धरान/करिव पाँचवर्ष अघि भारत सरकारले एकतर्फी रुपमा घोषणा गरेको पाँचवटा महत्वपूर्ण नाकाको ‘क्रसबोर्डर रेलवे कनेक्टिभिटी’ कार्यले तिब्रता पाउने संकेत देखिएको छ । rail भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतको रेल्वे विस्तारको औपचारिक कुराकानी भएकाले पनि यो सम्भावना बढेर गएको हो । नेपालसँग जोडिएका पाँचवटा महत्वपूर्ण नाकालाई जोड्ने भारतको महत्वकाक्षी योजनामा अहिले थप चर्चा हुन थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ सँग यही विषयमा थप सहमति भएको छ । विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव एस जयसंकरले कनेक्टिभिटी अन्तगत रेववे लिंकको बारेमासमेत बताएका थिए । भारत सरकारले न्युजलपाइगुरी देखि काकडभित्तासम्मको ७० किलोमिटर, जोगवनीदेखि विराटनगरसम्मको १७ दशमलव ६५ किमी, जयनगरदेखि बर्दीबाससम्मको ६८ किमी, नौतनवादेखि भैरहवाको १५ दशमलव ३ किमी, र नेपालगञ्जरोडदेखिको नेपालगञ्जसम्मको १२ दशमलव ११ किमी रेल्वे लिंक जोड्ने पाँचवर्ष अघि नै घोषणा गरेको थियो । त्यसमध्ये पहिलो चरण अन्तर्गत जोगवनी देखि विराटनगरसम्मको १७ दशमलव ६५ किलोमिटरको काम सुरु भइसकेको छ । त्यस्तै जयनगरदेखि बर्दिबाससम्मको ६८ किलोमिटरकोसमेत काम सुरु भइसकेको त्यसमा जानकार त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अर्जुनकुमार बरालले बताए । उनले भारतका ठूलासाना आयोजनाको बारेमा जानकारी गराउने क्रममासमेत यसबारेमा केही महिना अघि धरानमा बताएका थिए । ‘केही कामसमेत भइसकेको छ । यो पहिलो चरण अन्तर्गतको काम हो ।’ उनले फोनसम्पर्कमा भने । जोगवनी–विराटनगर निर्माणको लागि लागत ३२ सय करोड नेपाली रुपैयाको लागत स्टिमेट सार्वजनिक गरिएको थियो । त्यस्तै जयनगर–बर्दिबासको ७ हजार एकसय ४८ करोड लाग्ने लागत अनुमानसमेत सार्वजनिक गरिसकेको छ । नेपालका हाल रहेको महत्वपूर्ण नाकाहरुमा रेल्वे लिंक जोड्ने भारतको यो योजनामा थप केही अघि बढ्ने संकेतसमेत अहिलेको भ्रमणले गरेको छ । यसका लागि नेपालका लागि भारतीय राजदुत रजजित रेलाईसमेत विदेश सचिव एस जयसंकरले रेल्वे लिंकको बारेमा बताउन भनेका थिए । राजदुत रेले पहिलो चरण अन्तर्गत जोगवनी विराटनगर र जयनगर बर्दिबासको काम सुरु भइसकेकासमेत बताएका थिए । र, अन्यको कामसमेत अघि बढिरहेको बताएका छन् । भारतकोे दोस्रो चरणमा रहेका न्युजलपाइगुरी–काकडभित्ताको ७० किलोमिटर रेल्वे ट्रयाकको लागि ५ हजार ७ सय २७ करोड रुपैयाको लागत स्टिमेटसमेत सार्वजनिक गरेको थियो । त्यस्तै नौतनवा–भैरहवाको १५ दशमलव ३ किलोमिटरको लागि २८ सय १६ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । साथै, नेपालगञ्ज रोडदेखि नेपालगञ्जसम्मको १२ दशमलव ११ किलोमिटरको लागि २३ सय ८४ करोड रुपैया लागत अनुमान रहेको छ । यो पाँचवर्ष अघि निकालिएको लागत स्टिमेट हो । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर कमलदेवप्रसाद साहलेसमेत क्रस बोर्डर रेल्वे कनेक्टिभिटी कार्यलाई तिब्रता दिन नेपालको प्रस्ताव रहेको बताएका थिए । उनले दोस्रो चरणमा निर्माण हुन लागेका रेलवे लिंकलाईसमेत अघि बढाउन नेपालको प्रस्ताव रहेको बताएका छन् । त्यसका लागि नेपालमा रेल्वे लिंक विस्तार हुने क्षेत्रहरुमा जग्गा अधिग्रहण गर्दै सम्बन्धित जग्गाधनीहरुलाई मुआब्जालगायत दिनु पर्ने दायित्य नेपाल सरकारको हुने प्राध्यापक बराल बताउँछन् । मुआब्जालगायतको समस्यालाई लिएर पहिलो चरणको जोगवनी विराटनगरको रेल्वे लिंकमा केही समस्यासमेत देखिएको उनले बताए । यसमा सम्पूर्ण लगानी भारत सरकारले नै गर्न लागेको हो । नेपाल सरकारले प्रस्तावमा सहयोग मात्रै गर्नु पर्ने जानकारहरु बताउँछन् ।