
विराटनगर/ बजारको आवश्यकता अनुसार प्राविधिक शिक्षा प्रदान नगर्दा दक्ष तथा अर्धदक्ष जनशक्ति अभाव भएको स्थानीय उद्यमीहरुले बताएका छन् । साना तथा घरेलु उद्योगहरुका लागि चाहिने प्राविधिक जनशक्तिको पहिचान गर्ने तथा उनीहरुलाई दक्ष बनाउने काममा सिटिईभिटीले ध्यान दिन आवश्यक रहेकोमा विराटनगरमा बिहीबार आयोजित एक सम्वाद कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन् ।
सिटिईभिटीबाट धेरै प्रकारका प्राविधिक तालिम सञ्चालन भइरहे पनि ती जनशक्तिको तथ्याङ्क नभएको र उनीहरु हाल कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुराको जानकारी पनि नभएकोले तालिमबाट हुने उपलब्धीको प्रभावकारीता नदेखिएको सहभागीहरुले बताए ।नेपाली सोलार ड्रायरका डिजाइनर तथा त्यसका उत्पादक नरेन्द्र होमागार्इंले तालिम केवल वैदेशिक रोजगारी प्रवद्र्धन गर्नका लागि मात्र दिन नहुने बताए । उनले तालिमपछि स्वरोजगार बन्ने, उद्यमी बन्ने वा कुशल जनशक्ति बन्नेतर्पm प्रेरित गर्नुपर्नेमा वार्षिक कार्ययोजना बनाएर तालिम दिने र त्यसपछि खोजी नगर्ने परिपाटी अन्त्य गर्नु पर्नेमा जोड दिए ।
सिटिईभिटीका पदाधिकारीहरुको समेत सहभागिता रहेको सम्वाद कार्यक्रममा विभिन्न क्षेत्रमा आवश्यक जनशक्तिहरुको बारेमा चर्चा भएको थियो । प्राविधिक शिक्षा तथा तालिम दिँदा अहिले पनि विदेशी जनशक्तिमा निर्भर हुनु परिरहेका क्षेत्रहरुको पहिचान गर्न आवश्यक भएको विषय उठेको छ । त्यस विषयमा सिटिइभिटी सकारात्मक रहेको सिटिईभिटीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख दीपक नेपाली क्षेत्रीले बताए ।प्राविधिक तालिमको नाममा सरकारका १७ वटा मन्त्रालयले आ–आप्mनै तरिकाले तालिम चलाउने गरेका कारण ठूलो रकम खर्च भएपनि त्यसको उपलब्धी तथा एकमुष्ट तथ्याङ्क अभाव हुने गरेको गुनासो सहभागीहरुले गरेका छन् । सबै व्यावसायिक शिक्षा तथा तालिमहरुलाई एउटै बास्केटमा राखेर सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा सिटिईभिटीका पूर्व निर्देशक शिवशङ्कर घिमिरेले प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र अत्यन्त ठूलो रहेकोले पालैपालो कामलाई अघि बढाउनु पर्ने बाध्यता रहेको बताए । उनले कतिपय पहिचान भएको क्षेत्रमा अघि बढेपनि पहिचान गर्नुपर्ने अनेकौं क्षेत्र बाँकी नै हुने र त्यहाँ रोजगारी सृजना गर्न सकिने सम्भावना पनि कायम रहने भएकोले निरन्तर सम्वादको आवश्यकता रहेको बताए । त्यसका लागि नलेज म्यानेजमेन्ट तथा नलेज नेटवर्किङको क्षेत्रमा काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।