• राजेन्द्र रिमाल

नेपाल तन्त्रमा आधारित देश हो । नेपालमा पाइने लगभग सबै रैथाने जातिको पर्व, परम्परा, रीतिरिवाज लगायत दैनन्दिन क्रियाकलापहरू नै तन्त्रमा आधारित छ । हामीले सम्बत्को रूपमा विक्रम सम्बत्लाई राजकीय सम्बत्को रूपमा मानेको देखिए पनि त्यो मिति गणनामा मात्र सीमित छ । किनभने हाम्रो प्रत्येक क्रियाकलाप मितिमा हैन, तिथिलाई आधार मानेर गरिन्छ । नेपाल सम्बत् वा अन्य सबै जनजातीय सम्बत्हरू चन्द्रमान अर्थात् चन्द्रमाको गतिअनुसार गणना गरिन्छ । हाम्रा सबै क्रियाकलापहरू चन्द्र र सूर्यको गतिमा आधारित तिथिबाट नै सञ्चालन हुन्छन् । 

नेपालका सबै जातिको संस्कारजन्य क्रियाकलापहरू तिथि बमोजिम नै सञ्चालन हुने गरेका छन् चाहे त्यो विक्रम सम्बत् वा नेपाल सम्बत् होस् वा येले दोङ, विभिन्न ल्होसारहरू, आदि सबै चन्द्रमामा आधारित सम्बत्बाटै निर्देशित छन् । अझ मुस्लिमहरूले मनाउने चाडबाड पनि चन्द्रमामा आधारित क्यालेण्डरमा निर्धारित हुन्छ । यसको आधारमा भन्न सकिन्छ, नेपाल चन्द्रमान आधारित देश हो । त्यसैले नेपालमा विभिन्न समयमा राज गर्ने यहाँका राजाहरुले आफूलाई चन्द्रवंशी भन्ने गरेका होलान् । 

प्राचीनकालदेखि नै देशमा समस्या आइपर्दा तान्त्रिक विधिद्वारा समस्या समाधान गर्ने परम्परा हामीले देख्दै आएका हौं । आज पनि भिमेश्वरको पसिना आउँदा वा उग्रचण्डीलाई पसिना आउँदा वा कुमारीको खट लड्दा भएका राष्ट्रिय विपत्तिहरू संयोग मात्र हैनन् । गोपाल राजवंशावलीका अनुसार राजा नरेन्द्रदेवको पालामा नेपाल (तत्कालीन  नेपालमण्डल) मा १२ वर्षसम्म पानी नपरेर हाहाकार मच्चिएको अवस्थामा त्यसबेला कर्माचार्यहरूका पुर्खा प्रख्यात तान्त्रिक गुरु बन्धुदत्त आचाजूले भारतको कामरु कामाक्षा (आसाम) बाट मत्स्येन्द्रनाथलाई तान्त्रिक विधिबाट नेपालमा ल्याई पानी पारेको किम्वदन्ती छ । आजपर्यन्त मत्स्येन्द्रनाथलाई सहकालका देउताका रूपमा पुज्ने संसारकै पुरानो परम्पराका रूपमा अस्तित्वमा रहेको छ । 

त्यो बेला आचा वा आचाजू वा कर्माचार्यहरू तन्त्रविधामा सिद्धि प्राप्त गरेका तान्त्रिकका रूपमा विख्यात थिए । यो आलेखमा तिनै कर्माचार्यहरूको बारेमा केही लेख्ने जमर्को गरिएको छ । कर्माचार्य नेवार समुदायको माथिल्लो वर्गको सुसंस्कृत र सम्मानित थर हो । कर्मको आचार्यका रूपमा यिनलाई सुरुदेखि नै मानिआएको पाइन्छ । कर्माचार्यहरू लिच्छवीकालभन्दा अघिदेखि नै इतिहासमा अत्यन्तै महŒवपूर्ण र समृद्धशाली जातिको रूपमा स्थापित रहेका थिए । यिनीहरू तान्त्रिक परम्पराका अनुयायी सिद्ध साधक थिए । नेपालमा बज्रयानी तान्त्रिकको प्रवेश हुनुअघि नै यिनीहरूको तन्त्रसाधना विख्यात भइसकेको थियो । 

लिच्छवीकालमै कर्माचार्यहरू अधिकांश देवदेवीको मन्दिरमा पुजारीका रूपमा प्रतिस्थापित भएका थिए । देशका मुख्य शक्ति पीठहरू तलेजु, गुह्येश्वरी, जयवागेश्वरी, भूवनेश्वरी, वनकाली, वगलामुखी, उग्रचण्डी, नाला भगवती, आदि मन्दिरहरूमा आज पनि कर्माचार्यहरू नै पुजारी रहेका छन् । अर्थात् ती सबै मन्दिरहरूमा सिद्ध तान्त्रिकहरू नै चाहिने भएकोले कर्माचार्यहरू अनिवार्य भएका हुन् । 

तर आज पुस्तान्तरण हुँदै जाँदा कर्माचार्यहरूले त्यो वैभवशाली विगतलाई बिर्संदै र छाड्दै गएको पाइन्छ । आजका अधिकांश कर्माचार्यहरूलाई न त्यो इतिहास थाहा छ, न त्यसप्रति रुचि छ, न त त्यसमा गौरवबोध नै छ । अझ धेरै कर्माचार्यहरूले आफ्नो थर नै लेख्न छाडेर श्रेष्ठ मात्र लेख्न थालेको अवस्था पनि छ । त्यसले कर्माचार्य मात्र हैन, सिङ्गो नेपालको कठोर साधनायुक्त तन्त्र विज्ञान नै लोप हुने अवस्थामा छ । 

कर्माचार्यहरूले आफ्नो थर नै लेख्न छाड्नुको केही संवेदनशील कारण पनि छ । लेखक जगदीश घिमिरेले आफ्नो पुस्तक सकस मा यसबारेमा उल्लेख गरेका छन् । उनले राजा रणबहादुर शाहका पालाको सन्दर्भ उल्लेख गरेका छन् । नेपालका विभिन्न समयका राजाहरू स्वयम् तन्त्र साधना गर्दथे । राजा प्रताप मल्ल तन्त्र साधना गर्दथे भने राजा जयस्थिति मल्ल साक्षात् तलेजु भगवतीसँग साक्षात्कार गर्दथे भन्ने किम्वदन्ती छ । त्यस्तै रणबहादुर शाह पनि तन्त्र साधना गर्दथे । उनीहरूलाई तन्त्र सिकाउने भनेका कर्माचार्यहरू नै थिए । रणबहादुर शाह शासन सत्ता तथा पारिवारिक कलह र दरबारिया षड्यन्त्रका कारण मानसिक रूपमा विचलित भएका थिए । त्यसबेला दरबारका भारदारहरूले उनलाई मानसिक रोग हुनुमा अपूर्ण तन्त्र साधनाका कारण हो भन्ने निष्कर्ष निकाले र यसमा कर्माचार्यहरूलाई दोषी ठह¥याए । अनि सबै कर्माचार्यहरूलाई दण्डित गर्न उर्दी जारी गरे । कतिपय कर्माचार्यहरूलाई कठोर दण्ड दिइयो भने त्यो बेला दरबारिया कोपभाजनबाट बच्न रातारात भागेर देशका विभिन्न ठाउँहरूमा विस्थापित भए । माथि उल्लेख गरिएका कर्माचार्यहरूले आफ्नो थर नलेखेर श्रेष्ठ मात्र लेख्नुको एउटा महŒवपूर्ण कारण दरबारिया भारदारहरूसँग बच्न पनि थियो । 

कतिपय कर्माचार्यहरूले आफूहरूले आफ्नो थातथलो छाडेर हिँड्नुमा परम्परा, गुठीलगायतका कारण आर्थिक बोझ थेग्न नसकेर हो पनि भन्ने गरेका छन् । तर त्यो तर्कमा त्यत्ति बल पुग्दैन किनभने उबेला कर्माचार्यहरू दरबारसँग सोझै सम्पर्कमा भएका राजाहरूका पनि गुरुका रूपमा रहेको हुनाले आर्थिक बोझको कारण हुन नपर्ने हो । बरु राजनीतिक कारणले नै कर्माचार्यहरू गुमनामीमा बस्न बाध्य भएको प्रष्ट हुन्छ । धरानका कर्माचार्यहरू पनि अघिल्लो पुस्तासम्म कर्माचार्यभन्दा पनि श्रेष्ठ वा नालामी मात्र लेखेबाट त्यस कुरालाई पुष्टि गर्दछ । त्यसैगरी काठमाडौं बाहिरका कर्माचार्यहरू अधिकांशले नेवारी भाषा बोल्दैनन्, त्यसो हुनुमा पनि त्यही राजनीतिक कारण नै बाधक बनेको बुझ्न सकिन्छ । 

राजनीतिक कारणबाहेक प्रायः नेवारहरू व्यापारिक बजारको खोजीमा देशका विभिन्न ठाउँहरूमा फैलिँदै गएको पनि पाइन्छ । आज देशका मुख्य बजारहरूमा नेवारहरूको बाहुल्य हुनु त्यसैको कारण हो । 

कर्माचार्यहरू आफूलाई नागको सन्तान भएको पनि भन्दछन् । यो कुरा चाहिँ उनीहरूको पुर्खादेखि भनिदै आएको कुरा हो । उनीहरूले आफ्ना सन्तानहरूलाई यो कुरा श्रुति परम्पराका रूपमा जीवित राख्दै आएका छन् । इतिहास अन्वेषण गरी लेख्ने लेखक भगिराज चाम्लिङका अनुसार काठमाडौं उपत्यकामा पहिला कर्कोटक नागको बास थियो र यहाँका बासिन्दा त्यही कर्कोटक नागको सन्तान हुन् भनेर कान्तिपुरमा आलेख नै लेखेका थिए । त्यसको आधारमा पनि कर्माचार्यहरूले आफूलाई नागको सन्तान भन्नुमा बल प्रदान गर्दछ । 

नाग र कर्माचार्यको सम्बन्धमा एउटा किम्वदन्ती उल्लेख गर्न मन लाग्यो – कुनैबेला एकजना तन्त्रसाधनामा पोख्त कर्माचार्यको विवाह भएछ । विवाह भएको केही दिनपछि नवविवाहित दुलहीलाई उनले आफू तन्त्र साधनामा सिद्ध भएको कुरा सुनाउँदै कुनै पनि रूपमा परिवर्तन हुनसक्ने शक्ति आफूमा भएको बताएछन् । त्यसपछि कौतुहलतावश ती नवदुलहीले रूप परिवर्तन गरी देखाउन ढिपी गरिछन् । सुरुमा त उनले मानेनछन् तर नवविवाहिताको ढिपीका अगाडि उनको केही नलागेपछि उनी नवदुलहीलाई आफ्नो शक्ति प्रयोग गरी स्वरूप परिवर्तन गरी देखाउन बाध्य भएछन् । 

त्यसपछि उनले तिनलाई राम्रोसँग सम्झाउँदै हातमा अक्षता दिँदै भनेछन् – ‘हेर, म मन्त्र पढेर मेरो रूप परिवर्तन गर्छु, तर मेरो रूप देखेर तिमी नडराउनू । तिमीले मेरो रूप हेरिसकेपछि यो अक्षता ममाथि छर्किदिनू, म पुरानै स्वरूपमा फर्किनेछु ।’ यति भनेर उनी मन्त्र पढ्न थालेछन् । मन्त्र पढ्दापढ्दै उनको स्वरूप परिवर्तन हुन थालेछ र एकछिनमा शरीरभरि आँखैआँखा भएको अजङ्गको नागको स्वरूपमा प्रकट भएछन् । त्यो देखेर नवदुलही डराएर भागिछन् । अत्तालिएर भाग्दा हातको अक्षता कता पुग्यो, होसहवास कता पुग्यो पत्तै भएन । यता नाग भएका दुलहा अक्षता छर्किमाग्न पछिपछि आउँथे, उता दुलही भने आफूलाई डस्न आयो भन्ने लागेर झन्–झन् भाग्दिरहिछन् । आखिरमा ती नागरूपी दुलहा नागकै रूपमा शिलामा पल्टिए अर्थात् ढुङ्गा भएछन् । 

कर्माचार्यहरूमा श्रुति परम्परामा रहेको यो किम्वदन्तीको नागको शिला आजसम्म नाला बनेपामा देख्न पाइन्छ । यस्ता धेरै कथाहरू काठमाडौं वरिपरि सुन्न पाइन्छ । तर विभिन्न कारणहरूले आज कर्माचार्यहरूमा नितान्त निजी परम्पराहरूबाट विमुख हुँदै गएको पनि देख्न पाइन्छ । संस्कृति निर्माण हुन सयौं वर्ष लाग्छ, यो सितिमिति कुरा हैन । त्यसैले हाम्रो मौलिक परम्परालाई जोगाउनु हामी सबैको कर्तव्य हो भन्ने सबैले बोध गरे हाम्रो संस्कृतिलाई कसैले प्रभावित गर्न सक्ने छैन ।