प्रकाशपुर/डुङ्गा सञ्चालकको लापरवाहीकै कारण वर्षेनी सप्तकोशीमा डुङ्गा दुर्घटना हुने गरेको छ । सञ्चालकले सामान्य नियम पनि पालना नगरी जोखिमपूर्ण यात्रा गराउने पाइएको हो । डुङ्गामा अनिवार्यरुपमा लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने भएपनि नियमको खिल्ली उडाउँदै डुङ्गा सञ्चालन हुने गरेको छ ।श्रीलङ्का टापुका वासिन्दा आवतजावत गर्ने डुङ्गा प्रायः वर्षेनी पल्टिरहेपनि सरकारी पक्षको हेलचेक्राइँ बढिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । प्रकाशपुर र महेन्द्रनगर गाविसले संयुक्तरुपमा डुङ्गा चलाउने ठेक्का लगाउने गर्छन् । तर त्यसको व्यवस्थापनमा भने केही खर्च नगर्ने स्थानीय अगुवा बाबुराम कार्कीले भने । लाखौं रुपैयाँमा ठेक्का लगाएर आम्दानी गरेपनि डुङ्गा व्यवस्थापनामा भने खर्च नगरेको उनको भनाइ छ ।श्रीलङ्का टापुवासीको आवतजावतको साधननै डुङ्गा भएपनि स्थानीय प्रशासनले व्यवस्थापनमा ध्यान नदिएको प्रकाशपुरका सुदीप बस्नेतले बताए । उनले सरकारी पक्षको हेलचेक्राइँका कारण श्रीलङ्का टापुका सर्वसाधारणले जोखिम मोलिरहेको बताए । वर्षेनी सप्तकोशीमा डुङ्गा दुर्घटना भइरहेपनि दुर्घटनाको बेला व्यवस्थापनको कुरा उठेपनि केही समयपछि सेलाउँदै जाने गरेको उनको भनाइ थियो । गत भदौ १५ गते मात्र डुङ्गाको ठेक्का लागेको प्रकाशपुर गाविसले जनाएको छ । प्रकाशपुर–५ का तुफानी मण्डल चन्द्रवंशीले ५ लाख २ हजारमा ठेक्का पारेका थिए । उनले सामान्य नियम पनि पालना नगरेको सुनसरीका एसपी पोषराज पोखरेलले बताए । ‘डुङ्गामा सवार हुँदा लगाउनु पर्ने लाइफ ज्याकेट समेत नलगाई डुङ्गा सञ्चालनमा ल्याएको पाइयो’, उनले भने, ‘डुङ्गा पल्टिँदा कसैले पनि लाइफ ज्याकेट लगाएको पाइएन ।’ यस विषयमा तत्काल छानविन गर्ने उनले बताए । यता प्रकाशपुर गाविसका सचिव शङ्कर आचार्यले महेन्द्रनगरसँग मिलेर संयुक्तरुपमा ठेक्का लगाएको जनाए । उनले आपूmहरुले लाइफ ज्याकेट लगाउने शर्त अनिवार्य राखेको भएपनि पालना नगरेको जनाए । श्रीलङ्का टापुवासीले जोखिमपूर्ण यात्रा गरिरहेको भन्दै यसलाई व्यवस्थापन गर्न आपूmहरु लागिरहेको उनको भनाइ थियो । २०७० साल साउनमा भएको डुङ्गा दुर्घटनामा परी १२ भन्दा बढी यात्रुको ज्यान गएको थियो । यस्तै २०७२ साल असार २९ गते १२ जना बेपत्ता भएका थिए । उक्त क्षेत्रमा अनुगमन निरीक्षण नगर्दा व्यवसायीहरुले अटेर गरी डुङ्गा सञ्चालन गरिरहेका छन् ।