नेपाल प्रहरीको ३३औँ आइजिपीका रुपमा दानबहादुर कार्कीको नियुक्तिले प्रहरी सङ्गठनमा नयाँ आशा र अपेक्षाको लहर ल्याएको छ । इमानदार, अनुशासित र नीतिप्रति प्रतिबद्ध अधिकारीको रुपमा चिनिएका कार्कीले अब देशकै सबैभन्दा ठूलो सुरक्षा निकायको नेतृत्व सम्हालेका छन् । नेपाल प्रहरीले पछिल्ला वर्षहरुमा भोगेका चुनौती, विवाद र सार्वजनिक आलोचनाबीच कार्कीको कार्यकाल संस्थागत विश्वास पुनस्र्थापनाको अवसरका रुपमा हेर्न सकिन्छ । नेपाल प्रहरीलाई अहिले पनि ‘राजनीतिक प्रभाव र आन्तरिक गुटबन्दी’ बाट मुक्त गराउनु ठूलो चुनौती हो । कार्कीले इमानदार छवि बनाइसके पनि प्रणालीगत पारदर्शिता र व्यावसायिकतामा सुधार ल्याउन नेतृत्वको इच्छाशक्ति अत्यावश्यक छ । बढुवादेखि सरूवासम्मका निर्णयहरु निष्पक्ष र मापदण्डमा आधारित हुन सके प्रहरीभित्रको मनोबल पुनर्जीवित हुने आशा गर्न सकिन्छ । सहरीकरण, बेरोजगारी र प्रविधिको दुरूपयोगसँगै साइबर अपराध, ठगी, लैङ्गिक हिंसा, चोरी तस्करी, आगूऔषध कारोबारहरु तीव्र गतिमा बढ्दै छन् । आईजीपी कार्कीले अपराध नियन्त्रणका साथै पीडितमैत्री अनुसन्धान प्रविधि विकासमा जोड दिनुपर्नेछ । नागरिकसँगको सम्बन्ध पुनर्निर्माण ‘प्रहरी जनताको साथी’ भन्ने नारालाई व्यवहारमा रुपान्तरण उनको पहिलो प्राथमिकता हुनुपर्दछ । नेपाल प्रहरीको विश्वसनीयता ह्रास हुनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहँदै आएको छ। कार्कीले कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी निष्ठा र व्यवसायिक इमान्दारिताको आधारमा निर्णय लिन सके प्रहरीको स्वायत्तता बलियो बन्न सक्छ । यो चुनौतीपूर्ण अवसर छ । विश्व प्रहरी प्रणाली तीव्र गतिमा प्रविधिमैत्री बन्दै गइरहेको बेला नेपाल प्रहरी अझै पनि कागजी प्रणालीमा निर्भर छ । कार्कीको नेतृत्वमा डिजिटल अभिलेख, अपराध डाटाबेस, र इ–सरकार प्रणालीको सुदृढीकरणले अनुसन्धान र सूचना व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउन सक्नेमा दुई मत छैन । यस विषयमा कार्कीको नेतृत्वले ध्यान पुर्याउनु जरूरी छ ।

प्रहरी बल प्रयोग, हिरासतमा दुव्र्यवहार र न्यायिक प्रक्रियामा ढिलासुस्तीका घटनाहरुले प्रहरीको छवि कमजोर बनाएका छन् । कार्कीले प्रहरी कार्यशैलीलाई मानव अधिकारमैत्री र समुदाय केन्द्रित बनाउन प्रशिक्षण, अनुगमन र उत्तरदायित्व प्रणालीलाई बलियो बनाउनु पर्ने हुन्छ । पूर्वी टिमोर र हाइटीमा तीनपटक शान्ति मिसनमा सहभागिता लिएका कार्कीको अन्तर्राष्ट्रिय अनुभवले नेपाल प्रहरीलाई विश्व प्रहरी समुदायसँगको सहकार्यमा नयाँ उचाइमा पु¥याउन सक्नेमा धेरैको अपेक्षा छ । शान्ति मिसनको क्षेत्रमा नेपालको योगदान थप प्रभावकारी बनाउन उनको भूमिका निर्णायक हुनेछ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले देशको राजनीतिक र सामाजिक संरचना मात्र होइन, सुरक्षा संयन्त्रको मनोबलमा पनि गहिरो असर पारेको छ । आन्दोलनका क्रममा प्रहरीलाई नागरिक आक्रोशको पहिलो निशाना बन्नु प¥यो, कतिपय ठाउँमा प्रत्यक्ष भिडन्त भयो, अनि त्यसपछि सङ्गठनभित्र गहिरो आत्मसमीक्षा र असन्तोष उत्पन्न भयो । आजको वास्तविकता यही हो–प्रहरीको मनोबल कमजोर छ र राज्यको प्रतिक्रिया असंवेदनशील । उनीहरुको मनोवैज्ञानिक अवस्था, कामप्रतिको मूल्याङ्कन र सुरक्षाकर्मीको सामाजिक सम्मानबारे सरकारले गम्भीर ध्यान दिएन र अहिले पनि दिइरहेको छैन । कार्कीले आफ्नो फोर्समा आत्मवल बढाउन र प्रहरीलाई अगाडिको अवस्थामा ल्याउन निकै चुनौती छ । आन्दोलन पछि नागरिकले प्रहरी माथि गर्ने व्यवहार र शैली अराजक बनेको छ । नागरिक–प्रहरी र सरकारबीचको दूरी घटाउनु कार्कीको पहिलो प्राथमिकता हुनु पर्दछ ।  

निश्चय नै राज्यले आन्दोलनपछि प्रहरीको मनोबल पुनःस्थापनाका लागि कुनै नीतिगत पहल गरेको देखिँदैन । न त सरूवा, बढुवा प्रणालीमा पारदर्शिता बढाइयो न त प्रहरीभित्रको प्रेरणा जगाउने कार्यक्रम ल्याइयो । बरू राजनीतिक निर्णयमा आधारित सरूवाले सङ्गठनभित्र असन्तोष थपिएको छ । नव–नियुक्त आईजीपी दानबहादुर कार्कीका लागि यो परिस्थिति पहिलो र गम्भीर परीक्षा हो । उनलाई सङ्गठनभित्रको मनोबल पुनःउत्थानका लागि तत्काल कदम चाल्न जरूरी छ । प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको आत्मविश्वास जगाउने आन्तरिक संवाद र प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्नु वाञ्छनीय हुनेछ । जेन जी आन्दोलनपछि उत्पन्न मनोबल ह्रासलाई बेवास्ता गर्नु राष्ट्रकै सुरक्षालाई कमजोर पार्नु हो । प्रहरी संस्थाको बलियो आत्मविश्वास विना शान्ति र स्थायित्व कल्पना गर्न सकिँदैन । यसर्थ सरकारले प्रहरीलाई दोष होइन, समर्थन र सशक्तीकरणको भावना उजागार गरिनु पर्दछ । प्रहरीलाई केवल आदेश पालन गर्ने निकाय होइन, जनताको विश्वास र न्यायको प्रतीक बनाउने दिशामा निर्णायक कदम आाईजीपी कार्की र सरकार दुवैको जिम्मेवारी हो । नेपालको शान्ति सुरक्षाको मेरूदण्ड पुनः सुदृढ पार्ने यो नै उपयुक्त समय हो। चुनौतीहरु असरल्ल छन् तर ती चुनौतीलाई आइजीपी कार्कीले अवसरको रुपमा बदल्न सक्नु पर्दछ । यो कार्कीका लागि ठूलो अग्नि परीक्षा पनि हो ।