विराटनगर । ‘विराट गोल्डकप’ को दशौं संस्करण आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । यस वर्षको प्रतियोगिता विराट गोल्डकप फुटबल ट्रष्ट आफैंले आयोजना गर्ने भएको हो ।
विगतका केही संस्करणमा ट्रष्टले उद्योगी–व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यसपटक भने आफैं सक्रिय हुन लागेको हो । ट्रष्टका प्रवक्ता धनकुमार लामाका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्रतियोगिताको मिति सुनिश्चित भइसकेको छ ।
“यस वर्ष ट्रष्टले नै आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको छ” प्रवक्ता लामाले भने, “प्रतियोगिताका लागि भारतका प्रतिष्ठित टोलीसहित स्वदेशका ए डिभिजनका गरी १० टिमको सहभागिता रहनेछ ।”
उनका अनुसार भारतको कोलकाताबाट आउने टिमको सहभागिता निश्चित भइसकेको छ । गत वर्ष सम्पन्न नवौँ संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको थियो ।
गत वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए । यस वर्षको पुरस्कार राशि भने आगामी बैठकले तय गर्ने प्रवक्ता लामाले जानकारी दिए ।
ऐतिहासिक पृष्ठभूमि र उतारचढाव
वि.सं. २०१८ सालदेखि ‘महेन्द्र गोल्डकप’ को नामबाट विराटनगरको सहिद मैदानमा सुरु भएको यो प्रतियोगिता २०६८ सालदेखि ‘विराट गोल्डकप’ मा रूपान्तरण भएको हो ।
ट्रष्टका तत्कालीन अध्यक्ष भीमबहादुर कुँवरले सुरुवाती दुई संस्करण आयोजना गर्दा आर्थिक घाटा ब्यहोर्नुपरेपछि २०७१ सालदेखि निजी क्षेत्रलाई आयोजनाको जिम्मा दिन थालिएको थियो ।
२०७१ र २०७२ सालमा उद्योगी राजेन्द्र राउतको संयोजनमा भएको गोल्डकपले आर्थिक मुनाफा आर्जन गर्न सफल भएको थियो । तर, २०७३ सालमा आन्तरिक खिचातानीका कारण प्रतियोगिता हुन सकेन । २०७४ सालमा उद्योगी नवीन रिजालले संयोजकको जिम्मेवारी सम्हालेपछि गोल्डकपको स्वरूपमा ठूलो परिवर्तन आयो ।
रिजालकै नेतृत्वमा मोफसलमै पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन फुटबल (फ्लडलाइट म्याच) सुरु गरिएको थियो । उक्त संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँ बचत भएको थियो ।
त्यसपछि २०७७/७८ सालमा कोभिड महामारीको चुनौतीबीच उद्योगी मनोजविक्रम शाहले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएका थिए । २०७९ सालमा विराटनगर महानगरपालिकाले अभिभावकत्व लिँदै प्रतियोगिता आयोजना गर्दा गोल्डकपले ८७ लाख रुपैयाँभन्दा बढीको घाटा ब्यहोर्नुपरेको थियो ।
सातौँ संस्करणमा वर्तमान अध्यक्ष किशोरबहादुर शाहीको नेतृत्वमा भएको प्रतियोगिताले पनि करिब २२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । यद्यपि, यसपटक विगतका कमीकमजोरी सुधार्दै ट्रष्ट आफैंले ऐतिहासिक गरिमा जोगाउन तयारी थालेको अध्यक्ष शाहीले बताए ।
“विराट गोल्डकप विराटनगरको पहिचान र ऐतिहासिक धरोहर हो” अध्यक्ष शाहीले भने, “यसलाई भव्य र सफल बनाउन ट्रष्टले नै सक्रियता देखाएको छ, यसमा सबै पक्षको सहयोग आवश्यक छ ।”
































