सुनसरी । सुनसरीमा हात्ती आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउने क्रम रोकिएको छैन । सोमबार दिउँसोमात्र वराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित खत्वे टोल बस्ने करिब ६४ वर्षीया मगनी खत्वेको हात्ती आक्रमणबाट ज्यान गयो ।

खेतमा घाँस काट्न गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट उनको ज्यान गएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । यसअघि सोही मकुनाले कयौंको ज्यान लिइसकेको छ । वर्षौंदेखि हात्तीबाट पीडित बनेका मध्यवर्ती क्षेत्रका सर्वसाधारण जङ्गली हात्तीकै कारण मानसिक रूपमै त्रसित छन् । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान जानेहरूको सङ्ख्या मध्यवर्ती क्षेत्रमा बढेपछि समस्या समाधान गर्न अनेकपटक पहलकदमी भइरहेको बताइँदै आएको छ । तर, यो दाबी हालसम्म यथार्थमा परिणत हुन सकेको छैन । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सङ्घीय सांसद् तथा वर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू हात्ती आतङ्क रोक्न लागिपरेको पटक–पटक दाबी गर्दै आएका छन् । तर, उनको सो दाबी कार्यान्वयन हुन नपाउँदै खत्वेको ज्यान त्यही मकुनाबाट भएपछि त्राससँगै स्थानीय बासिन्दा आक्रोसित पनि हुन थालेका छन् ।

मकुना हात्तीको आक्रमणबाट केही वर्षको अवधिमा २४ जनाभन्दा बढी  सर्वसाधारणले अकालमै ज्यान गुमाए पनि समस्या समाधानका लागि आश्वासनबाहेक अन्य कुनै ठोस काम नभएको स्थानीय बताउँछन् । सर्वसाधारणले वन्यजन्तुको संरक्षण गर्दै आए पनि वन्यजन्तुबाट सर्वसाधारणको संरक्षण गर्ने दायित्व बोकेको सरकार आश्वासनबाहेक अरू कुनै काम नगरेको वराह नगरपालिकाका अमित चन्द्रवंशीले गुनासो गरे । 

उनले भने, ‘आरक्षले मात्र होइन, हामीले पनि वन्यजन्तुको संरक्षण गर्दै आएका छौं । तर, विडम्बना संरक्षण गरेकै वन्यजन्तुबाट सर्वसाधारण मारिने क्रम रोकिएको छैन । समस्या समाधान गर्नुको साटो नेताहरू हल्ला धेरै तर, काम केही गरेको पाइँदैन ।’ वन्यजन्तुको सुरक्षा र संरक्षणका लागि जेजति चासो र चिन्ता गरिन्छ, त्यो मानव सुरक्षाका लागि नदेखिएको पनि उनले बताए । ‘मान्छेको ज्यानभन्दा जनावरको महŒव बढी भएको हो ?’ हात्ती  पीडित कोसी गाउँपालिका–६ का अशोक मेहताले भने, ‘हात्ती संरक्षणका लागि राज्यपक्षबाट सक्रियता देखाए पनि हात्ती आक्रमण र आतङ्कबाट पीडित जनताप्रति समवेदनशील भएको देखिएन ।’

उनले सर्वसाधारणको जिउधनको सुरक्षा नहुने र सधैँ त्रासमय अवस्थामा बाँच्नु पर्दा हात्ती संरक्षण किन गर्ने ? भन्ने प्रश्न उठाएका छन् । उनले जनावरको बासस्थानबारे बेलाबेला चिन्ता प्रकट गर्ने सरोकारवाला निकायले मानवीय क्षतिलाई कम आँकलन गर्न नमिल्ने पनि बताए । उनले जनावर संरक्षणमा प्रगति भएमा खुसी मनाउने सरोकारवाला निकायले जनावरकै आक्रमणबाट निरन्तर मानवीय क्षति भएकाले पीडित जनतालाई सुरक्षाको अनुभूतिका लागि आवाज उठाइदिन आग्रह गरेका छन् ।

जङ्गली जनावर आतङ्क रोक्न पटक–पटक कोसीटप्पु वन्यजन्तु आरक्ष, प्रदेश र सङ्घीय सरकारसँगै संसदीय कोषबाट विद्युतीय तारबार लगाए पनि त्यसले हात्ती आतङ्क रोकिएको छैन । पछिल्लो केही वर्षयता आरक्षबाट गाउँ पस्ने हात्ती, अर्ना, बँदेललगायतका जनावरले मानवीय क्षति गर्ने, अन्नबाली नष्ट गर्ने, घर भत्काउनेजस्ता गतिविधि सामान्य बनेको छ । जङ्गली जनावरको आक्रमणको त्रासका कारण स्थानीय बासिन्दाहरू रातभर सुत्दैनन् भने कतिपय घर छाडेर हिँड्नुपर्ने अवस्थासमेत सिर्जना भएको पीडितहरूले बताए ।