पथरीशनिश्चरे/ चाउरी परेको बृद्ध ख्याउटे शरीर । सेताम्मे केश दाह्री । तर उमेरको तुलनामा तागत भनें कमजोर छैन । उनको दैनिकी तेजिलो रुपमा एकाविहानैबाट साँझसम्म लगातार अघि बढछ ।

उनलाई आफु जन्मेको साल याद छैन । तर वर्षेनी गनेकै भरमा आफ्नो उमेर भनें उनलाई कण्ठ छ । ‘अव छोराको नागरिकता बनिइहाल्यो भनेर आफ्नो अस्थाई नागरिकताको निस्सा त्यो बेला नै पानीमा बगाइदिए ।’– नागरिकता प्रमाणपत्रको महत्व नबुझेको बेलाको स्मरण गर्दै बृद्ध सुकवीर दासले ब्लाष्टसँग भने ।

उनको सक्रियता देख्दा उनलाई १०९ वर्षको भनेर अरुले सितिमित अड्कल गर्नै सक्दैनन् । ‘मलाई जन्मेको साल थाहा छैन तर आमाले यो साल यति वर्षको भयो भनेर भन्नुभएको भरमा आफ्नो उमेर थाहा छ, म अहिले १०९ वर्षको भएँ ।’– मैथिली मिश्रित नेपालीमा उनले आफ्नै शैलीमा भने ।

पथरीशनिश्चरे ६ जयनेपाल चोकबाट थोरै पश्चिम बाटो दक्षिणमा एउटा झुप्रे घर नै उनको अहिलेको सहारा हो । उनका एक्लो सन्तान रामआशिषसँग बेमेल भएपछि उनलाई राआशिषकै कान्छो छोरा रासलाल महतोले लालनपालन गर्दै आएका छन् । झुप्रे घर भएका रासलालको पनि आम्दामीको श्रोत छैन । उनी बैदेशिक रोजगारमा गएका थिए तर कोरोना भाइरसको लकडाउनका कारण गत वर्षदेखि घरमा त्यसै छन् ।

‘मैले वहाँ हजुरबुबालाई भगवान मानेर सकेको लालनपालन गरिरहेको छु । उहाँको नागरिकता पनि फेरि बनिने अवस्था भयो भनें उहाँलाई नै थप सहज हुन्छ ।’– उनले आँशु झार्दै त्यहाँ पुगेका जनप्रतिनिधिसँग अनुरोध गरे । उनको नागरिकता पनि नभएपछि उनको बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्ताको सहारा रोकिएको छ । 

स्थानीय अगुवा युवा समाजसेवी एलबी भण्डारीमार्फत सुकवीरको बारेमा जानकारी पाएर पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, कार्यपालिका सदस्य निर्मला गदाल सहितको टोली मंगलबार उनको घरमा पुगेको थियो । छोराको समेत नागरिकता भएको अवस्थामा नागरिकताका लागि आफुले पहल गर्ने र बुढेसकालको सहाराका रुपमा सरकारले सम्मानस्वरुप प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता दिलाउने वातावरण वनाउने वास्तोलाले वचन दिएपछि सुकवीर निकै भावुक बने ।

सुकवीरको कान सुन्न र आँखा देख्नमा त्यस्तो समस्या छैन । सामान्य ग्याष्ट्राटिक बाहेक त्यस्तो रोग पनि छैन । नाती पनि वैदेशिक रोजगारमा गएपछि उनी गाउँघरमा भिक्षा मागेर समेत आफ्नो लागि आफैं खाने व्यवस्था जुगाउँदै आए । खाली खुट्टा नै हिँड्ने बानी भएका उनी दैनिक ७,८ किलोमिटर हाराहारीमा हिँडडुल गर्ने गर्दछन् । उनका बुबाको रोगका कारण २१ वर्षमै र आमाको पनि रोगकै कारण ५० वर्षमा निधन भएको उनको स्मरण छ ।

तर उनी भनें ऐतिहासिक यति लामो जीवन व्यतित गरिरहनु हामीहरुका लागि उर्जा र प्रेरणा भएको उनका छिमेकी कमल कटुवालले अनुभूति प्रकट गरे । ‘हामी यहाँ ०३६ सालदेखि यहाँ उहाँसँगै बसेको, पहिले देख्दा नि यति नै बुढो हुनुहुन्थ्यो १ सय वर्ष त कटिनै सक्नु भएको हामीलाई लाग्छ ।’– उनका बारेमा जानकार जागेश्वर महतोले भेटमा भने । खाली खुट्टा हिँडने तथा माछा, मासु र मदिरा नखाइ सात्विक भोजन गर्ने भएकाले लामो जीवन सक्रिय बनेको उनको अनुमान छ  ।

छोराको घरमा माछामासु खाने तर आफु नखाने भएपछि नातीकोमा बसेको बताउने उनी सिरहामा जन्मिएको र पछि धनुषा बसेको सम्झन्छन् । धनुषाको हजरपुर पंचायतबाट छोराको नागरिकता बनाएको उनको स्मरणमा छ । ०३६ सालदेखि पथरीशनिश्चरे आएर बसोबास गरे । ‘हाम्रो नगरको सवैभन्दा ज्येष्ठ ऐतिहासिक व्यक्तिको नागरिकता र भत्ताको प्रवन्ध गर्दै उहाँलाई उच्च सम्मान प्रदान गर्नु आवश्यक छ ।’– उनको अवस्था अवलोकन गरिसकेपछि युवा समाजसेवी नवीनजंग कार्की र मनोज धिमालको एउटै प्रतिक्रिया छ ।