मोरङ / भारतले गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ ।
सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय÷हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर(सटही) सञ्चालक प्रत्यक्ष मारमा परेका छन् ।
भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर,अवैध कारोबार गर्नेहरु, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्नेबीच यतिखेर खैलाबैला मच्चिएको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी मोरङ र झापामा भारतीय नोटको कारोबार हुने गर्छ । झापामा ३६ वटा र मोरङमा २४ वटा मनिचेन्जर सञ्चालनमा छन् । यस बाहेक, कतिपय व्यापारीले भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।
सीमावर्ती क्षेत्रमा नेपाली बासिन्दालाई भारततर्फ आवतजावत गर्नका लागि जोहो गरेर राखेका भारु पाँचसय र हजारका नोटको चलनचल्तीमा रोक लागेपछि उनीहरु बिच्चलीमा परेका छन् ।
भारु पाँचसय÷हजारका नोट आधा मूल्यमा सटही गर्न कतिपय नेपाली बाध्य भएका छन् । मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले यस निर्णयबाट नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउछन । “भारु पाँचसय÷हजारको नोटको कारणले तस्करी बढ्ने गरेको थियो, अब भन्सारको माध्यमबाट नै अधिकांश भारतीय सामान भित्रिने सम्भावना बढेकाले स्वभाविक रुपमा राजस्व सङ्कलनमा वृद्धि हुनेछ,” उनले भने
झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्मा जिल्लामा दैनिक एक करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको बताउछन् । अधिकांश व्यापारी वा मनिचेन्जरसँग ठूलो परिमाणमा त्यस्ता नोट मौज्दात रहेका उनको भनाइ छ ।