धरान/ सप्तरी शम्भुनाथ नगरपालिका–११ राजपुरका विनोद मण्डलले गाउँका महाजन रामदेव साहबाट २०६५ सालमा ४ लाख रुपैयाँ ऋण काढे । ऋण दिँदा महाजन साहले उनको र पत्नीका नामको १४ कठ्ठा १९ धुर जमिन राजीनामा पास गरे मात्रै ऋण दिने सर्त राखे । जग्गा किन्नकै लागि पैसाको फिटफिटी भएका उनीहरूले त्यसबेला साहको कुरालाई स्वीकारे ।
ऋण चुक्ता गरे ‘फिर्ता भइहाल्छ’ भन्ने साहुको आश्वासन यतिबेला जग्गा हडप्ने खेल रहेछ भनी बुझेका छन् । मण्डलका अनुसार साहलाई पटक–पटक गरेर २५ लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा आफ्नो नाममा आउन सकेको छैन । उल्टो ३२ लाख रुपैयाँ तिरेमात्रै ऋण चुक्ता हुने बताउँदै आइरहेका छन् ।
विनोदकी पत्नी ललितादेवी भन्छिन्, ‘मलेसियामा १० साल कमाएको पैसा साहलाई नै तिरेँ, १० सालमा पटक–पटक गरेर २५ लाख रुपैयाँ बुझाइसकेको छु ।’ तर, २५ लाख रुपैयाँ बुझाएको उनीहरूसँग कागजी प्रमाण भने छैन । त्यसैको फाइदा साहले उठाइरहेका छन् । सप्तरी बोधेबर्साइन, सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, खडग नगरपालिकाका सयौं निमुखा किसान साहको जालमा फसेका छन् ।
धेरै किसानसँग ऋण दिने बेलामा डेढ रुपैयाँदेखि अधिकतम् २ रुपैयाँ ब्याज लिने सर्त राखे पनि चक्रवर्ती ब्याज उठाउने गरेको पीडितहरू बताउँछन् । नेपालको कानूनमा वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १५ लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा २ को उपदफा १ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम सावाँ रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन भनी भनेको छ ।
अधिवक्ता तथा महेन्द्र बहुमुखी क्याम्पसका कानून विषयका सह–प्राध्यापक कमल दाहालका अनुसार मुलुकी देवानी संहिताले नै वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर, साहको हकमा त्यो नियम लागू भएको पाइँदैन ।
२०६५ सालमा साहसँग दुई लाख ७० हजार रुपैयाँ लिएका बोधेबर्साइन नगरपालिका–९ का सितल यादवले पटक–पटक गरी हालसम्म ८ लाख रुपैयाँ बुझाइसके । साढे १२ कठ्ठा जग्गा धितो राखेर पैसा निकालेका उनलाई अझै ४८ लाख रुपैयाँ बुझाए मात्रै जग्गा फिर्ता पाउने भनेको उनी बताउँछन् ।
‘अझै पनि ४८ लाख रुपैयाँ बुझाउन बाँकी छ भनिरहेको छ’ पीडित सितलले भने, ‘सुरुमा लिँदा एउटा ब्याज भन्यो, अहिले कसरी त्यति जोडिरहेको छ ?’ साहबाट पीडित हुनेको सूची लामो छ । सोमबार ब्लाष्टकर्मी स्थलगत रिपोर्टिङमा बोधेबर्साइनको शत्रुघन चोकमा पुग्दा २१ जना पीडित भेटिए । पीडितहरूले न्यूनतम् ६० हजार रुपैयाँदेखि १६ लाख रुपैयाँसम्म लिए पनि ब्याज भने ७६ लाख रुपैयाँभन्दा बढी पुगेको खेस्रा विवरण प्राप्त गरेका छन् ।
खडग नगरपालिका–६ का छेदीलाल पासवान (जो रामदेवका छिमेकी हुन्) ले इँटा भट्टा खोल्न २०७३ सालको असारदेखि कात्तिकसम्म गरी कुल १६ लाख रुपैयाँ लिए । पहिलोपटक २०७३ असार २२ मा ६ लाख, असोज २८ मा ६ लाख र अन्तिमपटक कात्तिक २४ मा ४ लाख रुपैयाँ लिए । त्यसबापत पूर्व–पश्चिम राजमार्गनजिकै पर्ने ४ कठ्ठा १९ धुर र गाईघाटको ८ कठ्ठा जग्गा धितो राखे । उनी रकम तिर्न भनी साहकहाँ गए । मुन्सीले उक्त रकमको सावाँ–ब्याज गरी ७६ लाख ६२ हजार ३ सय ९० रुपैयाँ तिर्नुपर्ने भनी हिसाब देखाइदिएको उनी बताउँछन् ।
‘पैसा तिर्छु भन्दा पनि अहिले धरान–विराटनगर कहाँ–कहाँ जान्छ’ उनले भने, ‘अहिलेसम्म ब्याजबापत ३६ हजार रुपैयाँ तिरिसकेको छु ।’ उनका अनुसार हिसाब माग्दा हरेक तीन–तीन महिनामा चक्रवर्ती ब्याज जोडेको रहेछ । ‘तीन महिनाको ब्याज सावाँमा जोड्ने अनि फेरि ब्याज हिसाब गर्दो रहेछ’–उनले भने ।
ठाउँ बदलिरहने साहु
साविक कल्याणपुर गा.वि.स. ३ नम्बर (हालः खडग नगरपालिका–७) वडाका साह १३ वर्ष राजविराज बजारमा बसेर जिल्लाभरका किसानलाई ऋण लगानी गरेका छन् । पासवानका अनुसार सुरुमा गाउँका किसानलाई ऋण लगानी गर्थे । जमिन धितो वा राजीनामा पास नगरिञ्जेलसम्म ऋण दिँदैनथे । त्यहाँबाट बसाइँ सरेपछि उनी राजविराजमा कोठा लिएर जिल्लाभरि नै लगानी गरेको अर्का पीडित रमाकान्त चौधरी बताउँछन् ।
साहको हाल धरान–१९ मा घर छ । उनी आफू ऋण लगानी गर्ने नभई जग्गा किनबेच गर्ने गरेको दाबी गर्छन् । ‘मैले कसैलाई ऋण दिएको छैन, म त्यस्तो कामै गर्दिनँ, म जग्गा किनबेच गर्छु, जग्गा किनबेच गर्नु अपराध हो हजुर ?’–ब्लाष्टकर्मीसँग फोनसम्पर्कमा साहले भने ।
उनले ऋण लगानी गर्नेबारेमा स्वीकार गरेनन् तर, जानकारका अनुसार उनी ऋण लगानी गर्दा राजीनामा पास नगरी ऋण दिँदैनन् । रामदेवको कुकर्मबारे हालका राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादव पनि जानकार छन् । २०७६ वैशाखको अन्तिम साता उनकै घरमा पीडित बच्चालाल साहको मुद्दामा पञ्चभलाद्मी बसेको थियो ।
सावाँ–ब्याज बुझाएपछि बच्चालालको पौने पाँच कठ्ठा जग्गा फिर्ता दिने विषयमा बसेको पञ्चभलाद्मीले २०७६ जेठ ५ गतेसम्म जमिन फिर्ता गर्ने भनी फैसला गरेको थियो । तर, अझसम्म बच्चालालले जमिन पाउन सकेका छैनन् । जग्गा किन्नकै लागि रामदेवसँग २०६६ कात्तिक १७ गते ४ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ ऋण काढेका उनले २१ र ४ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ तिरिसकेको दाबी गर्छन् । यसबारे बुझ्न राष्ट्रियसभा सदस्य यादवलाई फोन सम्पर्क गर्दा उनले भने, ‘जग्गा किन्दाखेरी बच्चालालले ऊ (रामदेव) सँग पैसा लियो ब्याजमा, पैसा दिन तयार भएर पञ्चभलाद्मी मकहाँ बस्यो, यति भयो तिम्रो, उसले यति पैसा दिन्छ, त्यो दिनदेखि लापत्ता भयो, भागी भागी हिँड्छ ।’
यसरी असुल्छन् चक्रवर्ती ब्याज
उनका थुप्रै मुन्सीमध्ये एक गङ्गाराम मण्डलले ठाडो कागजमा लेखेर दिएको सावाँ–ब्याजको विवरण अध्ययन गर्दा हरेक तीन–तीन महिनामा ब्याजलाई सावाँमा गाभ्ने गरेको भेटिएको छ । सोहीअनुसार नै छोटो अवधिमै लाखौं रुपैयाँ तिर्नुपर्ने देखिने गरेको पीडितहरू बताउँछन् । मोहम्मद तैयव अलीले २०७१ भदौ २ गते साविक सप्तरीको मानराज गाविस र खोजपुरका गरी ९ कित्ता १ बिघा ८ कठ्ठा साढे ९ धुर जग्गा ४ लाख ४ हजार रुपैयाँमा राजीनामा पास गरे ।
अहिलेसम्म विभिन्न मितिमा उनले ८१ लाख रुपैयाँ साहलाई बुझाइसकेको दाबी गर्छन् । उनका अनुसार अझै साहले १ करोडभन्दा बढी रकम माग गरिरहेको छ । ‘उसले खटाएको मान्छेले घरि एक करोड भन्छ, घरि डेढ करोड लिएर आउनू भन्छ, कहिले धरान बोलाउँछ, कहिले झुम्का बोलाउँछ, धाउँदा धाउँदै मेरो १ लाख खर्च नै भइसकेको छ’–उनले भने ।
बच्चालाललाई दिएको ठाडो कागजी खातामा मूल धनका रूपमा ४ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ छ । त्यसमा ब्याजको रूपमा २३ लाख ४९ हजार ८ सय ७० रुपैयाँ हिसाब देखाइएको छ । २०६५ मा ऋण लिएका उनको ब्याज २०७२ साल असार ३१ गतेको हिसाबमा २३ लाख ४९ हजार ८ सय ७९ रुपैयाँ देखाइएको छ ।
अर्का ऋणी छेदी पासवानलाई २०७३ भदौ २२ गते ६ लाख रुपैयाँ ऋणको ब्याज २०७८ असोज ३० गतेसम्ममा २३ लाख ५१ हजार २ सय ८९ रुपैयाँ तिर्नुपर्ने देखाइएको छ । २०७३ असोज २८ गते लिएको ६ लाख रुपैयाँको ब्याज २२ लाख ४८ हजार ९ सय ३२ रुपैयाँ देखाइएको छ । अचम्म के छ भने २०७८ असोज ३० गते नै गरिएको हिसाब फरक फरक देखाइएको छ । पीडितहरू आफूहरूसँग चक्रवर्ती ब्याज असुल्ने गरेको बताउँछन् ।
यस्तो छ कानूनी व्यवस्था
मुलुकी ऐनमै साहुलाई आसामीबाट सावाँको वार्षिक दश प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी बन्देज लगाएको छ । मुलुकी ऐनको लेनदेनसम्बन्धी महलको दफा ६ र ७ ले सयकडा १० प्रतिशत र सावाँ बराबरभन्दा बढी ब्याज भराउनै नपाइने कानूनी व्यवस्था गरेको थियो ।
सोही ऐनलाई टेकेर अहिले मुलुकी देवानी संहिता २०७४ आएको छ । उक्त संहिताको परिच्छेद १५ लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा साहुले ऋणीसँग ब्याज लिन पाउने हकको (१) मा लेनदेनसम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाट लिखतमा लेखिएबमोजिम ब्याज लिन पाउने भनी उल्लेख गरेको छ ।
सोही दफा (२) को उपदफा १ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम सावाँ रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन भनी उल्लेख गरेको छ । दफा ४८० मा ब्याजको ब्याज लिन नपाउने भनी उल्लेख गरेको छ । यदि त्यस्तो लिएको हकमा उपदफा १ मा सावाँमा कट्टी हुने र सावाँ चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै दफा ४८१ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि साहुले ऋणीबाट सावाँभन्दा बढी ब्याज लिन नपाउने भनी उल्लेख गरेको छ । अधिवक्ता दाहाल भन्छन्, ‘चक्रवर्ती ब्याज लिनु सिधै गैरकानूनी हो । त्यस्तो लिएको हकमा कानून आकर्षित हुन्छ ।’