धरान/ दशै नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर सुनसान र भारतको जोगबनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष तथा सांसद् पवनकुमार सारडाले मोरङसँग जोडिएको भारतीय सीमावर्ती बजार जोगबनीमा किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले पनि करोडाँै रुपैयाँ लगानी गरेर मोरङका व्यवसायीले सञ्चालन गरेको व्यवसाय नचलेपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको गुनासो गरे ।

biratnagar

विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालको भनाइ पनि यस्तै छ । सरकारले स्वदेशी बजार प्रवद्र्धन गर्न कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार जाने गरेको उनको तर्क छ । उनले भने, ‘नेपाली ग्राहकका लागि हामीले स्वदेशी बजार प्रवद्र्धन कार्यक्रम ल्याउन नसक्दा समस्या आइपरेको हो ।’मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले चोरी तस्करीलाई नियन्त्रण गर्न र भन्सार करमा सुधार गर्न नेपाली उपभोक्ताले जोगबनी नजाने वातावरण बनाउन सरोकारवाला निकायले मिलेर लाग्नुपर्ने धारणा राखे ।यस्तै, झापासँग सीमा जोडिएका भारतीय बजार पानीटेङ्की, नक्सलबाडी, गलगलिया, अधिकारीलगायतमा दशैँका सामग्री खरिद गर्न दैनिक सयौँ नेपालीको भीड लागेको छ । नेपाली बजारमा भन्दा सीमा क्षेत्रका बजारमा चिनी, दाल, जिरा, चना, मटर, खानेतेल, लत्ताकपडालगायतका सामग्री सस्तो मूल्यमा पाइने हुँदा किनमेलका लागि नेपालीहरु जाने गरेको मेचीनगर–१ की पवित्रा न्यौपानेले बताइन् ।

‘हरेक सामान भारतमै सस्तो पाइन्छ’, न्यौपानेले भनिन्, ‘यहाँ प्रतिकेजी ८० रुपैयाँमा पाइने चिनी भारतमा प्रतिकेजी भारु ४० मै पाइन्छ । अलि धेरै सामान किन्दा केही पैसा बचत हुने हुँदा दशैँ–तिहारका सामग्री खरिद गर्न भारततिर नेपाली जान्छन् ।’ उनले चाडबाडलाई दृष्टिगत गरेर सरकारले सर्वसुलभ मूल्यमा नेपालमै सामग्री पाइने व्यवस्था मिलाइदिने हो भने दैनिक भारतीय बजारमा जाने लाखौँ रुपैयाँ स्वदेशमा रहने बताइन् ।

पानीटेङ्कीमा दशैँको बेला तुलनात्मक रुपमा दोब्बर, तेब्बर बढी नेपाली आउने गरेको भारतीय व्यापारी रामदेव यादवले बताए । सामान किन्न आउनेहरुमा सबैभन्दा बढी सरकारी कर्मचारी रहेको व्यापारी यादवको भनाइ छ । एक महिना अघिसम्म दैनिक १५ देखि २० हजारसम्मको व्यापार गर्ने यादवले असोज लागेसँगै दैनिक ७० देखि ८० हजारभन्दा बढीका सामान बिक्री गरिरहेको जनाए । पूर्वी नाका काँकडभिट्टा हुँदै मोरङका उर्लाबारी, दमक, झिलझिले, दुधे, शनिश्चरे, बिर्तामोडसम्मका उपभोक्ता दिनदिनै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् ।