मोरङ/ बाँसबारी चौकमा निर्माण सामाग्रीको होलसेल पसल सञ्चालन गर्ने विमल दाहाल गत हप्ता पैसा उठाउन झापाको दमक गएका थिए । दमकबाट आउँदा बाटैमा पर्ने मोरङ बाहुनीको राधानगरको पेट्रोल खानी क्षेत्रमा छिरेका दाहाल भन्दै थिए, ‘यहाँ पेट्रोल आएको छ र हेर्न जाउँ भनेर हुटहुटी चलेको होइन तर मूल सडकमै पेट्रोल खानी जाने बाटो भनेपछि आउआउ लागिहाल्छ । समय हुँदा पूर्व गएर आउँदा हाइवेबाट १० मिनेट निकालेर म यहाँ आउँछु ।’
[caption id="attachment_16381" align="alignleft" width="639"]
नेपालको सबै पेट्रोलियम आयात भएको र भारतले नाकाबन्दी गर्दा यो खानीको नेपालीसँग भावनात्मक सामिप्यता भएको दाहालको तर्क छ । भन्छन्, ‘जतिबेला म पेट्रोल पम्पमा गाडीमा तेल हाल्न जान्छु यही खानी सम्झिन्छु ।’मोरङका विमल दाहाल जस्तै थुप्रै नेपालीहरुका लागि अहिले यो चासोको विषय बनेको छ । खानी छ भन्छन् कस्तो होला, पेट्रोल छ कि छैन आदि जिज्ञासा सबैमा छ । नेपालको पेट्रोल खानीको ठूलो सम्भाम्यता बोकेको राधानगरको चर्चा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चुलिएको छ । कतिपय बजार हल्ला छ, नेपालले पेट्रोल निकाल्दा भारतीय आयात कम हुन्छ भनेर यो खानी अन्वेषण गर्दा गर्दै बन्द गरिएको छ । जे होस् पेट्रोल आए यो ठाउँ महत्वपूर्ण नै हुनेछ किनकी यसले नेपाली पेट्रोल आयात कम गर्दै पैसा विदेशिने क्रम घट्छ । पूर्ण अन्वेषण पछि पेट्रोल नभएको पत्ता लागे पनि यो क्षेत्रले नेपालको पेट्रोल उत्खनन्को एउटा इतिहास भने बोक्नेछ ।
त्यसैले त विमलजस्तै अधिकांश पर्यटकहरु राधानगरको पेट्रोल खानी हेर्न पुग्छन् । २०४३ सालमा पेट्रोल उत्खनन प्रयास गरेको यस क्षेत्रमा पछि विभिन्न देशका कम्पनीहरुले इच्छा देखाएका थिए । सेल नेपाल नामक कम्पनीले ३५ सय २० मिटरसम्म ड्रिल गरेको यो खानी क्षेत्रमा थप अनुसन्धान भएको छैन । २०४३ सालमा पेट्रोल उत्खनन गरिएको दुई वर्ष पछि ४५ सालमा भारतले नाकाबन्दी लगाएको थियो । त्यसपछि खानीको महत्व झन बढेर गयो । गत वर्ष भारतले नाकाबन्दी लगाएपछि त यो खानीको व्यापक चर्चा भयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पछि नेपाल आएका चीनका विशेषज्ञ टोलीसहित उद्योग तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे राधानगर क्षेत्रमा पुगेपछि स्थानीय झनै आशावादी बनेका थिए । चिनीयाँ टोलीले पेट्रोल हुने कुरा सङ्केत गरेपछि उत्साहित स्थानीयले खानीबाट पेट्रोल आएको नदेखेपनि खानी हेर्नै भनेर पर्यटकहरु भने आएको देखेका छन् । नाकाबन्दीमा बढेका पर्यटक घटे गत साता खानी क्षेत्रमा निगुरोको साग बोकेर भेटिएका स्थानीय भिमा सिम्खडा र लक्ष्मी सिम्खडा भने, ‘नाकाबन्दीमा टिभीमा खानी देखायो । त्यसपछि गाडीका गाडी मान्छहरु आउन थाले । कोही साइकल, कोही मोटरसाइकल, कोही कार र कोही गाडीमा आइरहे तर अहिले खासै आउँदैनन् ।’ नाकाबन्दी पछि चिनिया विशेषज्ञ टोली लिएर आएका मन्त्री पाण्डे आएपछि झनै आगन्तुकहरु आएको खानीको ड्रील क्षेत्रमा भेटिएका सुमन रिजाले सुनाए । आफू पेट्रोल खानीको बासिन्दा भएर पेट्रोल बेचेरै धनी भएको देश साउदी अरेवियामा २ वर्ष काम गरेर आएको बताएका युवा रिजाले भने, ‘जब नेपालमा पेट्रोल हाहाकार हुन्छ तब यो खानीको हल्ला हुन्छ । हल्लाले गर्दा पेट्रोल चाहिँ आएको छैन तर पर्यटकहरु भने आएका छन् ।’ पर्यटक आउ“छन् अडिँदैनन् पूर्व–पश्चिम राजमार्गको भाउन्ने बजार पार गरेको केही समयपछि आउँछ एउटा बोर्ड त्यहाँ लेखिएको छ– पेट्रोल खानी जाने बाटो यता । त्यही बोर्ड हेर्दै राजमार्ग ओहोरदोहोर गर्नेहरु पेट्रोल उत्खनन क्षेत्रमा पुग्छन् । मूल सडकबाट ४ किलोमिटर भित्र पर्ने खानी क्षेत्रमा पुग्न इटहरीबाट २५ किलोमिटर लाग्छ भने विराटनगर र दमकबाट क्रमशः ३७ र २३ किलोमिटरमा पुग्न सकिन्छ । तर, खानीमा आएका आगन्तुहरुलाई राम्रो होटल, क्याफे तथा लजको व्यवस्था छैन । अरु त अरु सामान्य चिया पिउने ठाउँ पनि खानी क्षेत्र अगाडिको मुखैको सानो बजारमा नहुनु दुःखद् भएको मोरङकै सुन्दरदुलारी नगरपालिका घर भएका विमल बताउँछन् ।
[caption id="attachment_16382" align="alignnone" width="810"]
‘यस्तो महत्वपूर्ण ठाउँमा कम्तीमा एक दिन आगन्तुक अड्याउने केही सेवा सुविधाहरु हुनुपथ्र्यो तर म त यहाँ आउँदा स्थानियसँग गफिदै चिया पिउन खोज्दा पनि ठाउँ देख्दिन’, दाहाल भन्छन, ‘यहाँ सुविधासम्पन्न होटल र क्याफेहरु चाहिँ भएको भए हुन्थ्यो ।’ २ बिगाहा १७ कट्ठा क्षेत्रफलको खानीलाई तारजालीले संरक्षण गरिएपनि खानी हेर्न आउनेहरु भुलिने ठाउँका लागि प्रयास भएको देखिँदैन । स्थानीय सुमन रिजाल खानीमा आउने पर्यटकहरु एकै संख्यामा नआएकोले पनि यस्तो हुन नसकेको तर्क गर्छन् तर अर्का स्थानीय तथा नेपाल सरकार अन्तर्गतको युवा परिषद् मोरङका संयोजक रविन थापा भने स्थानीयहरुले पर्यटनको पैसा चिन्न नसकेकोले यस्तो भएको बताउँछन् । ‘चितवनले जङ्गलको मार्केट गरेर पैसा कमायो, इलामले चियाको तर हामीले खानीको र यहाँको धिमाल तथा राजवंशीको महत्व बेच्न सकिरहेका छैनौं ।’लोकान्तरबाट