तरहरा/ मौसमी तथा बेमौसमी तरकारी मुलुककै सबैभन्दा बढी उत्पादन हुने तराईका जिल्लाहरुमा निरन्तर परेको झरीका कारण तरकारी उत्पादनमा ह्रास आएकाले दशैँको मुखमा हरियो तरकारीको मूल्य बढेको छ । तरकारीको माग बढेसँगै मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरु बताउँछन् ।यो वर्ष पूर्वी नेपालमा धेरै पानी परेकै कारण तरकारी खेती नष्ट भएर अहिले पूर्वी बजारमा तरकारीको मूल्य उच्च भएको कृषि बजारका अधिकारीहरु बताउँछन् ।
तरकारी उत्पादनका दृष्टिले मुलुककै अग्रस्थान ओगटेको सुनसरीसहित पूर्वी नेपालका झापा, मोरङ, सप्तरीलगायतका स्थानमा लगाइएका तरकारी बालीहरु वर्षाले बिग्रिएपछि तरकारीको मूल्य बढेको कृषि बजारले जनाएको छ । बिचौलियाका कारण मूल्यवृद्धि हुँदा आपूmहरु मारमा परेको उपभोक्ताहरुले बताए । इटहरीका उपभोक्ता कृष्ण नेपालले तरकारीको मूल्य बजारमा छुइसक्नु नभएको बताए । उनले दशैँको मुखमा तरकारीको भाउ बढेको गुनासो गरे । सुनसरीमा उत्पादित तरकारी इटहरी, धरान, विराटनगर, झापा, सिरहा, सप्तरी, हेटौंडालगायतका प्रमुख शहर हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ ।
तरकारीमा २५ देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन् । केही पहिलेसम्म आधा दाममा पाइने तरकारी अहिले दोब्बरमा खरिद गर्नुपर्ने इटहरी सब्जीमण्डीकी तरकारी व्यापारी राधिका न्यौपानेले बताइन् । बजारमा अहिले विशेष गरी भिन्डी, करेला, बोडी, सिमी र आलुमा बढी मूल्यवृद्धि भएको छ । केही समयअगाडि प्रतिकेजी ५०– ६० रुपैयाँमा पाइने भिन्डीको मूल्य अहिले बढेर प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ । यस्तै करेला पनि प्रतिकेजी १ सय २० रुपैयाँ छ । प्रतिकेजी ७०–८० मा पाइने सिमीको मूल्य अहिले १ सय २० पुगेको छ । आलुको दाम पनि प्रतिकेजी ४०–५० बाट बढेर ६०–८० रुपैयाँसम्म पुगेको छ ।
इनरुवाको रामजानकी कृषि बजारका अध्यक्ष हरि मेहताले तरकारीको मूल्य अत्यधिक बढेको बताए । स्थानीय तरकारी नआउँदा मूल्य बढेको उनको भनाइ छ । सुनसरीको तरकारी खेती पानीले नष्ट गरेपछि तरकारी मूल्य आकासिएको उनले बताए ।धरानको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले पानी निरन्तर हुँदा तरकारीको मूल्य केही समययता उच्च भएको बताए । कोबी, साग, धनियाँ, इस्कुसलगायतका तरकारीहरु पानीले बिगारेको कारण मूल्य बढेको उनको भनाइ छ । ‘हरिया तरकारीहरु यो वर्ष कम आइरहेको छ’, उनले भने, ‘करीब एक महिनायता तरकारीको मूल्य बढिरहेको छ ।’