धनकुटा । धनकुटाको दक्षिणी भेगमा पर्ने साँगुरीगढी गाउँपालिका–३ कुशेटारका देवी नेम्बाङ आजकाल प्रायःजसो बाख्राको टाट्नामै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी बनेको छ । नेम्बाङको खोरमा ६० भन्दा बढी बाख्रा रहेका छन् ।
२२ वर्षसम्म शिक्षण पेशामा आबद्ध नेम्बाङले बाख्रा पालनसँगै माछापालन, लेयर्स कुखुरा र बङ्गुर पालन पनि गरेका छन् । उनका छिमेकी ४३ वर्षीय अशोक याक्खा पनि बाख्रा पालनमा मग्न छन् । उनको टाट्नामा ४० वटा बाख्रा छन् । नेम्बाङ र याक्खाजस्तै झप्टमान अधिकारीलगायत २१ जनाले बोयर जातका बाख्रा पालन गरेका छन् ।
उनीहरूले ‘रातमाटे घाँसी बोयर बाख्रा पालन समूह’ गठन समेत गरेका छन् । बेग्लाबेग्लै टाट्नामा बाख्रा पालन गरे पनि यो एक प्रकारको सामूहिक बाख्रा पालन भएको समूहका अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘अचेल हाम्रो दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । आफ्नै गाउँमै सामूहिक रूपमा व्यावसायिक बाख्रा पालन रोजेका हौं ।’ अधिकारीजस्तै याक्खा बाख्रा पालनमा लागेको ७ वर्ष भएको छ ।
उनी रोजगारीको सिलसिलामा ९ वर्ष मलेसिया र २ वर्ष बहराइन गरी ११ वर्ष विदेश बसेर गाउँमा फर्केपछि सुरुमा बङ्गुर पालन गरेको बताए । उनले बाख्रा पालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रा पालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँभन्दा बढी कमाइ भइरहेको याक्खाले बताए । व्यावसायिक बाख्रा पालनको लागि उनले ३ लाख लगानी गरेको बताए ।
उनले भने, ‘विदेशमा अर्काको अधीनमा बस्नुपर्छ, तर यहाँ आफै मालिक भएर काम गर्न पाउँदा छुट्टै आनन्द छ । अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो । गाउँमै पनि यस्ता सामूहिक र व्यावसायिक रूपमा केही न केही गर्नसके घरखर्चका लागि पैसा जोहो गर्न विदेश जानुपर्ने रहेनछ ।’ उनले कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले आफूहरूले बाख्रा पालन व्यवसाय रोजेको बताए ।
बोयर जातको बाख्रा पालनमा मग्न नेम्बाङले भने माछा पालन र बङ्गुर पालन व्यवसायबाट सोचेजस्तो आम्दानी नभएपछि बाख्रा पालनमा लागेको बताए । उनका अनुसार चितवन र मकवानपुरबाट उन्नत जातका बोयर बाख्रा खरिद गरेर गाउँमा सामूहिक र व्यावसायिक बाख्रा पालन गरेको बताए । उनले भने, ‘६ वर्षअघि सुरु गरेको बाख्रा पालन व्यवसायकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको छु । खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेका छौं । तर, बाख्रा पालनबाट अहिले नै नतिजा आइसक्ने बेला भएको छैन ।’
नेम्बाङले युवापुस्तालाई बाख्रा पालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोगसमेत गर्ने गरेको बताए । उनले धनकुटाका कृषक सामूहिक बाख्रा पालन व्यवसायमा आकर्षित भएको बताए । स्थानीय जातका बाख्रा पाल्दै आएका स्थानीय किसानहरूले पछिल्लो समयमा सामूहिक रूपमै उन्नत जातका बाख्रा पालन व्यवसाय गरिरहेको नेम्बाङले बताए । उनका अनुसार कुशेटारका २१ घरपरिवारले बेग्लाबेग्लै कृषि फार्म दर्ता गरे पनि छाता संस्थाको रूपमा ‘रातमाटे घाँसी बोयर बाख्रा पालन समूह’ गठन गरेकाले व्यवसाय सञ्चालन गर्न सहज भएको पनि उनले बताए । उनका अनुसार सामूहिक बाख्रा पालन व्यवसायमा अधिकांश कृषकहरू वैदेशिक रोजगारबाट घर फर्केकाहरू छन् ।
पुख्र्यौली रूपमा बाख्रा पालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । उनका अनुसार बोयर जातको बाख्रा पालन गर्नेहरूले प्रतिपरिवार मासिक ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । समूहका अध्यक्ष अधिकारीले विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले सामूहिक बाख्रा पालन व्यवसायमा आकर्षित गर्न खोजेको बताए । उनका अनुसार अहिले २१ घरको बाख्रा फार्ममा करिब हजार बढी बाख्रा रहेका छन् ।
अधिकांश युवाहरू वैदेशिक रोजगारबाट घर फर्किएपछि फेरि विदेशतिरै लाग्ने गरेका छन् । फेरि विदेशतिरै फर्कन चाहने युवाहरूलाई लक्षित गरेर सामूहिक बाख्रा पालनतिर आकर्षित गराएको समूहका अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘हाम्रो उद्देश्यअनुसार केही युवा फेरि विदेश जाने सोच त्यागेर बाख्रा पालनमा लागेका छन् । लगानी गर्न नसक्नेलाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर टाट्ना बनाउने काममा सहयोग गर्दै आएका छौं ।’
उनका अनुसार कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर बोका रहेका छन् । २१ घरले बाख्रा पालनका लागि करिब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । सामूहिक बाख्रा पालनका लागि साँगुरीगढी गाउँपालिकाले सो समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।