विराटनगर/ भारत सरकारले ५ सय र एक हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालसँग सिमाना जोडिएका बजारहरुमा नेपाली मुद्राको अवमूल्यन भएको छ । यसले गर्दा उपभोक्ताहरुले सामान खरिदमा महङ्गो मूल्य तिर्नु परिरहेको छ ।भारतमा सस्तो पाइन्छ भन्ने मनोविज्ञानले सीमावर्ती क्षेत्रका बासिन्दाहरु भारतीय बजारबाट सामान खरिद गर्न रुचाउँछन् ।
तर पछिल्लो दुई सातायता भारतीय सीमावर्ती बजारहरुमा नेपाली मुद्रामा कारोबार गर्दा करीब १३ प्रतिशत कम दरमा हुने गरेको छ । उनीहरुले सय रुपैयाँको एक सय ६० रुपैयाँ हिसाब गर्नुपर्नेमा एक सय ४० रुपैयाँका दरले हिसाब मिलाउने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा उद्योगी महेश जाजूका अनुसार भारतीय सीमावर्ती खुद्रा बजारमा वस्तुको अधिक मूल्यवृद्धि भएको छ । दाल, गेडागुडी तथा पिठोको मूल्य पनि अधिक वृद्धि भएको छ । ६३ रुपैयाँ प्रतिकेजी पर्ने चिनीको अहिले ७२ रुपैयाँ लिन थालिएको छ भने हरेक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा २० देखि २५ प्रतिशत मूल्यवृद्धि भएको छ । तर भारतको थोक बजारमा भने खुद्रा बजारमा जस्तो उच्च मूल्यवृद्धि भइसकेको छैन ।
भारतीय बजारमा देखिएको मूल्यवृद्धिको असर सीमावर्ती नेपाली बजारमा पनि परेको छ । एक सय ६० रुपैयाँ प्रतिकिलोमा पाइने चनाको मूल्य अहिले बढेर २ सय २० रुपैयाँ पुगेको छ । खाद्यान्नमा नेपाल भारतमाथि नै निर्भर रहेको कारण पनि ढिलोछिटो मूल्यवृद्धिको असर देखा पर्ने उद्योगी जाजू बताउँछन् । उनले भने, ‘भारतीय बजारमा मूल्यवृद्धि भएर नेपालमा स्थिर राख्न सकिए नेपाली अर्थतन्त्र र व्यवसायीहरुलाई फाइदा नै हुने छ तर त्यो स्थिर राख्न कति प्रयत्न भइरहेको छ भन्ने मुख्य कुरा हो । अन्यथा यहाँ पनि मूल्यवृद्धिको असर छिट्टै देखा पर्छ ।’नेपाल राष्ट्र बैङ्कको विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुख रामु पौडेलले पूर्वाञ्चलमा भारतीय नोटको ठूलो सङ्कट नदेखिएको बताए । उनका अनुसार माग गरे जति नपाए पनि उपभोक्ताहरुको काम चल्नेसम्म रकम उपलब्ध गराउन सकिएको छ । भारतीय हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लागेका कारण मूल्यवृद्धि भएको सम्बन्धमा राष्ट्र बैङ्कले अध्ययन गरी विश्लेषण गर्ने उनले जनाए । उनले भारतीय बजारमा मूल्यवृद्धि भए त्यसको असर नेपाली बजारमा पर्नु स्वाभाविक भएको भन्दै भारतमै पनि मूल्यवृद्धि नियन्त्रणको प्रयत्न हुने र त्यसको सकारात्मक असर नेपालमा पनि पर्ने जनाए । नोट प्रकरणका कारण मूल्यवृद्धिको अवस्था ‘ल्याक इफेक्ट’ देखिन सक्ने भन्दै पौडेलले राष्ट्र बैङ्कले त्यसको अध्ययन गर्ने बताए ।
उनले यति बेला नेपालमा मूल्यवृद्धि दर ६ दशमलव ७ प्रतिशत रहेकोमा ल्याक इफेक्ट देखिएमा यो बढ्न सक्ने औँल्याए । नेपाल र भारतको मूल्यवृद्धि दर अहिलेको अवस्थामा करीब ३ प्रतिशत मात्र फरक रहेकोले यो अवस्था बढ्न सक्ने वा दुवैतर्पm मूल्यवृद्धि भई फरक पनि समान हुनसक्ने अवस्था रहेको उनको भनाइ छ । यद्यपि भारतीय बजारमा मूल्यवृद्धि भएर नेपाली बजारमा तत्काल असर नपरे नेपाली उपभोक्ताहरुका लागि नेपाली बजार नै छनोट गर्ने यो राम्रो अवसर भएको उनको सुझाव छ । भारतीय हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लागेपछि यस क्षेत्रका उद्योगहरुले आयात गर्ने कच्चा पदार्थ ढुवानीको भाडा तिर्न समस्या परेको छ ।
नेपाल राष्ट्र बैङ्कको विराटनगर कार्यालयले दैनिक दुई सयदेखि तीन सयजनालाई न्यूनतम आवश्यकताअनुसार भारु उपलब्ध गराइरहेको छ । तर यहाँ रहेका हजारौँ कलकारखानामा दैनिक सयौँ ट्रकहरुलार्ई भाडा भुक्तानी गर्न भारतीय नोट अभाव रहेको उद्योगीहरुले जनाए । उपचारका लागि नेपाल आउने आँखाका बिरामीहरुको सङ्ख्या पछिल्लो समय नोट प्रतिबन्धकै कारण ह्वात्तै घटेको छ । त्यसले पनि भारु नोट आपूर्तिमा कमी ल्याएको छ । राटनगरमा सञ्चालित चारवटा आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी भारतीय बिरामीहरु आउने गरेकामा अहिले यो सङ्ख्या अत्यन्त न्यून भएको छ ।