मुक्सामहाङ मेन्याङ्बो (मुकेश) २०५५ सालमा अनेरास्ववियु (क्रान्तिकारी) बाट राजनीतिक यात्रा सुरु गरी २०५७ सालदेखि पूर्णकालीन जनयुद्धमा लागे । पूर्णकालीन जनयुद्धका क्रममा जेल पनि परे । पार्टीको जिल्लादेखि विभिन्न तहका नेतृत्व सम्हालेका मुकेश किरात मोर्चाको महासचिव, पार्टीको केन्द्रीय सदस्य हुँदै ०६९ सालमै पोलिटब्यूरो सदस्य भए । मेन्याङ्बो २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । पराजित भएपछि यस क्षेत्रको विकासमा अनवरतरूपमा लागिरहे । उनी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनै मेन्याङ्बोसँग निर्र्वाचनकै विषयमा आधारित भई ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

 प्रतिनिधिसभामा तपाईंको उम्मेदवारी किन ?
–पहिलो कुरा नीति निर्माण, ऐन कानून बनाउन हो । सुनसरी क्षेत्र नं. १ मा विकास निर्माण, पछाडि पारिएका जातजाति, भाषा, लिङ्ग, समुदायको हक हित, सामुदायिक अभियान, सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाउन मेरो उम्मेदवारी हो । यस क्षेत्रको विकास गर्न, खासगरी धरान, रामधुनी, वराहक्षेत्रलाई केन्द्रसँग जोड्नका लागि मेरो उम्मेदवारी हो । केन्द्रमा सिधै पहुँच राखेर बजेट ल्याई यस क्षेत्रको विकास गर्नका लागि मेरो उम्मेदवारी हो ।

सुनसरी क्षेत्र नं. १ मा चुनावी माहोल कस्तो छ ?
–असाध्य राम्रो छ । जनताको सकारात्मक प्रतिक्रिया आएको छ । ‘तपाईं गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । त्यसमा पनि युवा, सिर्जनात्मक हुनुहुन्छ, तपाईंजस्तो उम्मेदवार पाएका छौँ । तपाईंलाई जिताउछौँ । राम्रो काम गर्नुप¥यो, हामी जिताउँछौं भन्नुभएको छ ।’ म युवा साथै फ्रेस छु, म यो क्षेत्रको विकासका लागि राम्रो काम गर्छु भनेर मैले पनि सङ्कल्प गरेको छु ।

सुनसरी क्षेत्र नं. १ मा तपाईले देखेका समस्या र जनताका समस्यामा के फरक पाउनुभयो ?
–औसतमा मैले देखेका समस्याका विषयमा नै प्रश्न उठेका छन् । चुनावताका घरदैलोमा जाने, जितेपछि जनतासँग नभेट्ने, नाक–मुख नदेखाउने गरेको गुनासो आएको छ । जुन कुरा मैले पनि अनुभूति गरेको हो । म यो परम्परा तोड्न चाहन्छु । म निर्वाचनपछि तपाईंहरुको समस्यासँग सँगै रहन्छु । म यस क्षेत्रमा नै रहनेछु भनेर प्रतिबद्धता जनाएको छु । त्यसलाई मतदाताले सकारात्मक रुपमा लिनुभएको छ ।

प्रचार–प्रसारको अन्तिम चरणमा हुनुहुन्छ, जनताका खास अपेक्षा के के छन् ?
–धरानका २० वटै वडा, रामधुनीका २ वडा र वराहक्षेत्रका ५ वटा वडामा खानेपानी समस्या छ । खानेपानी समस्याको दीर्घकालीन समाधान गर्नुपर्छ । यसका लागि विशेष योजना र कार्यक्रम बनाई स्थानीय जनप्रतिनिधिसँग सहजीकरण गरेर समाधान गर्न पहल गर्छु ।

राजनीतिक दलको उम्मेदवारीप्रति मतदाता सन्तुष्ट छैनन् भन्ने सुनिन्छ, यथार्थ के हो ?
–सामान्य असन्तुष्टि छ । स्वभाविक पनि हो । कहिलेकाहीँ अलिकति आक्रोस, आवेग र खबरदारी हुन्छ । त्यसलाई राजनीतिकर्मीले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ । हामीले ग्रहण गरेका छौँ । दलको विकल्प दल नै हुन्छ, अरु हुन सक्दैन । त्यति धेरै असन्तुष्टि छैन ।

खास केमा असन्तुष्टि रहेछ ?
–निर्वाचनमा तपाईंहरु आउनुहुन्छ । जितेपछि फर्कनुहुन्न भन्ने छ । यसलाई मैले सकारात्मक रुपमा ग्रहण गरेको छु । मबाट त्यस्तो हुँदैन । निर्वाचित भएपछि तपाईंहरुसँगै हुन्छु भनेको छु ।

गठबन्धनको ठूलो दल सन्तुष्ट छैन भन्ने सुनिन्छ, यथार्थ के हो ?
–होइन । ठूला–साना दल सबैको पूर्ण समर्थन छ । देशैभरि सिट बाँडफाँड भयो । सिट बाँडफाँडका क्रममा स्वभाविक रुपमा बाक्लो उपस्थिति भएको र स्थानीय तहको निर्वाचनमा धेरै वडा जितेकाले यो क्षेत्र काङ्ग्रेसको भागमा परेको भए राम्रो हुन्थ्यो । प्रदेशसभामा बाँडफाँडमा पनि सन्तुलन मिलाएको भए हुन्थ्यो भन्ने मेरो पनि हो । तर, राष्ट्रिय सहमति भइसक्यो, यसलाई दायाँबायाँ गर्नसक्ने अवस्था छैन । राष्ट्रिय आवश्यकताले गठबन्धन भएको छ । यसलाई मान्ने भन्ने कुरामा हामी सबै पुगेका छौँ । काङ्ग्रेसका आम नेता कार्यकर्ताको सबै पङ्क्ति मेरै पक्षमा छन् । यसको विकल्प छैन, साथ दिन्छौँ भन्नुभएको छ ।

गठबन्धनको चर्चित एजेण्डा व्यवस्था जोगाउने छ, कस्तो व्यवस्था हो त्यो ?
–हिजो सामन्ती र राजतन्त्रात्मक व्यवस्था थियो । संविधानभन्दा माथि राजा हुन्थ्यो र राजा मरेपछि राजाको जेठो छोरो राजा हुन्थ्यो । राजाको आदेशले नै ऐन कानून बन्थे । अहिले त्यो व्यवस्थाको अन्त्य भयो र लोकतन्त्र, गणतन्त्र, सङ्घीयता आयो । समानुपातिक, समावेशी प्रतिनिधित्व, धर्म निरपेक्ष राज्य बनेको छ । यहाँ आवधिक निर्वाचनको व्यवस्था छ । जनताले चुनेको जनप्रतिनिधिमार्फत् शासन हुन्छ । कानूनभन्दा माथि कोही हुँदैन । त्यसैले यो लोकतान्त्रिक र उन्नत व्यवस्था हो । यसलाई उल्टाएर जाने कता हो ? फेरि हिजोकै ठाउँमा जाने हो त ?

गठबन्धनको सरकार बनेन भने उल्टिने सम्भावना छ ?
–प्रतिगमनले टाउको उठाउन खोजिरहेको छ । त्यसकारण हामीले सचेत भएर गठबन्धन कायम राखेका हौँ । कुनै कुनै रुपमा संविधान, लोकतन्त्र सिध्याउने खेल भइरहेका छन् । संविधानमा विधि प्रक्रिया पूरा नगरी विघटन गर्नु भनेको व्यवस्था उल्टाउने सुरूवाती कदम हो । केही न केही सङ्केतहरु देखिएका छन् । त्यो सफल हुँदैन । त्यसैले गठबन्धनले जित्नुपर्छ ।

यस क्षेत्रमा जातीय मतको कुरा उठ्छ, स्वतन्त्रको दबदबा पनि उस्तै छ, यसको प्रभाव कति पर्छ ?
–उम्मेदवार र राजनीतिक परिस्थितिमा भर पर्छ । यो लोकतान्त्रिक बाम गठबन्धन निर्वाचनका लागि मात्र बनेको होइन । लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको हो । हामीले गठबन्धन बनाएर लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षा गर्न सफल भयौँ । त्यसले गर्दा राजनीतिक रुपबाट जनमत हाम्रो पक्षमा छ । जनता सकारात्मक छन् । गठबन्धनका सबै उम्मेदवार फ्रेस छौं । ऊर्जा पैदा भएको छ । स्वतन्त्रको मत पनि मलाई आउँछ । जातीय कुरा छैन । सबै वर्ग, समुदायको मत आउँछ ।

प्रतिबद्धता पत्रमा विकासका कुरा मात्रै छन्, तपाईंको उम्मेदवारी नीति निर्माणका लागि कि विकासका लागि ?
–दुवैका लागि हो । यो संसदीय प्रणाली हो । यस प्रणालीमा संसद्को निर्वाचन हुन्छ । संसद् गठन हुन्छ । त्यही संसद्ले नीति निर्माण गर्छ र सरकार पनि बनाउँछ । सरकार बनाउने भएकाले विकास निर्माण र बजेटसँग पनि जोडिन्छ संसद् । संसद्ले नीति कानून पनि बनाउँछ । सरकार हाम्रो बन्छ र सरकारबाट बजेट ल्याएर यस क्षेत्रको विकास पनि गर्छु ।

तपाईंका प्रमुख एजेण्डा के के हुन् ?
–खानेपानी समस्या समाधान, यस क्षेत्रलाई अन्तर्राष्ट्रसँग सडक सञ्जालले जोड्ने, क्षेत्रीय सडक सञ्जाल निर्माण गरी पर्यटकीय सर्किट बनाउने सोचेको छु । बहुआयामिक पर्यटनको ‘हब’ बनाउने, पिण्डेश्वर विद्यापीठ, हात्तीसार, इन्जिनियरिङ क्याम्पसको भौतिक पूर्वाधार सुधार गरी फ्याकल्टी थपी शिक्षाको ‘हब’ बनाउने प्रमुख मुद्दा हुन् । बीपी प्रतिष्ठानको विकृति विसङ्गति हटाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पहल गर्ने र अन्तर्राष्ट्रबाट बिरामी उपचारमा आउने वातावरण बनाउन पहल गर्छु । खेलकुदको उर्वर भूमि भएकाले खेलकुदको ‘हब’ बनाउने, क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियरुपमा विकास गर्ने, बन्दै गरेको स्टेडियमलाई छिट्टै सम्पन्न गर्ने, अन्य खेलका पूर्वाधार विकास गर्ने रहेका छन् । भौगोलिक बनावटले पनि साथ दिएकोले यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ । यस्तै प्रविधिमैत्री बनाउनुपर्छ । विज्ञान र प्रविधिको जसले अधिकतम् प्रयोग गर्छ, त्यसले समृद्धि हासिल गर्छ । हामीले प्रयोग गर्न थाल्यौं । उम्मेदवारलाई पब्लिकले सुझाव दिन सकुन् भनेर वेबसाइट लन्च गरेका छौँ । मतदाताले हाम्रो धारणा बुझ्न सुझाव दिन सक्छन् । विकास र सुरक्षामा प्रविधिको प्रयोग गुर्नपर्छ ।

प्रदेशको नामकरणको विषयमा तपाईंको धारणा के छ ?
–पहिलो कुरा प्रदेशसभाले नाम टुङ्ग्याउन नसक्नु विडम्बना हो । १४ जिल्लामा बस्ने जनताको मनोविज्ञान, चाहना आकाङ्क्षाअनुसार यहाँको सभ्यता, संस्कृति र पहिचानलाई सम्बोधन गरेर नामकरण गर्न पहल गर्छु । सबै जनतालाई चित्त बुझाएर नामकरण गर्नुपर्छ ।

सुकुम्बासीलाई कहिलेसम्म भोट बैङ्क बनाउने ?
–निर्वाचित भएपछि ५ वर्षे कार्यकालमा सबै अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई धनीपुर्जा दिनुपर्छ । दिने कुरामा म सङ्कल्प व्यक्त गर्छु ।

अर्को निर्वाचनमा सुकुम्बासी मुद्दा बन्दैनन् ?
–नबनाउन सकिन्छ । किनभने जसले जति जग्गा जतिबेलादेखि भोगाधिकार गरेर बसेका छन् । उनीहरुको जग्गा नापेर धनीपुर्जा दिन राज्यलाई के गाह्रो प¥यो ? राज्यले उठाउन र धनीपुर्जा पनि दिन सक्दैन । समस्या त्यहाँ हो । राज्यले जग्गा नापेर धनीपुर्जा दिने, राज्यले राजस्व लिने । जनता राजस्व तिर्न तयार छन्, राज्य धनीपुर्जा दिन तयार छैन, यो समस्या हो । अहिले बनेको ऐन अधुरो छ । निश्चित  मापदण्ड बनाएको छ । त्यसले समस्या समाधान गर्दैन । जसले जति भोगाधिकार गरेको छ, जग्गा नाप्ने धनीपुर्जा दिने र राजस्व लिने । धेरै नै गरेको छ भने हदबन्दीको सीमा राख्ने । जोखिम ठाउँमा बसेकालाई राज्यले वैकल्पिक व्यवस्था गर्न सक्छ । सहज रुपमा हल हुन्छ ।  

प्रचार–प्रसारको अन्तिम चरणमा हुनुहुन्छ, जित कति निश्चित छ ?
–जित निश्चित नै छ । गठबन्धनसहित अगाडि बढेको छु । काङ्ग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत ५ वटा दलको समर्थन छ मलाई  । निश्चितरुपमा जित्छु ।

कति मतान्तरले जित्छुजस्तो लाग्छ ?
–५ देखि ६ हजार मतान्तरले हामी विजयी हुन्छौँ । विजयमा कुनै द्विविधा छैन ।

जितका आधार के के हुन् ?
–प्रमुख कुरा जनताले नयाँ अनुहार खोज्छन् । म पहिले पनि उठेको थिएँ । जनताको सहानुभूति पनि हुन्छ । युवाका साथै फ्रेस छु ।  भिजन छ । एजेण्डा पनि छ । सुदृढ सङ्गठन र गठबन्धन दल नै जित्ने आधार हुन् ।

निर्वाचित भएमा प्रतिनिधिसभामा तपाईंको भूमिका कस्तो रहन्छ ?
–संविधानको रक्षा, ऐन कानून बनाउनमा मेरो भूमिका सक्रिय रहन्छ । यो क्षेत्रको मुद्दा उठाउन हस्तक्षेपकारी, प्रभावकारी भूमिका खेल्छु । यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट बजेट ल्याउन विशेष भूमिका खेल्छु । यो क्षेत्रका जनता, राजनीतिक दल, जनप्रतिनिधि, विज्ञ र स्थानीय तहसँग समन्वय गर्दै अन्य विकासका अवधारणा अगाडि बढाउँछु ।

प्रतिबद्धता पत्रमा थुप्रै राम्रा कुरा छन्, निर्वाचित भए पूरा होलान् ?
–हुन्छन् । पूरा गर्नका लागि नै सङ्कल्प गरेको हो । गर्न सक्ने काम नै सङ्कल्प गरेको हो । सबैभन्दा इच्छाशक्ति हो ।

अन्त्यमा के भन्नुहुन्छ ?
–सुनसरी क्षेत्र नं. १ का मतदाताले पटक–पटक अरुलाई जिताउनुभयो । यो पटक म जस्तो युवा, फ्रेस र ऊर्जाशील उम्मेदवारलाई मतदान गरी विजयी गराउन हार्दिक अपिल गर्न चाहन्छु । साथै गठबन्धनका सबै उम्मेदवारलाई पनि मतदान गर्न अपिल गर्छु ।