विजयपुर । सुनसरी क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार महेश श्रेष्ठले एकै रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेका छन् ।
सामाजिक संजालमा खर्च विवरण सार्वजनिक गरेका उम्मेदवार श्रेष्ठले आफ्नो व्यक्तिगत खर्च नभएको स्पष्ट पारेका छन् ।
फेसबुकमा उनले लेखेका छन्– ‘सम्पूर्ण खर्च नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समितिले व्यहोरेको कारण मबाट आमदानी र खर्चको हरहिसाब शून्य रहेको सार्वजनिक रुपमा जिल्ला निर्वाचन कार्यालय सुनसरी समेतलाई जानकारी गराउँदछु ।’
उम्मेदवार श्रेष्ठले गरेको सम्पूर्ण खर्चको विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेको उल्लेख गर्दै पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले रसिदमार्फत सहयोग उठाएको उल्लेख गरेका छन् ।
उनले घोषणापत्र र अन्य प्रचार सामग्री पार्टी निर्वाचन परिचालन समितिबाट प्राप्त भएकोले व्यक्तिगत रुपमा खर्च नभएको बताएका छन् ।
नेमकिपाको मादल चुनाव चिह्नबाट उम्मेदवार रहेका उनले ६३ मत प्राप्त गरेको आयोगको वेबसाइटमा उल्लेख छ ।
































