भद्रपुर । हावाहुरीसहितको असिनापानीले झापाको भद्रपुरमा १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार चार घरमा क्षति पुर्याएको हो ।
शनिबार बिहान आएको हावाहुरीले भद्रपुर नगरपालिका–३ सतार बस्तीका चार घरमा क्षति पुर्याउँदा १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सतार बस्तीका बुधय मुर्मुको टिनको छानो र बेरा भएको एकतले घर हावाहुरीले उडाउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । साथै उनका २० वटा कुखुराका चल्ला समेत मरेका छन् ।
त्यस्तै सोही स्थानका कमल गणेशको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब १५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । सोही ठाउँका दुखिया महत्तोको टिनको छानो भएको भान्सा घर पनि पूर्ण रूपमा क्षति भई करिब ३५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मिस्ति राजवंशीको टिनको छानो भएको एकतले घरमा पनि पूर्ण क्षति पुग्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।































