हो । यहाँ २३ घर भए पनि पाँच घरमा मात्रै होमस्टेको व्यवस्था गरिएको छ । समूहमा आउने भएकाले पनि होमस्टे हरेक वर्ष फस्टाइरहेदो खड्का बताउँछिन् । ‘शुरुआतमा प्रचारप्रसार कम थियो । अहिले चहलपहल बढेको छ ।’ उनले भनिन् । एउटा समूहमा ४ देखि १२ जनासम्म आउने गरेका छन् ।