बिर्तामोड । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले जितेको क्षेत्र झापा–३ हो । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्रीसमेत रहेका कृष्ण सिटौला चुुनावी मैदानमा आउने सम्भावना छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले त आफ्ना देवी देवता यस क्षेत्रमा नै भएका कारण यही क्षेत्रबाट चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । यतिबेलासम्म सिटौलाले भने उम्मेद्वारीका बिषयमा मुख खोलेका छैनन् । तर, सिटौलालाई कांग्रेसबाट त्यस क्षेत्रको निर्विकल्प उम्मेद्वारका रुपमा हेरिएको छ । उनीहरु दुबैको चुनौतीका रुपमा नेकपा एमालेका केन्द्रिय सदस्य दुगाई प्रसाई खडा हुने सम्भावना छ ।

एमाले र राप्रपाबीच चुनावी समिकरण बन्ने झापाको राजनीतिक वृतमा चर्चा छ । चुनावी समिकरण नबनेको अवस्थामा मात्र प्रसाई एमालेबाट झापा क्षेत्र नम्बर ३ मा उम्मेद्वार बन्छन् । एमाले अध्यक्ष केपी ओलीले संकेत गरेपछि बिगत १ बर्षदेखि चर्चित मेडिकल ब्यवसायी प्रसाईँ झापा–३ केन्द्रित गतिविधिमा सक्रिय छन् ।

पछिल्लो समयमा प्रसाईँले त्यस क्षेत्रमा रहेका बिभिन्न समस्याहरु हल गरेका छन् । खानेपानीको कल वितरण, धार्मिक मठ मन्दिरमा सहयोग गर्नेदेखि बिपन्न समुदायका स्थानीयलाई जिविका हुनसक्ने वाताबरण बनाउँदै आएका छन् । झापा–३ का मतदाताले प्रसाईँको उपस्थितीले त्यहाँ चुनावी माहौल सिर्जना गर्न शुरु गरेको प्रतिक्रिया दिन थालेका छन् । एमालेकै स्थानीय नेताका अनुसार सिटौला र लिङदेनलाई टक्कर दिनसक्ने नेताका रुपमा एमालेबाट प्रसाईँलाई उभ्याउने तयारी छ ।

दोस्रो संविधानसभाको निर्वाचन २०७० मा झापा–३ बाट कांग्रेसका सिटौला निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो नतिजा उल्टियो । तत्कालिन बाम गठबन्धनसँग राप्रपाका तत्कालिन महामन्त्री लिङदेनले चुनावी समिकरण गरे । लिङदेनले यस क्षेत्रबाट ४४ हजार ६१० मत पाउँदा सिटौलाले ३१ हजार १५९ मत मात्र ल्याउन सफल भए । देशभरमा राप्रपाबाट जित्ने उनी एकमात्र सांसदका रुपमा दरिन पुगे ।

यो निर्वाचनसम्म आइपुग्दा बाम गठबन्धन भत्किएको छ । गठबन्धनको दोस्रो ठुलो घटक नेकपा माओवादी केन्द्र यतिबेला नेपाली कांग्रेससँगको समिकरणमा आगामी निर्वाचनमा होमिने तयारी गरिरहेको छ । अन्य क्षेत्रभन्दा झापा–३ मा बलियो पकड रहेको माओवादीको चुनावी समिकरण फेर बदलले के असर पार्छ ? त्यो भने आगामी निर्वाचनले देखाउने छ ।

झापा–३ मा बिर्तामोड नगरपालिकाको वडा न १०, भद्रपुर नगरपालिकाको वडा न १ देखि ८, कचनकवल गाउँपालिका, हल्दिवारी गाउँपालिका र बाह्दशी गाउँपालिकाको भुगोल पर्छ । भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ ।

राप्रपाले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष र भद्रपुर नगरपालिकामा उपमेयर जितेको छ । एमालेले कचनकवलमा उपाध्यक्ष र बाह्दशीमा अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । यस क्षेत्रमा रहेका कुल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडाको नतिजा हात पारेको छ । एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडाको वटा वडाको नतिजा ल्याएका छन् । माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेद्वार बिजयी भएका छन् ।

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको वडागत मतलाई आधार मान्दा नेपाली कांग्रेस झापा–३ मा सबैभन्दा बलियो शक्तिका रुपमा दरिएको छ । कांग्रेससँग २५ हजार ९४९ मत छ भने दोस्रो शक्ति राप्रपासँग २१ हजार १५९ मत रहेको छ । एमाले २१ हजार ८५ र माओवादीले ६ हजार २४७ मत पाएको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ । यस परिणामबाट के देखिन्छ भने राप्रपा अध्यक्ष लिङदेनले एमालेसँग समिकरण नगरी निर्वाचन जित्न सक्दैनन । तीनजना उम्मेद्वार भएको खण्डमा भने सिटौलाले बाजी मार्न सक्ने प्राम्भिक अनुमानसम्म गर्न सकिन्छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि राप्रपाको अधिवेशन भयो । अधिवेसनमा लिङदेनले कमल थापालाई हराउँदै अध्यक्षमा बिजयी भए । पार्टीको केन्द्रिय अध्यक्ष निर्वाचत भएका लिङदेनको आफ्नो क्षेत्रमा अलिक बढी प्रभाव रहने नै गर्छ । कमल थापाले निर्वाचनमा हारेपछि ब्युताएको राप्रपा नेपालको समेत त्यहाँ प्रभाव नदेखिनु लिङदेनको लागि सकारात्मक हो ।

पछिल्लो समयमा भ्रष्टाचारबिरोधी मत आकर्षित गर्न सक्नु लिङदेनको लागि निर्वाचन जित्ने माध्यम बन्न सक्छ । उनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर’ भन्ने अभिब्यक्तिले उनी चर्चित छन् । सादगी नेताको छवि बनाएका लिङदेनले जनमत आकर्षित गर्ने सम्भावना छ । तर, राप्रपाको आधारक्षेत्र मानिने कचनकवलमा राप्रपाका धेरै मतदाता एमाले प्रवेश गरेका कारण लिङदेनलाई चुनौती अझ थपिएको स्थानीय मतदाताहरुको भनाई छ ।