धरान । केवाइसी पुनर्जीवन केन्द्रले लागूऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको बास्केटबल प्रतियोगितामा धरान मेघा कलेज प्रथम भएको छ । 

हिमशिखर कलेज तराहरालाई १७–१५ स्कोरको अन्तरले पछि पार्दै उपाधि जितेको हो ।  प्रदेशभरिका १३ वटा विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हिमशिखरले होलील्याण्ड स्कुललाई र धरान मेघा कलेजले सुनाखरी स्कुललाई हराउँदै फाइनलमा पुगेको सिनियर रेफ्री तथा जिल्ला बास्केटबल सङ्घका सहसचिव युगल लिम्बूले जानकारी दिए । 

प्रतियोगिताको समापन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले युवाहरूमा समस्या बन्दै गएको लागूऔषधविरुद्धको सचेतना जगाउने उद्देश्यका साथ आयोजित बास्केटबल प्रतियोगिताले नयाँ सन्देश दिएको बताए । सचेतनासहितका यस्ता कार्यक्रम आगामी दिनमा गर्न उपमहानगरले थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । 

कार्यक्रममा कोशी प्रदेशका एन्फा अध्यक्ष किशोर राईले प्रतियोगिता सानो भए पनि सन्देश ठूलो बोकेको बताए । केवाइसी पुनर्जीवन केन्द्रले सचेतनाका लागि सुरु गरेको प्रतियोगिताले दोस्रो संस्करण अझ भव्य र स्तरीय गर्नुपर्ने सुझाव दिए । धरानको खेल विकासका लागि आफूले सक्दो सहयोग र सहकार्य गर्नेसमेत उनले प्रतिबद्धता जनाए । 

विजेता तथा उपविजेता टिमलाई एन्फा अध्यक्ष राई, प्रतियोगिता संयोजक अनिस गुरुङ, बास्केटबल सङ्घका केन्द्रीय सदस्य रोसन राईलगायतले मेडल तथा प्रमाण–पत्र वितरण गरेका थिए । विजेताले नगद २५ हजार र उपविजेताले नगद १३ हजार प्राप्त गरेको प्रतियोगिताका संयोजक गुरुङले जानकारी दिए ।