बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित गौरीखोला नजिकको धरान–चतरा पक्की सडक भत्किँदै गएपछि सवारी आवतजावतमा जोखिम बढेको छ ।

वर्षौंदेखि सडक मर्मत नहुँदा खाल्डो र कटान बढ्दै गएको स्थानीयले बताएका छन् । गौरिखोलाको शाखा खोल्सीमा रहेको उक्त सडक भाग करिब छ फिट चौडा क्षेत्रमा कटान भएर भत्किएको धेरै वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

स्थानीय माया राई भन्छिन, “खोल्सीको गहिराइ र चौडाइ हरेक वर्ष बढ्दै गएको छ । वडालाई पटक–पटक मर्मतको आग्रह गरेका छौँ, तर सुनुवाइै भएको छैन ।”

गएको वर्षात्मा खोल्सीमा जडान गरिएको ह्युमपाइप जाम भएर पानी ओभरफ्लो हुँदा उनको घरभित्रै पानी पसेको र रातभर त्रासमा भाग्नुपरेको अनुभव उनले सुनाइन् । 

“एकातिर सडक साँघुरो बनेको छ, अर्कातिर वर्षात् आउँदा घर बगाउने डर । वडाबाट अधिकारी र मिडिया आएका थिए, फोटो खिचेर मात्र गए”–उनले दुखेसो पोखिन् । 

वडा नम्बर १ का अध्यक्ष किशन थापा मगरका अनुसार खोल्सी क्षेत्रमा सडक भत्किएको र खोलाको पानी घरभित्र पस्ने गुनासो आएको बताए । तर बजेट अभावका कारण तत्काल स्थायी समाधान गर्न नसकिएको उनले बताए ।

उनका अनुसार सङ्घीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा वडाको लालबस्ती क्षेत्रमा तीन करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट लालबस्तीको ड्रेन, गैरिटोलको पक्की सडक र क्षतिग्रस्त खाल्सीमा कल्भर्ट निर्माण गर्ने योजना बनाइएको भए पनि काम सुरु हुन बाँकी भएको बताए । 

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, इटहरीका इन्जिनियर सञ्जय मेहताले तीन करोड रुपैयाँको बजेट यसै प्रयोजनका लागि छुट्याइएको र ठेक्का पनि लगाइएको जानकारी दिए ।

तर उनले भने, “जेन जी आन्दोलनपछि प्रोजेक्ट रोकिएको छ । हालसम्म मन्त्रालयबाट फुकुवा सम्बन्धी कुनै जानकारी नआएकाले काम अघि बढाउन सकिएको छैन ।”