धरान/ दश वर्षअघि थालेको कुखुरा व्यवसायबाटै धरान–२३ पानबारीका गोपाल बस्नेत सफलताको भरयाङ चढिरहेका छन् । २०६३ मा उनले कुखुरा व्यवसाय थालेका हुन् । वैदेशिक रोजगारीको क्रममा चार वर्ष खाडी मुलुक कतारमा भोगेका व्यथा बिर्सिन पनि उनले व्यवसायको थालनी गरेका थिए । ४० हजार रुपैयाँबाट थालेको ब्रोइलर व्यवसाय नै उनको सफलताको माध्यम बन्यो । एक लाख ५ हजार मेनपावरलाई बुझाएर २०५८ सालमा विदेश जाँदा तोकिएको ५ सय तलब पनि उनलाई दिइएन ।
३ सय मासिकमा एक वर्ष काम गरेपछि कम्पनी छाडेर उनी भागे । एक वर्षमा उनले ऋण पनि तिर्न सकेनन् । जब कम्पनी छाडेर अन्यत्र काम गर्न थाले, त्यसपछि मात्रै केही कमाइ हात लागेको उनी बताउँछन् । तीन वर्ष निरन्तर भागेरै काम गरेका उनले कतारमा पाउनुसम्म दुःख पाए । ‘काम पाउँदा कोठा नपाउने, कोठा पाउँदा काम नपाउने’, उनी विगत सम्झन्छन्, ‘त्यस्तो अवस्था भएर तीन वर्ष बिताइयो ।’ ऋण तिरेर ५ लाख जति बचत गर्न सफल भएपछि उनले २ कठ्ठा जग्गा किने । नेपाल फर्किएपछि साथीले गरेको व्यवसाय देखेरै ब्रोइलर पाल्न थालेका उनले शुरुका दुई लटसम्म राम्रै मुनाफा आर्जन गरे तर तेस्रो लटले उनलाई १ लाख २५ हजार रुपैयाँ घाटा लगायो । ‘तर पनि हतोत्साही भइनँ । निरन्तर गरि नै रहँे’, उनी भन्छन्, ‘त्यही निरन्तरताको फल अहिले प्राप्त हुँदैछ ।’ अहिले बस्नेतले झण्डै ९ लाख रुपैयाँ जतिको व्यवसाय बनाइसकेका छन् । कुखुरापालनबारे प्राविधिक ज्ञान नभए पनि उनले हिम्मत हारेनन् । सातपटक तालिम लिए । त्यही तालिमबाट उनी अहिले कुखुराका ‘डाक्टर’ बनिसकेका छन् ।
कुखुरापालनसँगै उनले थालेको दाना, औषधिपानी व्यवसायले उनी घर ठड्याउन सक्ने बने । ‘यही व्यवसायबाटै घर बनाउन सकँे ।’ उनी भन्छन् । करीब ३० लाखको लगानीमा उनले घर ठड्याएका छन् । त्यो सबै दाना, औषधि र चल्ला व्यवसायले नै हो । अहिले घरमा दाना, चल्ला र औषधिको व्यवासायसँगै किराना पसलसमेत थापेका छन् । यसबाट घरपरिवारलाई रोजगारी सिर्जना भएको छ । बस्नेत दैनिक बिहान ५ बजेदेखि चल्ला र दाना लिएर सत्तिसाले, माथिल्लो पानमारा डुल्छन् । दाना बेच्ने पनि उनको छुट्टै कथा छ । कुखुरा पाल्न थालेपछि दाना आवश्यक पर्ने भो तर कसैले पनि दाना नझारिदिने । कुखुराका लागि आपैmँले २० बोराबाट व्यवसाय शुरु गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘ल्याइदेऊ न भन्यो, कसैले टेरेनन् । त्यसपछि आपैmँले २० बोरा ल्याएर बिक्री गर्न थालेँ ।’चल्ला व्यवसाय पनि त्यसरी नै शुरु गरेको उनी स्मरण गर्छन् । १० वर्षअघि कुखुरा पाल्दा १४ रुपैयाँ प्रतिगोटा पथ्र्यो । अहिले प्रतिगोटा ९० रुपैयाँ पर्न थालिसकेको उनी बताउँछन् । ‘मैले पाल्दा १४ रुपैयाँ प्रतिगोटा किनेर शुरु गरेको थिएँ’, उनले भने, ‘अहिले ९० रुपैयाँ पर्न थालिसक्यो । त्यस बेला प्रतिबोरा १२ सय पर्ने दाना अहिले ३ हजार रुपैयाँ पर्न थालिसकेको छ ।’
यसै पेशाबाट बस्नेतले छोराछोरी पढाउने, बिहेदानलगायत गरिसके । पाँचजनाको परिवार यसैबाट धानेका छन् । मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । मोरङको सत्तिसाले र माथिल्लो पानबारीमा उनको ३५ जना नियमित ग्राहक छन् । उनीहरुलाई दानापानी, चल्ला तथा औषधिहरु पु¥याउने गरेका छन् । प्राविधिक ज्ञान पाएपछि कृषकहरुमा पनि काम गर्ने जोशजाँगर आउँछ जसले गर्दा कृषकहरुको लगानीसमेत सुरक्षित हुने उनको दावी छ । विदेशले उनलाई मेहनत गर्न सिकायो जसका कारण आज निरन्तर उनी यो व्यवसायबाटै उन्नतिको शिखर चढ्दै छन् ।