
आज बिहान रुँदैरुँदै मलाई “इमो”मा फोन गरी र छिट्टै भेट्न बोलाई । म कामको सिलसिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ । साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें । धेरैबेरको रोदन र मेरो लगातारको प्रश्नले उसले समस्याको पोको खोली ।
उसकै बैंकमा काम गर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ । मनदेखि सुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ । अन्जली दलित हो, बिश्वकर्मा । उसको प्रेमी उपाध्याय बाहुन रहेछ । अहिलेको समयमा कम्तीमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दु:खलाग्दो कुरा हो । उनीहरुलाई एकअर्काको जातबारे थाह नभएको पनि होइन । दुवैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन्, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो । अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ ।
आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन । भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पूर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो ? उसले हासिल गरेको ज्ञान र शिक्षाकै बेइज्जत भएन र ? अरुबेला देश बदल्ने ठूल्ठूला कुरा गर्नेहरुले पहिला आफूलाई र आफ्नालाई बदलेर देखाउन् ।
अन्जलीले आफू सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन । सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउँथ्यों । कति बुझ्थी, कति बुझ्दिनथी उसैले जानोस् । हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं । झन् केही विशेष पूजाआजा, बिहेबटुलो हुँदा त नगई नहुने । छोरीले कर गरेर बोलाउने, बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो । यसरि अपमानित हुँदा पनि उसले कहिल्यै साथ छोड्दिनथी, शायद आफूलाई त्यही अनुरुप तयार पारेकी थिई ।
मलाई अचम्म लाग्छ, जब कोही दलितको घरमा केही पवित्र कार्य हुन्छ । कथित ठूला जातकाले फलफूल प्रसादबाहेक अरु खाँदैनन् । फलफूल छोइँदैन, अरु छोइन्छ रे ! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे । उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र ? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानी पिउन हुने, छोएको खान नहुने रे ! कति हास्यास्पद छ है चलन ?
मेरो गाउँका प्राय: दलितहरु रक्सी पार्छन् र बजारका भट्टीवालालाई बेच्छन् । त्यही रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन् र चोखिन्छन् । उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न् । सुनपानी र जप गरेर दुरुस्त हुन्छन् । तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुन सक्दैनन् ? यो प्रश्नको जवाफ धर्म, संस्कार र समाजको ठेक्का लिएका आफूलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ ।
म बुझ्दछु, सायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे । नभए पनि उसलाई यो समाज र यसका देखावटी रीतिरिवाजप्रति रुष्ट छे । जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिई उसैले आज नगरेको गल्तीको सजायँ दियो । दलितको कोख अन्जलीले रोजेर पाएकी होइन । न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो । जुन कार्यमा आफ्नो केही योगदान छैन त्यसमा घमण्ड किन गर्ने ?
अन्जलीलाई हौसला र ढाडस दिनु मेरो लागि गाह्रो काम हो । उसलाई एकदिन पक्कै छुवाछूत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं । समय झन्डै दश वर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं । अब फेरि त्यही कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन । उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन् ।
दश वर्षअघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिई हामी सबैलाई । मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन् । अन्जलीले त आउँदिनँ भन्दा पनि दिदी आफैले जसरी पनि आउनुपर्छ भनेकी थिइन् । बेहुली निकाल्नु केहीअघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भइन् भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ । बेहुलीलाई सिँगार्ने मौका पनि पाइन्छ भनेर हामी चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं ।
बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाई भन्नु नभन्नु भनिन् । आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो । भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन् । तर हामी बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं । हामी त साथीको घरमा पसेका साथीहरु थियौं । हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन् तर ऊ निरीह भई । त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दु:खी भयौं ।
अन्जलीले बरु सामान्य बन्ने प्रयास गरी हुनसक्छ, यो उसको दिनचर्या थियो । तर हामी उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो । बिहेमा आएका धेरै मान्छेका अगाडि त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरी सक्थी होला र ? अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातको हो । सायद उसले प्रेममा प्रेम मात्रै देखी होला, जातभात देखिन । त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन । हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ ।
यतिबेला म अन्जलीलाई के भनेर सम्झाउने भनेर सोच्दै छु । भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु । मलाई भेटेपछि ऊ झन् धेरै रुनेछे । यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन, मनमुटु सबै लुटिएको छ । यो देशमा केटी भएर जन्मिनु एउटा अभिशाप हो । झन् ग्रामीण भेग, पुरातन र रुढिवादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो । झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो । यी सबैको सजायँ भोगिराखेकी छे अन्जली ।
अब मैले विद्रोह गर्नुको विकल्प देख्दिनँ । म नभए कोही न कोही त बोल्नैपर्छ । आज नभए भोलि त बोल्नैपर्छ । अन्जली, अब हामीले चुनौती दिनु छ यो समाजलाई र यसका टाउकेहरुलाई । तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन । तिमीहरुले बिनापौरख पाएको तिमीहरुको जात तिम्रा बाउबराजेले कुनै युध्द जितेर पाएका होइनन् । जबर्जस्ती लादिएको यो जात हामी अब त्यागीदिन्छौं ।
मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन । दबाइ कुन जातको मान्छेले दियो कसैले खोज्दैन । किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ । अन्जली, यी सबै ढोंगीहरु हुन् । तिम्रा डाक्टर मामाले दलित भए पनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहँदैनन । आफ्नो अभीष्ट पूरा गर्न, बैंस पोख्ने ठाउँ नपाउँदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर । अझ जबर्जस्ती गर्न तम्सिन्छन् ब्वाँसाको जस्तो रुप लिएर । गुहुमा कीरा गाडिए जसरी गाडिन्छन् हाम्रो शरीरमा । तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे । यिनलाई दलित पछाडि हिँडेको मनपर्छ, सँगै हिँड्नु हुँदैन ।
हुन त अन्जली म पनि तिमीलाई पीडा दिने पीडक जातको हुँ । मैले पीडा नदिए पनि मेरा सजातीयहरुले तिमीलाई सदीयौंदेखि सही नसक्नु पीडा दिए । तर अब मलाई मेरो जातमोह छैन । हो, मलाई घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसँग, मैले बिनामिहेनत पाएको यो जात यही समाजलाई फिर्ता दिन्छु । थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने ।इसमताबाट