वराहक्षेत्रमा किरात लिपि भाषासम्बन्धी एक दिने विचार गोष्ठी आयोजना गरिएको छ । बहुभाषिक पत्रिका 'चासो संचार' को आयोजनामा वराहक्षेत्र- ३ स्थित टेकानेकुञ्जमा आयोजित गोष्ठीमा वक्ताहरूले तीनैतहका सरकार स्थानीय मातृभाषामा पाठ्यक्रम निर्माण गरी  कार्यान्वयन गर्न उदासीन रहेको बताइएको छ ।

गोष्ठीमा स्थानीय सरकारले आदिवासी जनजातिको भाषा, धर्म, लिपिको संरक्षणको नीति निर्माण गर्न चासो नदेखाएको साथै समुदायले समेत स्थानीय सरकारको ध्यानाकर्षण गराउन ठोस अभियान चलाउन नसकेको बताइएको छ । प्रमुख अतिथि पुँवार खड्का वंश उत्थान समितिका केन्द्रीय सल्लाहकार योग्यराज खड्काले स्थानीय आदिवासी जनजातिका भाषामा पाठ्यक्रम निर्माण गर्न सरकारले चासो देखाउनु पर्ने बताए । उनले आदिवासी समुदायलाई समेत आफ्ना मौलिक भाषा, धर्म, रीतिरिवाजलगायत गाथासमेटेर पाठ्यक्रम निर्माण गर्न सुझाव दिए ।

गोष्ठीमा विचार व्यक्त गर्दै विशिष्ट अतिथि किरात धर्म सङ्घ नेपालका मुन्धुम परिषद संयोजक इन्द्रहाङ खम्बूले मुन्धुम निर्देशित संस्कार, संस्कृति र आन्दोलन अघि बढाउनुपर्ने विचार राखे । उनले प्रदेशको नामकरणको आवाज उठाउँदा 'किरात' र 'कोशी' नभएर मुन्धुम वर्णित मुद्दा उठाउनु समुदायका लागि उचित हुने विचार राखे । उनले 'सत्ता' भन्दा पनि 'एकता' मा जोड दिन आदिवासी जनजाति समुदायलाई आग्रह गरे । 'माओत्सेतुङले भनेजस्तो अन्तिम सत्य सत्ता नभएर एकता हो, एकता पछिमात्र सत्ता प्राप्त हुनेहुँदा एकताबिना जाति, भाषा, धर्म, सस्कार स्थापित हुन सक्दैन ।' खम्बूले भने ।

किरात लिपि भाषा पाठशालाकी सचिव कौशिला वनेमले स्थानीय सरकारमा आदिवासी जनजातिका लागि बोल्ने कोही नभएको बताइन् । उनले ढोल , झ्याम्टा र घण्टी बजाएरमात्र आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने बताइन् । उनले व्यङ्ग्य गर्दै भनिन्, 'कहाँ छ स्थानीय सरकार तिनको कानको जाली फुट्ने गरी ढोल झ्याम्टा बजाइदिऔं ।' अधिकार प्राप्त गर्न सम्बन्धित ठाउँमै जान उनले आग्रह गरिन् । १२ जातिको नृत्यस्थल निर्माण गर्न स्थानीय सरकार उदासीन भएको उनले आरोप लगाइन् ।

गोष्ठीमा किरात राई वन्तवाका भाषाविद, नरकुमार राई, विजयकुमार राई, चोमोलुङ्मा राई समाजका पदम राई, सल्लाहकार दुर्गा प्रसाद राई, वन्तवा भाषाका राष्ट्रिय कवि मित्रराज राई, याक्थुङ भाषाविद नरबहादुर लिम्बू, मिचोत्लुङ लिम्बू, सेभ द अर्थका प्रतिनिधि बलराम चौधरीलगायत भाषिक क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । आमन्त्रितलाई फेटा गुथाएर सम्मान गरिएको थियो ।

गोष्ठीमा १ सय भाषिक तथा धर्म, संस्कृति सम्बन्धि संस्थालाई आमन्त्रण गरिएको कार्यक्रमका सभाध्यक्ष तथा 'चासो संचार' का प्रकाशक तथा सम्पादक नवराज वन्तवाले जानकारी दिए ।