विजयपुर/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पेट्रोलियम पदार्थमै वार्षिक करोडौँ रुपैयाँ घोटाला हुने गरेको तथ्य खुलेको छ । प्रतिष्ठानमा जेनेरेटर सञ्चालनका लागि मात्र गत आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च भएको पाइएको छ । प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले गत आर्थिक वर्षमा मात्र २ करोड रुपैया खर्च भएको जनाए ।

bp

नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको ‘डेडिकेटेड’ (आपूर्ति अवरुद्ध नहुने) फिडरमा नियमित विद्युत् नआउने भएकाले प्रतिष्ठानले जेनेरेटर चलाएर विद्युत् आपूर्ति गर्नुपर्ने बाध्यता रहेको उनले बताए । तर प्राधिकरणले भने प्रतिष्ठानले भनेजस्तो लोडसेडिङ नगरिएको बताएको छ । प्राधिकरणको धरान शाखाले उपलब्ध गराएको अभिलेखअनुसार प्रतिष्ठानलाई दिइएको डेडिकेटेड लाइन (बीपी फिडर) मा आर्थिक वर्ष २०७२÷७३ मा २८ घण्टा ५ मिनेट मात्र लोडसेडिङ भएको छ तर प्रतिष्ठान स्रोतले उपलब्ध गराएको आँकडाअनुसार त्यसै वर्ष २०८४ घण्टा दुई मिनेट जेनेरेटर चलेको छ ।

यो आँकडाअनुसार प्राधिकरणले प्रतिष्ठानमा लोडसेडिङ गरेभन्दा झण्डै २०५५ घण्टा बढी जेनेरेटर चलाएको देखिन्छ । प्रतिष्ठानमा विद्युत् आपूर्ति हुँदाहुँदै जेनेरेटर किन चलाउनु प¥यो ? प्रतिष्ठानकै एक कर्मचारीका अनुसार प्रतिष्ठानले धरानको बरगाछीस्थित अरुण पेट्रोल पम्पबाट मिलोमतोमा तेल ल्याएर आर्थिक घोटाला गर्ने गरिएको छ । स्रोतका अनुसार अरुण पेट्रोल पम्पले बिलिङ भएको भन्दा कम डिजल प्रतिष्ठानका ट्याङ्कीमा खन्याएर जाने गरेको छ । प्रतिष्ठानको जेनेरेटर तथा डिजलबारे जानकारी राख्ने एक कर्मचारीले भने, ‘स्पष्ट भन्नु पर्दा आधा ट्याङ्कर डिजल ल्याएर फुल ट्याङकरको बिलिङ हुने गरेको हामीले देखेका छौँ ।’ अरुण पेट्रोल पम्पका प्रोप्राइटर गोपाल श्रेष्ठले भने यसलाई अस्वीकार गरेका छन् । ‘डिजल लैजाँदा प्रतिष्ठानका कर्मचारी र मेरा कर्मचारी हुन्छन्’, उनले भने, ‘चेकजाँच र भौचरमा हस्ताक्षर गरेर डिजल खन्याइने गरेको छ, हामीले कहीँ तलमाथि गरेका छैनौँ ।’

गत आर्थिक वर्षमा कति रकमको तेल प्रतिष्ठानमा गयो भन्ने आपूmलाई यकिन नभएको उनले बताए । ‘मेरो सबै फाइल अडिटिङका लागि विराटनगर पठाइएको छ, यकिन डाटा निकाल्न एक–दुई दिन लाग्छ ।’ उनले थपे ।प्रतिष्ठानमा विद्युत् हुँदाहँुदै २०५५ घण्टा जेनेरेटर कसरी चल्यो भन्ने सर्वत्र चासोको विषय बनेको छ । यो विषयले प्रतिष्ठानमा डिजलमा ठूलै चलखेल हुने गरेको रहस्य खुल्ने एक जानकार बताउँछन् । अझ रहस्यपूर्ण त के देखिन्छ भने प्राधिकरणले प्रतिष्ठानमा गत आर्थिक वर्षको असोज, कात्तिक, मङ्सिर, पुस र फागुन महिनामा एक सेकेन्ड पनि लोडसेडिङ नगरेको आँकडा उपलब्ध गराएको छ तर प्रतिष्ठान स्रोतले दिएको जानकारीअनुसार लोडसेडिङ नै नभएको समयमा ४ सय ९८ घण्टा ३० मिनेट जेनेरेटर चलाएको देखिन्छ ।

यसले झण्डै १७ दिन जेनेरेटर चलेको देखाउँछ । प्राधिकरणले असोज, कात्तिक, मङसिर, पुस र फागुन महिनामा एक सेकेन्ड पनि लोडसेडिङ गरेको देखिँदैन भने प्रतिष्ठानमा असोज महिनामा १ सय ८४ घण्टा २ मिनेट जेनेरेटर चलाएको देखिन्छ । कात्तिक महिनामा ७४ घण्टा ७ मिनेट जेनेरेटर चलाएको देखिन्छ । मङ्सिरमा ७० घण्टा ८ मिनेट, पुसमा सय घण्टा २ मिनेट जेनेरेटर चलेको छ भने फागुनमा ६८ घण्टा ४ मिनेट चलेको देखिन्छ ।

यस विषयमा बुभ्mन प्रयास गर्दा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँग सम्पर्क हुन सकेन । तर प्रतिष्ठानका डेपुटी रजिष्ट्रार श्रीवास्तवले भने प्राधिकरणले पूरा समय कहिल्यै पनि बिजुली नदिएको बताए । ‘उसले नाम मात्रको डेडिकेटेड लाइन दिएको छ’, श्रीवास्तवले भने, ‘प्राधिकरणले दिनुपर्ने लाइन नदिएकै कारण प्रतिष्ठानले जेनेरेटरमा खर्च गर्नुपर्ने बाध्यता आएको हो ।’ प्राधिकरणका एक अधिकृतका अनुसार प्राधिकरणले दिएको बिजुलीको भोल्टेज कम भएको बेला पनि जेनेरेटर चलाउनुपर्ने हुन्छ भने एकपटक चलाएको जेनेरेटर कम्तीमा आधा घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ ।