विजयपुर । बराहक्षेत्र नगरपालिकाले चतरा मूल नहर क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा संरचना निर्माण गर्ने कार्य तत्काल रोक्न सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै नहरको डिल र आसपासको जग्गामा भइरहेको अवैध उपभोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सुनसरी मोरङ सिँचाइ आयोजनाको पत्रलाई उद्धृत गर्दै नगरपालिकाले जनाए अनुसार, सुनसरी जिल्लाको झुम्कादेखि माथिल्लो भागसम्म रहेको चतरा मूल नहरको कमाण्ड क्षेत्रभित्र विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले आयोजनाको अनुमति बिना नै नहरको डिल खनजोत गर्ने, अवैध रूपमा घरटहरा निर्माण गर्ने,

सरकारी जग्गालाई निजी स्वार्थका लागि प्रयोग गर्ने क्रम बढ्दो छ ।

यसरी अनधिकृत रूपमा संरचना निर्माण हुँदा नहरमा पानी सञ्चालनका लागि गरिने पानी मापन, नियमित निरीक्षण, रेखदेख र मर्मत सम्भारका कामहरू गर्न निकै कठिनाइ भएको सूचनामा उल्लेख छ। नहर प्रणालीलाई सुरक्षित राख्न र सिँचाइ सेवालाई निरन्तरता दिन यस्ता अतिक्रमण बाधक बनेको बताइएको छ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ:

"चतरा मूल नहर प्रणालीलाई संरक्षण गर्न र अतिक्रमण रोक्नका लागि नहरको जग्गा अन्य प्रयोजनका लागि प्रयोग नगर्नु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।"

नगरपालिकाले यो सूचनालाई बेवास्ता गरी सरकारी जग्गा मिच्ने कार्य जारी राखेमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने संकेत समेत गरेको छ।