विजयपुर ।सुनसरी क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) को पार्टी श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ खोटाङ र भोजपुरसहित ३ स्थानमा जित निकालेको छ ।
समानुपातिक मत परिणामअनुसार पार्टीले थ्रेसहोल्ड पूरा गरी राष्ट्रिय पार्टीमा दर्ता भएको छ । उसले समानुपातिकतर्फ ४ सिट प्राप्त गर्ने निश्चित भएको छ । समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले ३.५७ प्रतिशत मत अर्थात् ३ लाख ८५ हजार ७ सय ९२ मत प्राप्त गरेको छ । हर्क साम्पाङले समानुपातिकतर्फ ककसलाई संसदमा पठाउलान् ? चासोको विषय बनेको छ । उनले धरानमा आयोजित सभालाई सम्बोधन गर्दै समानुपातिकतर्फ न्यायोचित निर्णय गरिने बताएका छन् । उनले समानुपातिकमा समावेशिताको सिद्धान्तलाई आत्मसात गर्दै आफ्नो–अर्काको नजिकको टाढाको नभनी समदूरीको मान्यता अनुसार प्रतिनिधित्व गराउने बताएका छन् ।
पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा मकवानपुरकी मन्दिरा मुक्तानको नाम उल्लेख छ । आदिवासी जनजाति पुरुषमा सङ्खुवासभाबाट पूर्णप्रसाद लिम्बूको नाम छ । खसआर्य महिलामा झापाबाट अम्बिकादेवी सङ्ग्रौला रहेकी छन् । खस आर्य पुरुषबाट पहिलो नम्बरमा मोरङका जीवन विष्टको नाम छ । दलित महिलाबाट सुर्खेतकी राधिका रम्तेल, दलित पुरुषबाट बागलुङका गोविन्द थापा, थारु पुरुषबाट बाराका श्यामसुन्दर चौधरी, थारु महिलाबाट कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलाबाट महोत्तरीकी सफिना खातुन, मुस्लिम पुरुषबाट महोत्तरीकै मइनुदिन कवारी, मधेसी पुरुषमा धनुषाका दीपजङ्ग ठाकुर र मधेसी महिलाबाट सर्लाहीकी रेणुदेवीको नाम पहिलो नम्बर मा छ ।
तर श्रम संस्कृति पार्टीले मत परिणामअनुसार समानुपातिकमा ४ सिटमात्र पाउने छ ।
राजनीतिक दलहरूले बन्दसूचीमा पठाएका नामहरू विभिन्न क्लस्टरको दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ को सिरियल नम्बरबाट नै निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । श्रम संस्कृति पार्टीबाट प्रत्यक्ष निर्वाचित ३ सिटमा सुनसरी–१ बाट अध्यक्ष साम्पाङ, भोजपुरबाट ध्रुव राई र खोटाङबाट आरेन राई छन् । क्लस्टरको हिसाबले निर्वाचित सबै आदिवासी जनजाति पुरुष क्लस्टरमा समेटिन्छ्न् । पार्टीको कुल ७ जनाको प्रतिनिधित्वमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन आवश्यक छ । २ जनामात्र प्रतिनिधित्व गराउँदा ३३ प्रतिशत नपुग्ने भएकाले ३ जना महिलाको प्रतिनिधित्व अनिवार्य छ ।
पार्टीले खसआर्य, दलित, आदिवासी जनजाति, मधेसी, थारु र मुस्लिम क्लस्टरबाट ३ जना महिलाको नाम पठाउनुपर्ने हुन्छ । ५ क्लस्टरमा ४ जनाको नाम पठाउँँदा ३ महिला अनिवार्य छन् । प्राथमिकताका आधारमा पार्टीले खसआर्यबाट १ जना महिला, दलित क्लस्टरबाट १ महिला र मधेसी÷ थारु वा मुस्लिमबाट समेत १ महिला प्रतिनिधित्व गराउनु पर्ने हुन्छ । बाँकी १ जना समानुपातिक सूचीको पहिलो नम्बरबाट प्रतिनिधित्व गराउनु पर्ने हुन्छ । श्रम संस्कृति पार्टीबाट यी हुन सक्छन् सिफारिस !
– पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा मकवानपुरकी मन्दिरा मुक्तानको नाम उल्लेख छ । – खसआर्य महिलामा झापाबाट अम्बिकादेवी सङ्ग्रौला रहेकी छन् । – दलित महिलाबाट सुर्खेतकी राधिका रम्तेल÷ थारु महिलाबाट कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलाबाट महोत्तरीकी सफिना खातुन÷ मधेसी महिलाबाट सर्लाहीकी रेणुदेवीको नाम पहिलो नम्बर मा छ । श्रम संस्कृति पार्टीले यी मध्ये १ को नाम सिफारिस गर्ने छ । – यस्तै, खस आर्य पुरुषबाट पहिलो नम्बरमा मोरङका जीवन विष्टको नाम छ । दलित पुरुषबाट बागलुङका गोविन्द थापा, थारु पुरुषबाट बाराका श्यामसुन्दर चौधरी÷ मुस्लिम पुरुषबाट महोत्तरीकै मइनुदिन कवारी र मधेसी पुरुषमा धनुषाका दीपजङ्ग ठाकुरको नाम पहिलो नम्बरमा छ । यी नामबाटै पार्टीले समानुपातिक प्रतिनिधित्व गराउन सक्छ ।
































