solarइटहरी/इटहरीका मुख्य सडकमा हुने विद्युत् खपत कम गर्न सौर्यबत्ती जडान गरिने योजना साँघुरिएको छ ।‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत इटहरी उपमहानगरपालिका, उपभोक्ता र नेपाल सरकारको संयुक्त लगानीमा मुख्य सडक र चौकमा सोलार बत्ती जडान गर्न प्रस्ताव गरिएको थियो ।

नेपाल सरकारको ६५ प्रतिशत र अन्य स्थानीय सहभागितामा सडकबत्ती जडान गर्ने कार्यका लागि बजेट कम भएपछि इटहरीमा ५० वटा जति मात्रै बत्ती जडान हुने उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले बताए । उनका अनुसार यो बजेटबाट आँपगाछी, हलगडा, पचरुकी लगायतका चोकमा केही बत्ती र पूर्व–पश्चिम मुख्य लोकमार्ग बजार क्षेत्रमा जडान गरिने भएको छ ।४ करोड रुपैयाँको प्रस्ताव पेश गरिएको भए पनि ३६ लाख ८० हजार रुपैयाँ मात्रै स्वीकृत भएको उपमहानगरपालिकाका इन्जिनियर कैलाश तिम्सिनाले बताए । प्राप्त रकममा उपभोक्ताबाट २५ प्रतिशत र उपमहानगरपालिकाबाट १० प्रतिशत रकम थप गरी सौर्यबत्ती जडान गरिने इन्जिनियर तिम्सिनाले बताए । सडक बत्ती जडानका लागि उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट र व्यवसायी विश्वराज धिमालको अध्यक्षतामा दुई समिति गठन गरिएको पनि उनले जनाए ।

समितिका संयोजक शैलेश विष्टका अनुसार उद्योग वाणिज्य सङ्घको समेत सहभागितामा २५ प्रतिशत रकम थप गरी यही मङ्सिरभित्र योजना सम्पन्न गरिने भएको छ । यसका लागि बुधबार उपमहानगरपालिकाको कार्यालयअगाडि बत्ती बालेर परीक्षण गरिएको छ । पूर्व–पश्चिम लोकमार्गमा ३१ वटा बत्ती बाल्ने तयारी छ । कार्यविधिअनुसार मङ्सिरभित्र काम सकिने पनि उनले बताए ।जिल्लाको दरअनुसार एउटा सडक बत्तीका लागि एक लाख २० हजार रुपैयाँ खर्च हुन्छ । पछिल्लोपटक मङ्सिर ३ गते ३६ लाख ८० हजारको अख्तियारी प्राप्त भएको पनि तिम्सिनाले बताए । इटहरी बजार र वरपरका चोकमा चार सयवटा सौर्य बत्तीको प्रस्ताव मन्त्रालयमा पठाइएको थियो । इटहरीका भोजपुरे टोल, बसपार्क, आदर्श टोल, आइतबारे, मिलन चोकदेखि ट्राफिक कार्यालयसम्म, नेपाली सेनाको क्याम्पदेखि साथी प्mयुलसम्म, खनार बजार, हासँपोसा र पकलीमा सौर्यबत्ती जडान गर्ने नगरपालिकाको योजना तुहिएको छ । आदर्श टोलमा जडान हुने सौर्यबत्तीका लागि स्थानीय सहभागिताको लागत विश्व आदर्श कलेजले व्यहोर्ने घोषणा गरिसकेको भए पनि सो क्षेत्रमा पनि यो बजेटबाट काम हुने सम्भावना कम छ । नेपाल सरकारले सडक सौर्यबत्ती जडानलाई गत वर्षदेखि प्राथमिकता दिएपछि देशभरका शहरहरुमा सौर्यबत्ती जडानको कार्यक्रम अघि बढाइएको हो । सरकारले अघि सारेको ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत देशभरका शहरमा योजना सञ्चालन हुने हो भने विद्युत् बचत पनि हुनेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तयार पारेको मापदण्डअनुसार बत्ती जडान गर्नुपर्ने छ ।

पहिलो चरणमा देशभरका नगर क्षेत्रमा यो योजना लागू गर्ने गरी स्थानीय विकास मन्त्रालयले कार्यक्रम अघि सारेको हो । शहरलाई उज्यालो, सुरक्षित, सुन्दर बनाउने र लोडसेडिङको समस्या घटाउने गरी बिजुली बचत गर्ने योजनाले आएको यो प्रस्तावमा आकर्षण बढ्दो छ । मन्त्रालयले सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष ग्यारेन्टी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।