विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुराना दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिकको परिणाम ल्याएको छ । उम्मेदवारहरूले ठूलो मतान्तरले चुनाव जित्नेदेखि एक सयभन्दा कम मत, ५० मतभन्दा कम हुँदै शून्य मत हुनेहरू पनि उत्तिकै चर्चामा छन् । आफैले आफैलाई भोट नहाल्ने उम्मेदवारहरू पनि भेटिएका छन् ।
प्रतिनिधिसभा सदस्य बन्ने महत्वाकाङ्क्षा बोकेर चुनावी मैदानमा होमिएका देशभरका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १४ जनाले एक मत पनि प्राप्त गर्न सकेनन् । आश्चर्यजनक पक्ष त के छ भने यी उम्मेदवारले आफ्नै मतसमेत आफूलाई दिएनन् । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी बुझाएका यी उम्मेदवारहरूका लागि यो नतिजा निकै खल्लो सावित भएको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ७ जना उम्मेदवारले शून्य मत पाएका छन् । त्यस्तै मधेश प्रदेशमा ४ र बागमती प्रदेशमा ३ जना उम्मेदवारले एक मत पनि पाउन सकेनन् ।
मधेश प्रदेशको धनुषा ३ मा अनौठो दृश्य देखियो । त्यहाँ कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमध्ये तीन जनाले शून्य मत पाए । ‘टेबल’ चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार कृष्णकुमार साह, मातृकाप्रसाद दास र ‘रिक्सा’ चुनाव चिह्न लिएकी सीतादेवी साहको बाकसमा एउटै पनि मत खसेन । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा ४३ हजार ९ सय ८८ मतसहित निर्वाचित भए ।
यस्तै रौतहट ४ मा ३६ जना उम्मेदवारमध्ये कुसुम खातुनले शून्य मत पाइन् । यस क्षेत्रमा रास्वपाका गणेश पौडेल ३६ हजार ८ सय ७६ मत ल्याएर विजयी भएका छन् ।
बागमती प्रदेशको धादिङ १ मा २३ जना प्रतिस्पर्धीमध्ये स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद अधिकारीले ‘क्याल्कुलेटर’ चिन्ह पाएका थिए, तर उनले शून्य मतमै चित्त बुझाउनु प¥यो । यस क्षेत्रमा रास्वपाकी आशिका तामाङ ३९ हजार १ सय २८ मत ल्याएर विजयी भइन् ।
राजधानी काठमाडौँ १ मा पनि यस्तै देखियो । २९ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा ‘जुत्ता’ चुनाव चिह्न लिएका अर्जुनबहादुर शाहीले एक मत पनि पाएनन् । यहाँ रास्वपाकी रन्जु न्यौपाने १५ हजार ४ सय ५५ मतका साथ विजयी भइन् । त्यसैगरी भक्तपुर १ मा देवेन्द्र सिंहले १ मत ल्याए । यो निर्वाचन क्षेत्रबाट रास्वपाका बुद्धरत्न महर्जन विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उम्मेदवारले ‘निल’ खाएका छन् । गुल्मी १ मा २३ जना उम्मेदवारमध्ये स्वतन्त्र उम्मेदवारद्वय प्रेमप्रसाद श्रेष्ठ र विमल ज्ञवालीले शून्य मत पाए । त्यहाँ रास्वपाका सागर ढकाल २९ हजार ६ सय २४ मत ल्याएर विजयी भए ।
रूपन्देही २ मा त झन् ५ जना उम्मेदवारले शून्य मत पाएका छन् । स्वतन्त्र उम्मेदवारहरू टिकाबहादुर क्षेत्री, दिलीपकुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णुप्रसाद बस्यालले एक मत पनि पाउन सकेनन् । ३९ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा रास्वपाका सुलभ खरेल ५६ हजार ५ सय ५० मतका साथ भारी मतले विजयी भए ।





























