पाल्पा/कालीगण्डकी नदी क्षेत्रमा पाइने बहुमूल्य शालिग्राम ढुङ्गा अहिले हराउन थालेका छन् ।
शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले मानिसले यसकोे खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ । मुस्ताङको कागबेनीदेखि देवघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ । शालिग्रामलाई हिन्दू धर्मावलीले विष्णुका प्रतीक रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्छन् । शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न थालेको रामपुर नगरापालिका केलादीघाटका सूर्यप्रसाद पोखरेल बताउछन् । शालिग्राममा सुनका साना कण हुने विश्वास स्थानीयवासीको छ । नदी किनारामा प्रशस्त मात्रामा पाइने शालिग्राम अहिले पहिला जस्तै गरी पाउन छाडेको पोखरेलको भनाइ छ । शालिग्राम प्रतिएकको रु २०० देखि ५०० मा कारोबार हुँदै आएको छ । पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासी जिल्लाको सङ्गमस्थल केदालीघाटमा स्नान गर्न आउनेले पहिले पहिले प्रशस्त शालिग्राम भेटाएर लैजाने गरेको देखिए पनि अहिले जति खोजे पनि भेटाउन गाह्रो छ । “ढुङ्गामा चक्र हुनु नै पर्छ, चक्र नभएको शालिग्राम वास्तवमा सक्कली शालिग्राम होइन”, स्थानीय बासिन्दा उमानाथ आर्यालले भने । पहिला जस्तो गरी कालीनदी किनारामा शालिग्राम भेटाउन नसकिने उनको भनाइ छ । शालिग्राम कालो, चिल्लो र चक्रसहित तर रेसारहित हुने गर्छ । कालीगण्डकीमा शालिग्राम मात्र होइन, सुन खोज्न भारतीयहरु अवैध रुपमा आउँछन् । पाल्पाका केलादी, राम्दी र रुरु क्षेत्रमा उनीहरुले सरकारको अनुमति नलिई बालुवा चालेर सुनका साना कण लैजाने स्थानीयवासीको गुनासो छ । रासस