विजयपुर । धरान २० बाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार धरान २० विष्णुपादुका पुल नजिक प्रहरीले चेकजाँचका क्रममा १७ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५४ प. ०९४४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलमा बोराभित्र लुकाई ल्याइएको अवस्थामा गाँजा फेला परेको हो । मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय शिखर राई र पछाडि सवार सोही स्थानका १९ वर्षीय विश्व राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाँजा, मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
































