धरान/ सुपथ पसल सञ्चालनमा सरकार र व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य सङ्घले पहल नगर्दा सीमावर्ती भारतीय बजारहरुमा उपभोक्ताको लर्को लाग्ने गरेको छ ।सीमा बजार जोगबनीमा यहाँभन्दा प्रतिकेजी झण्डै १५ रुपैयाँसम्म मूल्य फरक हुने हुँदा यहाँका उपभोक्ता त्यतातिर जाने गरेका हुन् ।

यस बेला खचाखच हुने यहाँका किराना तथा कपडा पसलहरु सुनसान छन् । महेन्द्रपथका जगदीशप्रसाद सजनकुमारका सञ्चालक अजित अग्रवाल दशैँ नजिकिँदै जाँदा ग्राहकको भीडले भ्याई नभ्याई हुन्थे तर यस वर्ष उपभोक्ता नआउँदा उनी अचम्मित बनेका छन् । ‘धरानमा महङ्गो हुन्छ भन्ने मेन्टालिटी छ । त्यही भएर पनि (ग्राहक) भारततिर जाने गरेका छन्’, अग्रवाल भन्छन्, ‘सरकारले सुपथ बजार लगाइदिए वा ट्याक्स कम गर्ने हो भने यहाँको बजारमा चहलपहल बढ्ने थियो ।’ सरकारले हरेक सामानमा अत्यधिक कर लगाइदिने कारण पनि धरान, इटहरीजस्ता बजारहरु सुनसान हुने गरेका छन् । दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न उपभोक्ताहरु जोगबनी नै पुग्ने गरेका छन् ।जोगबनीमा प्रतिकेजी ५५ रुपैयाँमा पाइने चिनी यहाँ ७५ देखि ८० रुपैयाँसम्म पर्ने गरेको छ । ‘यहाँभन्दा उता सस्तोमा पाउँछ भने स्वाभाविक रुपमा जो पनि जान्छ’, कपडा व्यवसायी जीवन अग्रवाल भन्छन्, ‘म पनि उतै जान्छु नि ।’ उवा सङ्घका महासचिव शिवराज श्रेष्ठले निजी स्तरबाट सस्तो बजार लगाउने कुरा नभएको बताए ।
सरकारले पनि उवा सङ्घहरुलाई जिम्मा नदिएको उनी बताउँछन् । उनी पनि सस्तो बजार आवश्यक रहेको मान्छन् । कर बढी तिर्नु परेपछि हरेक सामानको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् । सरकारले धरानमा पनि सुपथ बजार सञ्चालनमा गर्नुपर्ने व्यवसायी तथा उपभोक्ताहरुको माग छ । कपडा व्यवसायी अग्रवाल भन्छन्, ‘सरकारले काठमाडौँ मात्रै नेपाल हो भन्ने ठानेको छ । अरुतिरका उपभोक्ता नेपाली नै होइनन् भन्ने बुझाइ छ ।’ सुपथ बजार सबैतिर सञ्चालन गर्नुपर्ने र त्यसका लागि व्यापारीहरुको संस्था उवा सङ्घले पनि पहल गर्नुपर्ने उनको तर्क छ । भन्छन्, ‘यस्तो बेलामा व्यापारीहरुको संस्थाले पनि पहल गर्न सक्छ तर त्यसतर्पm ध्यानै छैन ।’ सुपथ बजार धरानमै हुने हो भने भाडा तिरेर कोही पनि भारतीय सीमा बजारहरुमा नपुग्ने उपभोक्ताहरु बताउँछन् ।धरानकी उपभोक्ता नेहा प्रधानाङ्ग भन्छिन्, ‘सुपथ बजार धरानमा पनि आवश्यक छ ।
यहाँ हरेक सामान महङ्गो हुन्छ । त्यसैले पनि बाध्य भएर (उता) जानुपर्छ ।’ दशैँका लागि चाहिने मसलामा जोगबनी र धरानमा प्रतिकेजी १५० रुपैयाँसम्म फरक पाइएको उनी बताउँछिन् । धरानको बजार अन्यतिर भन्दा महङ्गो रहेको विद्यार्थी नवीन सुवेदीको अनुभव छ । भन्छन्, ‘हामीजस्ता विद्यार्थीको लागि सुपथ बजार आवश्यक छ । यहाँ हामीजस्ता विद्यार्थीले किन्न सक्ने अवस्थै छैन ।’ उनले यहाँ तरकारीदेखि दैनिक उपभोग्य वस्तुहरुसमेत महङ्गो हुने बताए । शिक्षक गिरिराज खतिवडाले पनि धरानको बजार अन्यत्रभन्दा महङ्गो भएको अनुभव सुनाए । सुपथ बजार अति आवश्यक भए पनि कसैले चासो नदेखाउने गरेको उनको भनाइ छ । उवासङ्घका महासचिव श्रेष्ठले सुपथ बजार नभए पनि सबैजसो पसलमा अनुगमन गरेर एउटै दरमा बिक्री गर्न निर्देशन दिने गरेको बताए । ‘उवासङ्घले सुपथ मूल्यको पसल राख्नेभन्दा पनि दररेट फरक हुनु भएन भनेर अनुगमन चाहि गरिरहेका छौँ ।’ उनी भन्छन् ।