धरान/धरान–२३ पानबारीका नैन निरौलाले सातवर्ष मलेसिया बस्दा नगरेको प्रगति अहिले गाउँमा कुखुरा पालनबाटै गर्न सफल भएका छन् ।
[caption id="attachment_18216" align="alignnone" width="700"]

कुखुरा स्याहार्दै निरौला पत्नी निर्मला निरौला । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
मलेसियाबाट फर्किएलगत्तै पार्टनरसीपमा थालेको बोइलर कुखुरा पालनले यतिखेर उनी प्रगतिपथमा लम्किदै छन् । ३१ हजार रुपैया लगानी गरेर थालेको पार्टनरसीप व्यवसायले अहिले उनी कुखुराको दाना, चल्ला, औषधिलगायतको डिलर नै राखेर लोभलाग्दो प्रगति गरेका छन् । मलेसियाबाट जहिले फर्किए, त्यसपछि उनी कुखुरामै दत्तचित्त भए । साढे सातसय कुखुरा पालनबाट थालेको उनको व्यवसाय यतिखेर फैलिदो अवस्थामा छ ।
कुखुरा पालन गरेर उनी साइकलमा धरानसम्म बिक्रीका लागि ल्याउँथे । त्यो नित्यकर्म १६ महिनासम्म जारी रह्यो । साइकलमा दुईतिर बाधेर कुखुरा बिक्री गर्न धरान ल्याउनु आफैमा कष्टकर थियो । व्यापारीहरु चिनजान थिएन् । फ्रेस हाउस, फ्रेस हाउस डुल्नु उनको दैनिकी हुन्थ्यो । सात महिनासम्म पार्टनरसीपमा काम गरे । तर, पार्टनरसीप त्यो भन्दा अघि बढेन । त्यसपछि एक्लै उनले कुखुरापालनलाई नै ध्यान दिइरहे ।
‘अरु विकल्प पनि थिएन् ।’ उनी भन्छन् । मासिक सातसय भाडामा जग्गा लिएर थालेका उनले एकहजार कुखुराहरुसम्म पाले । त्यो बेलामा कुखुराको भाउसमेत पाए । भन्छन् ‘त्यो बेलामा कोशी फुटेको कारणले पश्चिम तिरका कुखुराहरु पूर्वी बजारमा आउन सकेन् । त्यही मौकामा १ सय २० रुपैया प्रतिकेजीसम्म कुखुरा बिक्री भयो ।’ कोशी फुटेको बेलामा कुखुरामा राम्रै आम्दानी लिन सफल भएका उनी त्यो बेलामा साइकलमै चारो, औषधिपानी ल्याउने काम गर्थे । बिस्तारै व्यापार बढ्दै गयो । साइकलबाट उनी मोटरसाइकलमा पुगे । झन व्यापार फैलिदै गयो ।
मोटरसाइकलमा कुखुरा हालेर धरानका बजारहरु चहार्थे । तर, अहिले उनी आफ्नै गाडीमा चारो, कुखुरा, चल्ला र औषधिपानीको व्यापार गर्छन् । सुरुमा ८–१० बोराबाट सुरु भएको दाना व्यापार अहिले फष्टाएर मासिक ८ सयदेखि एकहजारसम्म ब्यापार गर्ने गरेको बताउँछन् । ‘बैंक लोन लिएर अहिले आफैले गाडी खरिद गरेको छु ।’ उनी भन्छन्, ‘गाडी नहुँञ्जेलसम्म सब डिलरको रुपमा काम गरेँ ।’ दुईवर्ष यतादेखि उनी डिलरको रुपमा कार्यरत रहेको बताउँछन् ।
‘अहिले डिलरले नै चारोहरु झारिदिन्छ ।’ उनी थप्छन् । बिहान ५ बजे निस्किएका उनी दैनिक अपरान्ह घर पुग्छन् । कुखुराको हेरचाह गर्न पुग्छन् । यसबाटै उनले आफ्ना तीन छोराछोरीको पढाई खर्च र घरपरिवार चलाउँछन् । कुखुरापालन र दाना व्यावसायबाट उनले खर्च कटाएर मासिक ५०–६० हजार रुपैया कमाई गर्छन् । ‘मलेसियामा १२ घण्टा खटिदा मासिक १५–२० हजार कमाइथ्यो ।’ उनी भन्छन्, ‘त्यहाँ अर्काको खटनामा काम गर्नुपथ्र्यो, काम बिग्रियो भने पैसा काटिन्थ्यो ।’
समस्याबाट भाग्न नहुने र लगनसील भएर काम गरिरहेमा प्रगति थाहा नपाई हात लाग्ने उनी बताउँछन् । मेहनतकै कारण पनि उनले राज्यको अनुदान पट्टी आँखा लगाएका छैनन् । ‘अहिलेसम्म राज्यको अनुदानमा चासो दिएको छैन् ।’ ३६ वर्षीय उनी भन्छन् । त्यसो त कुखुराबाट घाटा नभएको पनि होइन् । एकैपटक साढे ३ सय कुखुरा मर्दाको पीडा उनीसँग अझै छ । भर्खरै सुरु गरेको कारणले पनि कतिपय कुरा थाहा पाउन नसक्दा एकैपटक एकलटमा हालेको साढे ३ सय कुखुरा मरेको उनी बताउँछन् ।
रोगको पहिचान नै गर्न नसक्दा बेच्न लागिएको साढे ३ केजी बराबरको कुखुरा एकैपटक मर्दा झण्डै ७५ हजार रुपैया घाटा लागेको उनी बताउँछन् । ‘त्यो बेला हुदैन’ भनेर आँट हारेको भए अहिले यो अवस्थामा आउन नसकिने उनी बताउँछन् । कुखुरा व्यवसायमा लागेपछि चाडबाड भन्न नपाइने उनी बताउँछन् । ‘एकचित्त भएर लाग्नुपर्छ । चाडपर्व पनि भन्न पाइदैन् ।’ उनी भन्छन् ।