गुरुदत्त ज्ञावाली/अचेल महिलामाथि गरिने अपराधका समाचार धेरै सुनिन्छन् । खास गरेर यौनजन्य अपराध र त्यसमा पनि नाबालिगमाथिको यौन अपराध लाजैमर्दो किसिमले बढ्दो छ । किन हुन्छ यस्तो ? जवाफ सजिलो छैन । समाधान पनि सजिलो छैन ।
मान्छे अनुशासनमा बाँधिनु पर्छ । अनुशासन कानूनी, सामाजिक तथा धार्मिक मान्यताका आधारमा चलेका हुन्छन् । ती मान्यता नमान्ने हो भने आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनी, मामा–भाञ्जी, छोरी–बुहारी अथवा कुनै पनि संबन्धको अर्थ रहन्न । चाड–पर्ब, मेलो–मेसो अादि कुराको अर्थ रहन्न । ती सबै कुरामा कानूनी र सामाजिक मान्यतामा रहनु पर्दछ । ती सबै कुरालाई तोडेर अनुशासन भंग गरियो भने मान्छे हुनुको अर्थ रहन्न ।
अचेल समाजमा त्यस्ता कुकर्मका समाचार अधिक मात्रामा आउने गरेका छन् । खास गरेर महिलामाथि बलात्कार गर्ने र त्यो भन्दा पनि साना–साना बच्चीहरुलाई बलात्कार गर्नेको संख्या बढेको हो कि जस्तो लाग्न थालेको छ । एउटी कलिली बालिकालाई उनकै हजुरबा र बाउले समेत बलात्कार गरेको समाचार सुन्दा आक्रोश तथा घृणाले रगत उम्लेर आउँछ ।
हुन त नेपालको संदर्भमा र संसारमै पनि कानूनी र सामाजिक मान्यता अथवा धार्मिक मान्यतामा एकल पति वा पत्नीको अवधारणा छ । त्यसो हुँदा हुँदै पनि समाज त्यस बन्धनमा सिमित छैन । सामाजिक मान्यता अनुसार पति–पत्नी बीचमा बाहेक यौन तथा यौन जन्य कुनै संपर्कको अनुमति छैन हाम्रो समाजमा । देखावटी रुपमा नभए पनि उमेर, नाता संबन्ध आदि कुराको मर्यादालाई कदर गर्दै समाजले ती बन्धन तोडेको पाइन्छ यद्यपि यस्ता कुरा गोप्य हुन्छन् । गोप्यता भंग भएको अवस्थामा यो कुरो पनि कानूनी तथा सामाजिक बन्धनमा पर्ने र सजायँको भागी हुने गरेको पाइन्छ । देखे मात्र बात लाग्ने भन्ने उक्ति नै छ । कुरो यहींबाटै गडबड छ । यस बिषयमा प्रमाणिक तथ्यांक दिन नसकिए पनि औसत साठी प्रतिशत बयस्क महिला र पुरुष यस्ता गोप्य यौन धन्दामा गैह्र पेशेवर अथवा मनोरञ्जनको रुपमा पेशेवर रुपमै संलग्न भएको पाइन्छ । पेशेवरहरुको गञ्जागोल त सबैले जानेकै कुरो हो । जानेर पनि न सरकारले नियन्त्रण गर्न सकेको छ न समाजले, न त धार्मिक संगठनहरुले । समाजसेवा गर्ने भनिएका महिला वा पुरुषहरु पनि भित्र–भित्र कमाउने र रमाउने बाहिर आन्दोलन गर्ने सम्म देखिएको छ । समाज यस्तो अवस्थामा छ । यस्तै थाहा नपाउञ्जेल केही पनि हुन्न भन्ने मान्यताका आधारमा यौन कुण्ठाका मनोरोगीहरु माथि उल्लेख गरिएका घृणित यौन धन्दामा लागेका हुन्छन् । उनीहरुले नै बलात्कार गर्छन्, पैसा खाएर केश मिलाउने काम गर्छन् । नेपालमा जसरी भ्रष्टाचार गरेर संपत्ति कमाउने पुरुषलाई बहादुर भनेर मानिन्छ । यौन दुराचार गर्नेहरु पनि बहादुर र मर्द भनिने विशेषणमा पर्दछन् ।
मानव यौन मनोविज्ञान अनौठो खालको छ । प्रत्यक्ष मैथुन मात्र मैथुन हुँदैन । स्पर्श मैथुन, श्रवण मैथुन, दृष्टि मैथुन, स्मरण मैथुन तथा यस्ता धेरै प्रकारका मैथुन हुन्छन् वा छन् । यी मैथुन स्वतः हुन्छन् । न यसमा बार बन्धनले छेक्छ न त अनुशासन लागू हुन्छ । केवल प्रारम्भिक संयम यसको नियन्त्रण हो । प्रेमको परिभाषा पनि बिचित्रको छ । यौनजन्य प्रेम, महिला र पुरुषको निकट संपर्कले हुने कुरो हो । कुनै मान्छे यौनाकांक्षामा गयो र बिपरित लिंगीको संपर्कमा अथवा एकान्तमा रहने बस्ने मौका पायो भने यौन संपर्कको वातावरण बनाउँछ वा बनाउन चाहन्छ । यही चाहनामा डुब्यो भने लभ प¥यो भन्ने गर्छ । टाँस्सिएर बसेको अवस्थामा उत्पन्न हुने यौनजन्य गन्ध प्रेम हुन सक्दैन । नत्र लभ वा प्रेम भनेको जीवनको लामो क्षणसम्म टिक्ने हुनु पर्ने हो अपबाद बाहेक त्यसो भएको पाइन्न । हो, यही कुरो पनि जीवनका धेरै पक्षलाई हेरेर परिपक्व तरिकाले बैबाहिक संबन्ध कायम गरिने संबन्ध प्रेम हो । आला काँचा प्रेमको परिणाम देखिएकै छ, प्रेम संबन्धको माग पुरा भएन वा सफल भएन भने आत्महत्य गर्छन् । प्रेम साँच्चै प्रेम नै हो भने उसले सामना गर्छ । मर्दैन ।
यी कुराहरु न समाधानको निम्ति सामाजिक मान्यतालाई खुकुलो गराउन सकिन्छ न त पूरा नियन्त्रण हुन सक्छ । हो, मान्छेको ज्ञान वा चेतनाले नियन्त्रण गर्ने हो । कतिपय मान्छे यौनजन्य बिकृतिमा कडा रुपमा प्रस्तुत गरेको पाइन्छ । कतै त यस्तो पनि हुन्छ, उ जति कडा देखिन्छ उसको आन्तरिक ब्यवहार अत्यन्तै खुकुलो भएको पाइन्छ । उसका छोरी–बुहरीलाई त नियन्त्रण गरेको हुन्छ तर अरुका चेली–बेटी बिगारेको हुन्छ । महिलाहरु मध्येमा पनि यो अवस्था देखिन्छ । कुनै समयमा हामी अर्जुन ज्ञवाली र यो पंक्तीकार बर्दिया–राजापुरको बादी महिलामा हुने खुला यौन ब्यापारको संबन्धमा जानकारी लिन गएका थियौं, एउटी यौन धन्दामा लागेकी तर त्यसबेला छोडेकी महिलाले भनेको कुराले आश्चर्य लाग्यो । उनका अनुसार जुन सरकारी तथा सामाजिक सेवा निकायका मान्छे त्यो यौन धन्दा नियन्त्रणको काममा गएका हुन्थे उनीहरु नै बादी महिलाका असल ग्राहक हुन्थे । उनीहरु दिन भर यौन धन्दा नियन्त्रमा हुन्थे र रात भर बादी महिलाको नियन्त्रणमा हुन्थे । यस्तो अवस्था नियन्त्रित समाजमा पनि हुन्छ । छातिकमा हात राखेर सोचौं, हामीमा यस्तो रोग छ कि छैन ? छ भने नियन्त्रण गरौं, यौन अपराध स्वतः नियन्त्रण हुन्छ ।
यौन मनोबिज्ञानले मैथुन गर्नु प्राकृतिक भोक भन्दछ । यसले नाता–कुटुम्ब भन्दैन, उमेर पनि भन्दैन । दुबै पक्षको सहमतिले हुने संपर्कलाई स्वभाविक मान्दछ । हुन पनि यौनेच्छाको कारणले अथवा यसको अभावले धेरै दम्पत्तिको संबन्ध बिग्रेको पाइन्छ । धेरैजोडीको झगडा, संबन्ध बिच्छेद यसै कारणले भएको पाइन्छ । खास गरेर महिलाहरुमा अस्वभाविक नियन्त्रणको कारणले एक प्रकारको मानसिक रोगी भएको पनि पाइन्छ । यौन दुर्बल भएको पति छ भने कति महिलाहरुले आत्महत्या गरेका उदाहरण छन् । यसको मर्म न संस्कारले बुझेको हुन्छ न त सरकारले । यस्तै अवस्थामा परपुरुष वा परस्त्रीसंग संबन्ध बढेको पाइन्छ । कति त आँखाले देखिएको छैन क्यार .. भनेर पचाएका हुन्छन् । त्यसरी पचाउनेमा उनीहरुका पति वा पत्नी नै हुन्छन् ।
पारिवारिक संस्कार वा सभ्यताको कारणले धेरै परिवार वा समाज नियन्त्रित हुन्छन् । यौनजन्य अपराध तुलनामा धेरैजसो अशिक्षित बेथितिको परिवारमा हुने गरेको पाइन्छ । उसलाई समाजको डर हुन्न, परिवारको अनुशासनमा हुन्न । पेशागत अनुशासन पनि हुन्न । त्यस्ता मान्छे अपराधिक गतिबिधिमा लागेको पाइन्छ । त्यस बाहेक यो कुरो यहाँहरुलाई कस्तो लाग्छ कुन्नि, घरमा पति नभएका महिला तथा पत्नी नभएका पुरुषमा समेत यस्तो गोप्य यौन धन्दा बढेको पाइन्छ र पनि पुरुषहरु नै यस्ता कुरामा स्वच्छन्द ने हुन् कि जस्ता देखिन्छन् । हुन त पुरुषले मात्र यो धन्दा संभव हुँदैन । पुरुष चुक्दा महिला पनि चुकेका हुन्छन् । तर पनि पुरुषबाटै यसको शुरुवात हुन्छ, योजना बन्छ । पुरुषहरू फकाउनेमा हुन्छन् र महिला फकिनेमा हुन्छन् । महिलाहरुमा थोरै यौनेच्छा र पुरुषबाट छिटै प्रभावित हुने गुणको कारणले पनि फसेका हुन्छन् । खान–पान, गर–गहना आर्थिक प्रलोभनमा छिटै फसेको पाइन्छ । त्यो भन्दा पनि फन्दामा परेपछि सामाजिक बाह्य मर्यादाबाट बच्न अथवा हो–हल्लाबाट बच्नको लागी धेरै कुरा गुप–चुपमै रहेका हुन्छन् ।
बयस्क कामुक पुरुषले साना नानीहरुलाई स्नेहको माध्यमबाट काखमा लिन सफल हुन्छन् । अबोध बालिकाहरु सामान्य खाने कुराबाटै लोभिन्छन् । त्यसै अवस्थामा ती पुरुषले स्नेहको बहानामा बालिकाको सबै अंग छाम्ने र हेर्ने गर्दछन् । त्यसपछिका कुरा जबर्जस्तिमा हुन्छन् । यस्ता पुरुषहरु बिवेकशून्य पशु नै हुन् । बयस्क महिलाहरु जसको काखमा बच्चा हुन्छ बस वा अन्य यात्रामा उनको बच्चालाई सहयोग गर्ने बहानामा कामुक पुरुषले यौन शोषणको घाट बनाएका उदाहरण धेरै छन् । काखको बच्चा आमाको प्राणभन्दा प्यारो हुन्छ । प्यारो बच्चालाई माया गर्ने कुनै पुरुषसंग कतिपय महिला आकर्षित हुन्छन् । आकर्षण शुरुमा यौनसंग संबन्धित हुँदैन। कामुक पुरुषले त्यसै आकर्षणको फाइदा लिन्छ र सहमतिको यौनेच्छा पुरा गर्ने वातावरण बन्छ । त्यस्ता जोडी काठमाण्डौबाट संगै बुटवल आएका छन् भने नारायणघाटमा झरेर बास बस्छन् । यहाँनेर महिला सजग रहने हो भने बच्न सकिने हो तर क्षणिक बिश्वांस तथा लुकेको याैनेच्माछामा बहकिन्छन् ।
हाम्रो समाजमा खास गरे क्षेत्री बाहुनमा महिलामाथि अनावश्यक नियन्त्रण हुने गर्दछ । सामान्य हाँस–खेल तथा मजाकलाई पनि अन्यथा अर्थ लगाइने गरिन्छ । यसले गर्दा उनीहरुले गोप्य स्थान रोज्ले गर्दछन् । खुला स्थानमा गरिने वा गर्न मिल्ने रमाइलो गोप्य स्थानमा पुगे भने जे पनि हुन सक्दछ भन्ने कुरा पुरुष अभिभावकले बुझेको पाइन्न । स्कूल–क्याम्पस स्तरका किशोर–किशोरीहरु यसको बढी शिकार हुन्छन् । एक त उनीहरुमा यौन उत्सुकता बढी हुन्छ । त्यसको निम्ति उचित यौन शिक्षा दिनु जरुरी हुन्छ ।
जथाभावी यौन संपर्क हुँदा यौन रोग सर्ने कारणले सुरक्षित यौन संपर्क भनेर सरकारले नै ब्यवस्था गरेको छ । फलस्वरुप कण्डम अथवा ढाल सर्ब सुलभ छ । त्यो भनेको मन लागेको ठाउँमा यौन संपर्क गर भनेको हो । रक्सी खान हुन्न पनि भन्ने नियन्त्रण पनि गर्ने र कारखाना पनि खोल्ने जस्तै हो । चुरोट साँच्चै हानिकारक हो भने किन कारखाना चलाउने ? यौन धन्दा पनि त्यस्तै छ । नेपालमा अलिकति पाश्चात्य संस्कारले पनि यौनजन्य छाडापन बढेको छ । महिलाको उत्ताउलो पोशाक प्रमुख कारण हो । पुरानै संस्कारमा परिवर्तन हुनुहुँदैन भनेको होइन तर क्रमशः सुधार हुनु पर्नेमा ह्वात्तै महिला समाज छोँटा लुगामा गएको छ । कुर्कुच्चा ढाकिने संस्कारबाट एकाएक तिघ्रा देखिने अवस्थामा देख्दा असंयम पुरुषको मनले बाटो बिराएको पाइएको छ । यस कुरामा बानी पर्न पनि समय लाग्छ ।
यौनोत्तेजक भाषा र ब्यवहारमा समेत हाम्रो प्रहरी प्रशासन कमजोर छ । प्रहरीबाटै सुरक्षित नभइने हो कि ? यस्तो अवस्था छ । यौनजन्य चरित्रमा प्रहरी प्रशासनले बिश्वाँस जगाउन नितान्त आवश्यक छ । उनीहरुको आपसमा बोलिने बोली सुन्ने हो भने लाजको मर्नु हुन्छ । लाग्छ एउटा सज्जन मान्छे एक हप्ता प्रहरीको संगतमा पर्ने हो भने त्यो मान्छे पनि उस्तै बन्दछ । उनीहरुको औसत बैवाहिक जीवन पनि धेरैको त्यस्तै हो कि भन्ने लाग्दछ । जुन निकायले त्यस्ता अपराध नियन्त्रण गर्नु पर्ने हो उसैको चरित्र शंकास्पद भयो भने के हुन्छ ? प्रहरी प्रशासनले यो कुरो मनन गर्नु जरुरी छ ।
स्कूल–कलेजले यसबारेमा कत्तिको कुरो बुझेको छ ? आम बिद्यार्थीलाई कत्तिको यौन शिक्षा दिन सकेको छ ? समीक्षा गर्नु जरुरी छ । ब्यवहारमा बुझेजस्तो लाग्दैन । किशोर–किशोरीको एउटा जमात त्यता फसेको छ छैन ? त्य बाहेक समाजसेवा गर्ने तथा खास गरेर राजनीति गर्नेहरु उनीहरु नै कतै न कतै फसेको पाइयो भने नियन्त्रण गर्न सजिलो हुँदैन । समाचार सुन्दा र पढ्दा नेताहरु पनि संयम भएको पाइन्न बरु फलानो नेता त कस्तो रसिक रहेछन् भनेको सुनिन्छ । के हो रसिक भनेको ? यौनजन्य रमाइलो गर्नेलाई रसिक भन्ने गरेको पाइन्छ । यी सबै कुराको मनन गर्दै समाज तथा सरकार संयम एवं चरित्रवान–चरित्रमति हुन नितान्त जरुरी छ । शिक्षा साँच्चै शिक्षामूलक हुन जरुरी छ । पहिले रमिता हेर्ने र दुर्घटना भएपछि हल्ला गर्ने खालको हाम्रो समाज पनि सुध्रनु जरुरी छ । नरमाइलो कुरो त मान्छेले उसमा भएको कमजोरीको समीक्षा गर्दैन, उसले गरेको अपराध कसैले थाहा पाएको छैन क्यार…भनेर मख्ख पर्छ र अरुको समान्य घटनामा आगो सल्काउँछ । उसले गरेको अपराध त उसैले देखेको छ । यौन अपराधमा त कम्तिमा दुई जनाले देखेका हुन्छन् । यस्तो कुरो कसरी गोप्य हुन्छ ?
र यस बारेमा आम चेतना जगाउनु नै समाधान हो । संयम हुनु नै समाधान हो । एउटा अपराधीलाई कार्बाही हुँदा एकलाख भन्दा बढी जनताले शिक्षा लिनु पर्दछ । सरकार, संस्कार तथा धार्मिक संगठन यस बिषयमा सजग हुनु जरुरी छ । धार्मिक संगठनले भजन गाउने र तरुनी नचाउने मात्र गर्ने हो भने यौन अपराध त्यहीँ झन बढी हुन सक्छ । भएको पनि पाइएको छ ।