विजयपुर । सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दुहबी नगरपालिका वडा नं. ९ र धरान १३ बाट चेकजाँचमा लागुऔषधसहित पक्राउ गरेको हो । बिहीबार धरान १३ बाट ३० किलोग्राम गाँजासहित २० वर्षीय सन्दिप राई पक्राउ परेका हुन् । राई संखुवासभा सिलिचोङ गाउँपालिका ४ का हुन् । प्रहरीका अनुसार, कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली, इलाका प्रहरी कार्यालय धरान, र अस्थायी प्रहरी चौकी अमरहाटको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार दुहबी ९ बाट ५४ वर्षीय लाल थारु र ३३ वर्षीय महमत अवजल पक्राउ परेका हुन् । प्रहरीले उनीहरूबाट ५ हजार क्याप्सुल ट्रामाडोल र ६ हजार ४०० ट्याब्लेट स्पास्पेन बरामद गरेको छ । उनीहरूको को ५ प ८०९७ र को ११ प २९०१ नम्बरका मोटरसाइकल पनि प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको बताइएको छ ।
































