विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खेल्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएको मङ्गलबार ३७ दिन पुगेको छ । उनको क्षतविक्षत शव जङ्गलमा फेला परेको पनि १९ दिन बितिसकेको छ । तर यो बीभत्स हत्या घटनामा प्रहरी हालसम्म कुनै ठोस प्रमाण नजिक पुग्न सकेको छैन । जसले गर्दा परिवारजनको पीडा चुलिएको छ भने समाज त्रसित बनेको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु त्यसपछि सम्पर्कविहीन भइन् । परिवार र आफन्तले उनको व्यापक खोजी गरे पनि कुनै पत्तो लागेन । हराएको १८ दिनपछि कात्तिक ७ गते घरबाट करिब साढे चार किलोमिटर टाढा बेलबारी–चिसाङ साझेदारी वनभित्र घाँस काट्न गएका स्थानीयले दुर्गन्ध आएको आधारमा खोजी गर्दा क्षतविक्षत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा टाउको र शरीर अलग भएको, कुहिएको र पहिचान गर्नसमेत मुस्किल अवस्थामा भेटिएको तत्कालीन अवस्थामा खटिएका प्रहरी अधिकारी बताउँछन् । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शवको पहिचान गरेका थिए ।
यो बीभत्स घटनाले लेटाङ स्तब्ध बनेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कट्वाल आफैँ घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व सम्हालेका थिए । प्रहरीले तत्कालै विशेष अनुसन्धान टोली गठन गरेको थियो । अनुसन्धानलाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष टोली र सङ्घीय प्रहरी एकाइ कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ । तर अनुसन्धान सुरु भएको तीन साता बित्न लाग्दा पनि घटनाको यथेष्ट प्रमाण फेला पार्न सकेको छैन जसले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
कहाँ पुग्यो अनुसन्धान ?
मोरङ प्रहरीले घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिएर सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको बताएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने विश्वास दिलाएका छन् । तर शव भेटिएको लामो समयसम्म पनि कुनै ठोस प्रमाण फेला नपर्नुले अनुसन्धान चुनौतीपूर्ण बनेको स्पष्ट छ । शव भेटिएको स्थान घना जङ्गल हुनु र शव कुहिएर प्रमाणहरू नष्ट हुन थाल्नुले अनुसन्धानलाई थप जटिल बनाएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार घटनाको प्राविधिक विश्लेषण भइरहेको छ र सबै कोणबाट अनुसन्धान जारी छ । “सबै एङ्गलबाट अनुसन्धान जारी छ । म स्वयम् अहिले फिल्डमा छु” उनले भनिन्, “हामीले सबै कोणबाट सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौँ । टेक्निकल अनुसन्धान गरिरहेका छौँ । विज्ञले दिएको रायअनुसार पनि अघि बढेका छौँ ।”
प्रहरीले घटनास्थलबाट सङ्कलित प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाएको छ । पोस्टमार्टम रिपोर्टमा पनि इन्जुर भएको र घटना दुई साताभित्र भएको उल्लेख छ । यद्यपि परिवार र स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले बलात्कार जस्तो संवेदनशील विषयमा प्रमाण जुटाउन प्रहरीलाई कठिनाइ भएको छ । डिएनए परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि मात्रै थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।
न्यायको पर्खाइमा परिवार
आफ्नी छोरीको बीभत्स हत्यामा संलग्न अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने अडानमा गौतम परिवार छ । “जबसम्म प्रहरीले दोषीलाई पक्राउ गर्दैन, हामी छोरीको शव बुझ्दैनौँ, दाहसंस्कार पनि गर्दैनौँ”–अंशुका बुबा नवीनले भने । हाल अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । “हाम्री छोरी त फर्किएर आउँदिनन् । तर जसले यो घटना गराएको हो, उसले सजाय पाउनुपर्छ । हामीलाई न्याय दिनुप¥यो” अंशुकीको ठूला बुबा दामोदर गौतमले भने । अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् ।
































