उदयपुर । उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागतरूपमा विश्वकर्मा (चँदरा) जातिले उत्पादन गर्दै आएका काठका ठेका, ठेकी, हर्पे, दूध दुहुने दुँधेरोलगायत हस्तकलाका सामग्री उत्पादन गर्ने पेसा लोप हुँदै गएको छ ।
मध्यपहाडी क्षेत्रको बाँसबोटे, तावाश्री, यारीखोला तथा पश्चिमी पहाडी क्षेत्रको रूपाटारसहित पूर्वी क्षेत्रको बबला, चौदण्डी क्षेत्रमा काठका सामग्री हिजोआज उत्पादन हुन छाडेका छन् । उदयपुरगढी गाउँपालिका तावाश्रीका ७७ वर्षीय हर्कराज विश्वकर्मा अहिलेको युवापुस्ताले हस्तकला सिक्नै नचाहेकाले पेसा नै सङ्कटमा परेको बताउँछन् । ‘पहिला–पहिला गाउँघरमा गाई, भैँसीपालनसँगै ठेका, ठेकी, हर्पे र दुँधेरोको माग हुन्थ्यो । आजभोलि पहिलाको जस्तो माग हुँदैन’–उनले भने ।
विगतमा काठका सामग्री उत्पादन गर्नेको सङ्ख्या धेरै थियो । अहिले युवाले यसप्रति चासो नदिँदा काठका सामग्रीको उत्पादन घटेको ताप्ली गाउँपालिका रूपाटार मादलेका कृष्णबहादुर राउतले बताए । लिम्चुङ्बुङ गाउँपालिका–१ बाँसबोटेका ७० वर्षीय कर्णबहादुर विश्वकर्मा भन्छन्, ‘बाउबाजेको पालामा हस्तकलाका सामग्री सिक्न सङ्खुवासभा, खोटाङ र रामेछाप पुग्ने गरेका थिए, वर्षौं लगाएर काठका सामग्री बनाउन सिकेर नदी किनारमा काठको घट्ट थापेर सामग्री कुँद्ने र बनाउने चलन थियो । अहिले चासो नहुँदा पेसा नै सङ्कटमा छ ।’
पहिला गाउँका प्रत्येक घरमा गाईभैँसी पाल्ने गरिन्थ्यो । पछिल्लो समय यो पेसा घट्दै गएको छ । पहिला दूध, दही, मही र घ्यु राख्न काठका सामग्रीको माग अत्यधिक हुने गर्दथ्यो । गाउँमा दार, खमारी, कटहर, आँपका काठबाट ठेका, ठेकी, हर्पे, दँुधेरोलगायत सामग्री बनाइन्थे । अहिले यी सामग्री लोप भएका छन् । सीप र कलासमेत लोप हुन थालेको बाँसबोटेका लोकराज विश्वकर्मा बताउँछन् ।
बाँसबोटेका ७६ वर्षीय कुलबहादुर विश्वकर्मा भन्छन्, ‘मैले दुई दशकअघिसम्म हजुरबुबाबाट सिकेको ज्ञान प्रयोग गरेर काठका सामग्री उत्पादन गर्थें, अहिले छोराहरूले यो सीप सिक्न चाहेनन्, गाउँका कोही युवाको पनि यसप्रति चासो छैन ।’ उनका अनुसार पहिला भोजपुर, धनकुटा, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरलगायतका स्थानमा यस्ता हस्तकलाका सामग्रीको माग हुने गरेको थियो ।
अहिले प्लाष्टिकका सामग्रीको माग बढेसँगै काठका सामग्रीको उत्पादन घटेको हो । यहाँको पाको पुस्ता हस्तकलाका सामग्री लोप भएर पेसा नै सङ्कटमा पर्नेमा चिन्तित छ । प्लाष्टिकका सामग्रीले हस्तकलाका सामग्रीलाई विस्थापित मात्र गरेको छैन, चँदराको पेसा नै सङ्कटमा पारेको छ ।