(मिक्लाजुङ, मोरङ)/ मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी अहिले पनि सामान्य अवस्थामा फर्कन सकेकी छैनन् । जब मङ्सिर २३ गतेको घटना सम्झिन्छिन्, धनकुमारीको मन भत्भती पोल्छ । अहिले पनि उनको कानमा श्रीमान्का आवाजहरू  गुञ्जिन छोडेका छैनन् ।

विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले शिक्षक श्रेष्ठको घाँटी रेटेर बर्बतापूर्वक हत्या गरेको तीन महिना भयो । बिहीबार सरकार र भूमिगत सङ्गठन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको विषय सार्वजनिक भएको छ । के–के विषयमा सहमति भएको हो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन ।

तर, विप्लवका कार्यकर्ताहरूमाथि राज्यले लगाएको मुद्दा फिर्ता गर्ने, जेलमा रहेका कार्यकर्ताहरू रिहा गर्ने र विप्लवले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमति गरेको विषय सार्वजनिक भएको छ । 

यो सहमतिसँगै बिनाकारण हत्या गरिएका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको परिवारले न्याय पाउनेमा संशय पैदा भएको छ । श्रेष्ठलाई २३ मङ्सिरमा बिहान गोठमा घाँसकुँडो गरिरहेको बेला हतियारधारी समूहले अपहरण गरी नजिकैको जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा विप्लव समूहका डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मा प्रहरीको लामो मेहनतमा पक्राउ परेपछि उनीसहित ३५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

शिक्षक श्रेष्ठको हत्याको आरोपमा धनबहादुर विक अहिले पुर्पक्षको लागि थुनामा छन् । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतलाई पनि उक्त हत्यामा प्रतिवादी बनाइएको छ ।

बिहीबार सरकार पक्ष र विप्लव समूहबीच तीनबुँदे सहमति भएको खबर धनकुमारीले सञ्चारमाध्यमबाट जानकारी पाइरहँदा उनी भावविह्वल थिइन् । उनका निर्दोष श्रीमान्लाई उनीबाट सधैँका लागि चुँडेको बिहीबार ८६ दिन भएको छ । समय लम्बिँदै जान्छ, तर उनको पीडा घटेको छैन । ‘उहाँले के बिगार गरिदिनुभएको थियो र ! मेरो आँसु आजसम्म थामिन सकेका छैन’ –५३ वर्षीया धनकुमारी भक्कानिदै भनिन् । श्रीमान्सँग मिक्लाजुङ–१ बर्खेमा बस्दै आएकी धनकुमारी श्रीमान्को हत्या भएपछि अहिले छोरा, बुहारी र नातिहरूसँग मिक्लाजुङ–२ रचनागाउँमा बस्दै आएकी छन् ।

‘श्रीमान्को हत्याको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको सुनेको थिएँ’ उनले भनिन्, ‘हत्या आरोपीहरूसँगै वार्ता गरेर समझदारी बनाएपछि न्याय नपाउने चिन्ताले सताएको छ ।’ व्यक्ति हत्या भएकोले दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनले बताइन् । ‘दोषीलाई कारबाही भए मात्र मेरो श्रीमान्को आत्माले शान्ति पाउनेछ’ उनले भावहीन हुँदै भनिन्, ‘न्यायको लडाइँमा अन्तिमसम्म लागिपर्नेछु ।’

अहिले झट्ट कसैले घटनाबारे सोधिहालेमा पनि उनी झस्किन्छिन् । धेरै पटक उनले त्यो क्षण भुल्न खोजिन् । ‘जति जति भुल्न खोजेँ, उति पिरोलिरह्यो’ –धनकुमारी भन्छिन् ।

श्रीमान् गुमाएपछि उनी छोरा छत्रबहादुर, बुहारी अनुसँग बस्दै आएकी छिन् । ‘श्रीमान्को कमाइले आडभरोसा थियो । आम्दानीको स्रोत नभएपछि अहिले १४ वटा बाख्रापालन सुरु गरेको छु’ उनले भनिन्, ‘राज्यले पनि अहिलसम्म कुनै सहयोग गरेको छैन ।’ 

यस्तो छ घटना

प्रत्यक्षदर्शीले धनकुमारीलाई दिएको जानकारीअनुसार राजेन्द्रकुमारलाई घरदेखि दुवै हात पछाडि बाँधेर गाउँलेले नचिनेका ६ जना मान्छेले घरदेखि लिएर गएका थिए । दुईजना एकातिर दुईजना अर्कोतिर बसे । स्थानीयले ‘के गर्न लागेको, तपाईंहरू को हो ? कहाँ लैजान लागेको धनेर सोधीखोजी गरेका थिए ।

तर, उनीहरूले ‘चुप लाग, केही बेरमा छोडिदिन्छु’ भन्दै आँखामा पट्टी बाँधेर लगेका थिए । घरदेखि करिब १ किलोमिटर बर्खेको जङ्गलमा लगेर घाँटी रेटेर हत्या गरेका थिए । 

‘म पनि बाख्रालाई घाँस दिएर  फर्कंदै थिएँ । घर आइपुग्दा सुनेँ । श्रीमान्लाई ठहरै पारेको गाउँलेले मलाई भने, मैले हत्याको त कल्पना नै गर्न सकिनँ । मेरो घरदेखि करिब १ किलोमिटर दूरीको जङ्गलमा उहाँलाई हत्या गरिएको रहेछ । त्यहाँ जाँदा त एकदम सुनसान थियो । उहाँको विभत्स लाश लडिरहेको देखेँ । पाँच मिनेट जति त म न अगाडि बढ्न सकेँ, न पछाडि । जीवनमा सोच्नै नसकेको दृश्य देखेँ । म बेहोस जस्तो भएँ’ –उनले भनिन् ।

श्रेष्ठको घाँटीको अगाडिपट्टि दुई ठाउँ रेटेको र टाउकोमा पनि चोट लागेको थियो । घटनास्थलबाट उनीमाथि प्रहार भएका लठ्ठीहरू प्रहरीले फेला पारेको थियो । घटनास्थलबाट प्रहरीले लठ्ठी, श्रेष्ठले लगाउने टोपी, चप्पल र उनको मोबाइल फेला परेको थियो । 

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए ।