धरान । सर्पदंशबाट नेपालमा बर्सेनि ३ हजारभन्दा बढीको ज्यान जाने गरेको एक अनुसन्धानले देखाएको छ । विश्वकै प्रसिद्ध अनुसन्धानमूलक शोधपत्र प्रकाशित गर्ने ल्यान्सेट ग्लोबल जर्नलमा प्रकाशित लेखअनुसार नेपालमा सर्पको डसाइबाट बर्सेनि ३ हजार २ सय २५ जनाभन्दा बढीको मृत्यु हुने गरेको छ ।
विश्वमै पहिलो पटक नेपालमा सर्पदंशले मानवीय क्षतिसँगै सामाजिक र आर्थिक क्षेत्रमा पारेको असरबारे विस्तृत अनुसन्धान भएको हो । उक्त अनुसन्धान स्वीस नेशनल फन्ड र जेनेभा युनिभर्सिटी हस्पिटलको आर्थिक सहयोगमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका पूर्वप्रमुख प्रा.डा. सञ्जीव शर्मा र उनको टिमले गरेको हो । यसअघि सर्पदंशसम्बन्धी विश्वका विभिन्न शोधकर्ताले अनुसन्धान गरिरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले पशुपालन गर्नेहरूलाई पनि लिएर सामाजिक र आर्थिक क्षेत्रमा पर्ने असरसँग जोड्दै अनुसन्धान गर्न खोजिरहेको थियो ।
यसैबीच सोही विषयमा नेपालमा गरेको सर्पदंशबाट हुने सामाजिक आर्थिक बोझ (सोसियो इकोनोमिक बर्डन) बारे लेखिएको खोज अनुसन्धान पत्र तीन साताअघि ल्यान्सेट ग्लोबल जर्नलमा प्रकाशित भएको थियो । जर्नलमा प्रकाशित रिपोर्टअनुसार नेपालमा बर्सेनि सर्पदंश पीडित मानिसको सङ्ख्या ३६ हजार १ सय ४८ देखि ३७ हजार ६ सय ६१ रहेको छ । सर्पदंशबाट मृत्यु हुनेको सङ्ख्या बर्सेनि ३ हजार २ सय २५ जनाको आसपास रहेको छ । सबैभन्दा प्रभावित जिल्लाहरूमा सर्लाही, सप्तरी, महोत्तरी, मकवानपुर, झापा र दाङ रहेका छन् ।
वन हेल्थ अप्रोच अन्तगर्त गरिएको उक्त अनुसन्धानले सर्पदंशबाट पशुधन र मानवीय क्षतिबारे विस्तृत विश्लेशण गरेको छ । उक्त रिपोर्टअनुसार नेपालमा बर्सेनि ५० हजार पशुपंक्षीलाई सर्पले डस्ने गरेको पाइएको छ । मुख्य अनसन्धानकर्ता प्रा.डा. शर्माले ब्लाष्टसँग भने, ‘नेपाल एक कृषिप्रधान मुलुक भएकाले पहिलो पटक सर्पदंशबाट हुने मानवीय र पशुपंक्षीको क्षतिबारे अनुसन्धान गरिएको हो । अनुसन्धानमा के देखियो भने सर्पले कुखुरालगायतलाई डस्दा शतप्रतिशत र चौपाया गाई–गोरु, राँगा–भैँसी र खसी–बाख्रामा ७८.६ प्रतिशत मृत्युदर रहेको पाइयो । यसको अर्थ पशुपंक्षीपालन व्यवसायमा पनि सर्पदंशले व्यापक हानि नोक्सानी पु¥याएको पुष्टि हुन्छ ।’
रिपोर्टमा उनले सर्पदंशले प्रत्यक्ष र अप्रत्यक्षरूपमा शारीरिक, मानसिक, सामाजिक र आर्थिक जीवनमा मर्का पार्ने र खेती किसानी गर्ने समुदायले घरमा गाई, भैंसी, बाख्रा, गोरु, कुखुरापालन गरिरहेकालाई थप पीडित बनाउने गरेको उल्लेख गरेका छन् । घरमा पालिने पशुपंक्षी पनि सामाजिक आर्थिक उपार्जनको एउटा माध्यम हुने भएकाले सर्पदंशबाट क्षति पुग्नु भनेको ठूलो हानि–नोक्सानी हुनुसरह भएको उनको भनाइ छ । उनले मानिसमा हुने सर्पदंशको उपचार सरकारले निःशुल्करूपमा उपलब्ध गराए पनि प्रतिविष (औषधि) को अभाव, अस्पताल पुग्न समय लाग्ने, अन्धविश्वासका कारण धामीझाँक्रीको झारफुकमा भर पर्नेजस्ता कारणले मानवीय क्षति हुने गरेको बताए । उता तिनै खेती किसानी गर्नेहरूले पालन गरेका पशुपंक्षी पनि सर्पदंशकै कारण मृत्यु भएपछि दोहोरो हानि–नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए । ल्यान्सेट जर्नलमा प्रकाशित रिपोर्टमा प्रा डा शर्माले भनेका छन्, ‘सर्पदंशपछि मानिस बाँचे पनि कतिपयको शल्यक्रिया गर्नुपर्ने, अङ्ग विच्छेद गर्नुपर्ने, दैनिक गतिविधिमा असक्षमता व्यहोर्नु पर्ने, मानसिक तनाव र त्रासले दैनिक जीविका चलाउन नसक्दा आर्थिक रूपले झन् पछि पर्नुपरेको छ ।’
रिपोर्टअनुसार सर्पदंशबाट पीडितमध्ये तीनचौथाई घर व्यवसाय चलाउने महिला र बालबालिका रहेका छन् । मत्युदर पनि उनीहरूकै बढी छ । घर भित्रका काम सबैभन्दा बढी महिलाले गर्ने र पशुपालन, अन्न भण्डारण र खुला दिसाक्षेत्र हुनुले महिला र बालबालिका तीनचौथाई सर्पदंशबाट बढी पीडित भएका हुन् । उनले भने, ‘करिब ५० प्रतिशत मृत्युदरमा बालबालिका परेका छन् । बालबालिकाको शरीर सानो हुने भएकाले विष पनि छिटै फैलने गर्दा ठूला मानिसको तुलनामा उनीहरूलाई चाँडो असर पर्छ । जसले गर्दा समयमै अस्पताल पु¥याउन सकिन्न र ज्यान गुमाउनु परेको छ ।’ सर्पदंशबाट बच्नका लागि खुट्टाको माथिल्लो भाग ढाक्ने गरी गम्बुट वा जुत्ता लगाएर पेशागत खेती किसानी काम गर्नुपर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने र भूईंमा सुत्ने बानी छाड्नु पर्ने, घरआँगन सफा राख्नुपर्ने र अँध्यारोमा टर्च लाइटको प्रयोग गर्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।
सन् २०१८ डिसेम्बरदेखि सन् २०१९ मेसम्म मुलुकभरका १३ हजार ८ सय ७९ घरपरिवारका ६३ हजार ४ सय ५४ जना मानिसका बीच अनुसन्धानका लागि सर्भे गरिएको थियो । तीमध्ये ७९.७ प्रतिशत परिवारले पशुपंक्षी पालन गर्ने गरेको पाइएको आधारमा सर्पदंशबाट हुने क्षतिलाई सामाजिक र आर्थिक क्षेत्रसँग जोडेर अनुसन्धान र विश्लेषण गरिएको आधारमा रिपोर्ट तयार भएको हो । नेपालको तराई क्षेत्र हिमाल र पहाडको तुलनामा बढी सर्पदंशको जोखिमयुक्त क्षेत्र बनेको छ ।
दुई दशकअघिको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा करिब २० हजार मानिस सर्पदंशबाट पीडित र ५ प्रतिशतको मृत्यु देखाइएको थियो । तर, हालैको रिपोर्टले भने सर्पदंशको घटना दुई गुणाले घातक देखिएको अनुसन्धानबाट पुष्टि भएको छ । उनले भने, ‘सर्पदंश गर्मी क्षेत्रमा बसोबास गर्ने ग्रामीण र गरिब समुदायमा विद्यमानरूपमा बेवास्ता गरिएको एक स्वास्थ्य सङ्कट हो । विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेको उपेक्षित ट्रपिकल रोगहरूमध्ये सर्पदंश अहिले चिकित्सा क्षेत्रमा उदीयमान विषय बनेको छ । यसलाई रोग भनेर चिनिनुअघि एउटा घटनाको रूपमा लिन सकिन्छ, जुन विषालु सर्पको डसाइले अनेक जटिलताहरू निम्त्याउने गरेको छ ।’
उनका अनुसार विश्वभर वार्षिकरूपमा सर्पदंशबाट २० लाख ३० हजार मानिसले अकालमै ज्यान गुमाउनु परेको छ । दक्षिण एसिया सर्पदंशबाट संसारकै सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छ । उनले प्रकाशित गरेको बहुआयामिक इपिडेमियोलोजिकल अनुसन्धान पत्रले विश्वका अन्य मुलुकका तुलनामा नेपालमा सर्पदंशले मानवीय क्षतिका साथै उनीहरूसँग जोडिएका घरपालुवा पशुपंक्षी पनि सर्पदंशबाट अछुतो नरहेको तथ्यबाट सामाजिक र आर्थिक क्षेत्रमा व्यापक असर परेको देखाएको छ ।
स्वीस नेशनल फण्ड र जेनेभा युनिभर्सिटी हस्पिटलको आर्थिक सहयोगमा गरिएको उक्त अनुसन्धानमा नेपालको पूर्वी र पश्चिमी प्रदेशका तराई क्षेत्र बढी प्रभावित मानिएका छन् । सर्पका धेरैजसो प्रजातिले मानिसलाई हानि नगर्ने तथा विषालु सर्पहरूले पनि सदैव विष छाड्दैनन् । नेपालमा पाइने विषालु सर्पहरूमा गोमन, राजगोमन, करेत, ह¥यौलगायत छन् । उनले भने, ‘सर्पले डसेपछि कतिपय उपचारका लागि अन्धविश्वासको भर पर्ने गरेका छन् । घाउमा चुस्ने, नुन खोर्सानी लगाउने, डसेको भागमा तलमाथि कडासँग बाँध्ने गरेको पनि पाइएको छ ।’
रिपोर्टमा उनले रणनीतिक मार्गनिर्देशन पनि सुझाएका छन् । सुरक्षित, पहुँचयोग्य र किफायती उपचार पद्दति अपनाउनु पर्ने, राष्ट्रिय, प्रादेशिक र सामाजिक तहमा सर्पदंशका रोकथाम उपचार र जटिलताबारे जागरुकता ल्याउनुपर्ने, सर्पदंश र जटिलताको उपचार तथा प्रतिविषको सुईबारे स्वास्थ्य कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।