तेह्रथुम / यस वर्षको दशैं र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले ९५ लाख रुपैयाँभन्दा बढीको ढाकाका सामग्री बिक्री गरेका छन् । घर फर्किंदा र आफन्त भेटघाट गर्दा मायाको चिनोस्वरुप ढाकाकै सामग्री दिने चलन बढेपछि ढाका कपडाको कारोबार उच्च भएको हो । तेह्रथुममा सञ्चालन भइरहेको साना–ठूला गरी करीब तीन दर्जन ढाका कपडा उद्योगले दशैं–तिहारको अवसरमा १ लाखदेखि १० लाख रुपैयाँसम्मको कारोबार गरेका छन् । मायाको चिनो र प्रयोगको निम्ति उपयुक्त ढाका कपडाको मागसँगै बिक्री बढेकाले यो वर्ष ८ लाखभन्दा बढीको बिक्री गरेको उज्ज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्ज्वलता सुब्बाले बताइन् । दशैं–तिहारको अवसरमा पराजुली ढाका कपडा उद्योगका प्रोप्राइटर ढङ्ग पराजुलीले ५ लाखभन्दा बढीको कारोबार गरेको बताए । धरान, काठमाडांै र हङकङबाट माग भएर आएको कारण कारोबार उच्च भएको सुब्बाले बताइन् । यसैगरी कुरुम्वाङ ढाका कपडा उद्योगका सञ्चालक हेमकर्ण लिम्बूले ४ लाखभन्दा बढीको कारोबार गरेका छन् । दशैं–तिहारमा ढाकाको टोपी र पछ्यौराको बिक्री धेरै भएको छ । एउटा टोपी ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । यसैगरी एउटा पछ्यौरा १ हजारदेखि ५ हजारसम्ममा बिक्री भएको छ । जिल्लाका ढाका उद्योगले टोपी पछ्यौरा, सर्ट, टाई, रुमाल, चौबन्दी, टोपी, ब्लाउज, साडी, तन्ना, पर्दा, फेटा, थैली, झोला, पर्स, गलबन्दी, सलवार, चोलो लगायतका आकर्षक सामग्री उत्पादन गरेका छन् । तेह्रथुम सदरमुकाम म्याङलुङ आउने सबैको पहिलो नजर तेह्रथुमे ढाकामै जान्छ । उनीहरुले एक÷दुईवटा ढाकाका कपडा किनिहाल्छन् । हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हिजो–आज तेह्रथुम जिल्लाकै पहिचान बनेको छ । तेह्रथुमे ढाकाको विशेष पहिचान हो कलात्मकता । तेह्रथुमे ढाकामा धागो र रङ्गको संयोजन कलात्मक र उत्कृष्ट छ । यही पहिचानका आधारमा ढाका कपडाका पारखीहरुले टाढैबाट चिनिहाल्छन् तेह्रथुमे ढाकालाई । यही कारण तेह्रथुमे ढाका कपडा देश–विदेशमा लोकप्रिय बन्दै गएको छ । देशका विभिन्न स्थानमा ढाका कपडा बुनिएपनि ढाका कपडाको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ तेह्रथुमे ढाकाले । बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएकाले ब्यापारीहरुले अन्य स्थानमा बुनिएका ढाका कपडालाई पनि तेह्रथुमे भनेर झुक्याउने गरेका छन् । यसबाट उपभोक्ताहरु ठगिएको महसूस गर्दै उद्यमीहरुले जिल्लामा उत्पादित ढाका कपडामा ट्रेड मार्क (लोगो) बनाएका छन् । धागो र रङ्ग संयोजनको कलात्मकताकै कारण तेह्रथुमे ढाका कपडाको ब्यापार समेत फस्टाउँदै गएको छ । पूर्

वाञ्चलमा मात्र लोकप्रिय तेह्रथुमे ढाका हिजोआज देशका ठूला बजारहरुमा मात्र हैन विदेशमा समेत निर्यात हुन थालेको पराजुली ढाका कपडा उद्योगका सञ्चालक ढङ्ग पराजुली बताउँछन् । तेह्रथुमे ढाका कपडा देशका ठूल–ठूला बजार र विदेश समेत निर्यात हुन थालेको उद्यमीहरु बताउँछन् । हिजो–आज काठमाडौं, पोखरा, बुटबल, धरान, विराटनगर लगायतका देशकै ठूलठूला बजारहरुमा तेह्रथुमे ढाकाको माग बढ्दै गएको छ । यसैगरी हङकङ, युके, सिङ्गापुर, ब्रुनाई, भारत लगायतका देशमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेषगरी पूर्व क्षेत्रका नेपालीको बसोवास रहेको देशहरुमा तेह्रथुमे ढाका कपडाको निर्यात हुने गरेको छ । ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको छ । यसबाट हजारौं महिलाले रोजगारी समेत पाएका छन् । ढाका उद्यमबाट महिलाहरुको आय आर्जनमा सुधार आएको र महिला हिंसा समेत कम हुने गरेको उज्ज्वलता ढाका कपडा उद्योगका सञ्चालिका लिम्बूको भनाइ छ । यसबाट विपन्न र असहाय महिलाहरु आत्मनिर्भर बनेका छन् । म्यालुङस्थित आफ्नो उद्योगले मात्र १ सय ५० जना महिलालाई रोजगारी दिएको लिम्बूले बताइन् । घरेलु उद्योगहरुमा काम गर्ने महिलाहरुले मासिक ७ देखि १५ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । यसका अलावा स्थानीयले घर–घरमा समेत घरेलु कपडा बुन्ने गरेका छन् । बजारमा तेह्रथुमे ढाका कपडाको माग यति धेरै बढेपनि माग पूरा गर्न नसकिएको उद्योगीहरु बताउँछन् । बजारमा तेह्रथुमे ढाकाको टोपी, साडी, कुर्ता सलवार, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरा सुरुवाल कोट लगायतका सामग्री लोकप्रिय रहेको छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा एक दर्जन ठूला र साना गरी ८ सय ९२ वटा घरेलु उद्योग दर्ता भई सञ्चालनमा छन् । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ५ हजार महिलाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमले जनाएको छ । हातैले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय छ । यसको बजार प्रवद्र्धन गर्नसके जिल्लालाई नै आर्थिकरुपमा समृद्ध बनाउने छ । मेसिन प्रयोग नगरी हातैले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अरु ठाउँको तुलनामा केही बढी रहेको छ । टिकाउ र गुणस्तरीयताको हिसाबले सर्वोत्कृष्ट मानिन्छ । राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरुले एक दशकदेखि नै ह्याण्डी क्याप शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हालिस गरिरहेका छन् । अन्य ठाउँमा मेसिन प्रयोग गरी ढाका बुन्ने क्रम बढेको र तिनीहरुलाई पनि तेह्रथुमे ढाका भनी गा्रहकहरुलाई ठग्ने प्रवृत्ति बढेको छ । लिम्बू जातिको बसोवास रहेको तेह्रथुममा ढाका कपडा बुन्न थालिएको इतिहास भने मानव सभ्यतासँगै जोडिएको पाइन्छ । शरीरलाई न्यानो राख्न लिम्बुनीहरुले कपासको धागोबाट कपडा बुन्न थालेसँगै त्यसैको विकसित रुप ढाका कपडा भएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेको भनाइ छ । ‘पहिले–पहिले प्रायः लिम्बुनीहरुले घरघरमा ढाका बुन्थे’, उनले भने, ‘अहिले व्यावसायिक रुपमा सबैले ढाका बुन्न र उद्योग खोल्न थालेका छन् ।’