भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्ष प्रशासनले वितण्डा मच्चाउँदै आएको मकुना हात्तीलाई नेल नलगाई नियन्त्रणमा लिएको दाबी गरेको छ । 

स्थानीय प्रत्यक्षदर्शीले मकुनाको दुईवटै खुट्टामा नेल लगाएको बताए पनि आरक्ष प्रशासन भने उक्त कुरा स्वीकार गरेको छैन । मध्यवर्ती क्षेत्रमा आतङ्क मच्चाउने मकुना हात्तीको दुईवटै खुट्टामा नेल लगाई नियन्त्रणमा लिएको संरक्षणप्रेमी कुरबान मन्सुरी बताउँछन् । ‘कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर गाउँ पसेर मकुना हात्तीले मान्छे मार्नेदेखि स्थानीयवासीलाई आतङ्कित बनाउने क्रम बढेपछि स्थानीयले मकुना मार्नुपर्छ कि त सार्नुपर्छ भन्ने आवाज उठाए’ उनले भने, ‘त्यसकै परिणामस्वरूप आज नेल लगाएर नियन्त्रणमा लिइएको छ ।’

यता कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन अशोक राम भने मकुनालाई नेल लगाई औषधि दिएर नियन्त्रणमा लिएको दाबी गर्छन् । ‘नेल लगाएको छैन, औषधि दिएर नियन्त्रणको प्रयास गरिएको हो’–उनले भने । कुन औषधि दिएर कसरी मकुना नियन्त्रणमा आयो भन्ने जिज्ञासामा वार्डेन रामले सो कुरा बताउन नमिल्ने बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्ती मकुनाको आक्रमणबाट मङ्सिर २९ गते खेतमा पानी लगाउँदै गर्दा स्थानीय प्रमोद यादवको मृत्यु भएको थियो भने त्यसको १५ दिनपछि  मकुनाकै आक्रमणबाट कोशी गाउँपालिका–५ का मोतीलाल कामतको ज्यान गएपछि स्थानीयवासी आन्दोलित भएका थिए । त्यही आन्दोलनको कारण आरक्ष प्रशासन मकुनालाई नेल लगाए पनि नकारात्मक म्यासेज प्रवाह हुनसक्ने डरले सञ्चारकर्मीलाई यथार्थ कुरा बताउन नचाहेको संरक्षणप्रेमी मन्सुरीको कथन छ । पटक–पटक प्राविधिक टोली औषधि दिएर मकुना नियन्त्रण गर्न सफल न भएपछि नेल लगाइएको उनको बुझाइ छ ।

आतङ्क मच्चाउने हात्ती नियन्त्रणमा ल्याउनु सकारात्मक पक्ष भए पनि अमानवीय तवरले कैद गरिनु आपत्तिको विषय भएको मन्सुरीले बताए । मकुनालाई कोशीटप्पुमै राख्ने वा अन्तै सार्ने भन्ने गृहकार्य आरक्ष कार्यालयले गरे पनि मन्त्रीस्तरीय निर्णय आवश्यक हुने भएकाले त्यसबारे के गर्ने भन्ने निश्चित भएको छैन । नेल लगाउनसमेत विभागको मात्रै नभई मन्त्रीस्तरीय निर्णय अनिवार्य हुँदा नेल लगाए पनि आरक्ष प्रशासनले बताउन न चाहेको स्रोतको दाबी छ ।

६ वर्षअघिसम्म मकुनाको समूहमा २२ वटा हात्ती रहेकोमा पछिल्लो समय विभिन्न कारणले मर्दै गएको हुँदा ७ वटाको समूह मात्र देखापर्ने गरेको मन्सुरीले बताए । वर्षौंदेखि आफूहरू आरक्ष प्रशासनलाई निकुञ्जमा परिणत गर्न माग गर्दै आए पनि सुनुवाइ नहुँदा समस्या हुने गरेको स्थानीय संरक्षणप्रेमी बताउँछन् । ‘मानव र जनावर दुवै सुरक्षित हुनुपर्छ भन्ने हाम्रो माग हो’ –अर्का संरक्षणप्रेमी तथा लौकही पश्चिम कुसाहा उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले भने ।

सम्भावना बोकेको क्षेत्र भएकाले आरक्षलाई निकुञ्जमा परिणत गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको उनले बताए । ‘वर्षौं पहिले नै आरक्ष विस्तार भई निकुञ्ज घोषणा हुनुपर्नेमा कोशीटप्पु अझैसम्म निकुञ्ज नहुनु मध्यवर्ती क्षेत्रका जनताको लागि दुर्भाग्यको कुरा हो’ –संरक्षणप्रेमी मन्सुरीले भने ।