विराटनगर । मोरङको कटहरी गाउँपालिका – ७ का २६ वर्षिय रामकुमार मुडियारी तीन वर्ष अघि रोजगारको लागि मलेसिया गएका थिए । विदेशमा कमाएको पैसाले पक्की घर बनाउने र विवाह गर्ने सपना देखेर गएका उनको सपना त पुरा भएन, जीवनै समाप्त भयाे ।

वैदेशिक रोजगारको  अवधि सकिएपछि उनी घरफर्कने बेलामा लकडाउन भयो । सरकारले थपेको  ६ महिनाको  भिसा अबधिमा पनि उनी घर फर्कन सफल भएनन । घर फर्कन पटक पटक प्रयास गर्दा पनि असफल भएका रामकुमारले विक्षिप्त अवस्थामा कम्पनीमै आत्महत्या गरेर ज्यान गुमाएको परिवारकोे भनाई छ ।

‘पैसा कमाएर घर बनाएर विवाह गर्छु भनेको छोराको शवको बाकस आइपुग्यो,’ छोराको काजकिरयामा बसेका रामकुमारका बावु बेचना झाँगडले भने, ‘बन्दै गरेको घर अहिले अधुरो छ । गाराे उठाएर छोडेको छ ।’ गाउँमा जम्मा १० कठा जमिन भएका बाबु वेचनले १ लाख ५० हजार रुपैयाँ चर्को ब्याजमा ऋण लिएर छोरालाई रोजगारमा पठाएका थिए । 

मलेसियाको जोरभारु स्थित ‘आइएफसि’ नामको इलेक्ट्रिोनिक्स कम्पनीमा मजदुरी गर्न थालेका रामकुमारले कमाएको पैसा वेलावेला घरमा पनि पठाउने गरेका थिए । ‘छोराले पठाएको  पैसाले उसको ईच्छा अनुसार पक्की घर बनाउन गत वैशाखदेखि सुरु भएको थियो,’ बावु बेचनाले भने, ‘भिसा अवधि सकेर छोरा आएपछि घर ढलान गर्ने योजना थियो । छोरा सपना अधुरो भयो ।’  

१५ असार २०७७ मा रामकुमारको भिसा सकिएको थियो । यसैले उनी घर फर्कने तयारी गरेका थिए । तर कोरोना संक्रमण रोकथामका लागि लकडाउन भएपछि उनले घर आउन पाएनन् । लकडाउन अवधिमा पटक पटक उनले घर आउने प्रयत्न गरेपनि आउन नपाएको बावु बेचनाले बताए । 

बाबु बेचना र आमा गुदनीदेवी मात्र नभएर अविवाहित २० बर्षिया कान्छि बहिनी प्रमीला रामकुमार कहिले आउलान भनेर मनभारी बनाएर दिन पर्खिरहेका थिए । तर १३ पुस २०७७ विहान ३ बजे मलेसियाबाट उनको साथीको फोन आयो, ‘रामकुमारले बस्ने कोठामा झुण्डिएर आत्महत्या गरे ।’

‘सुरुमा त हामी कसैलाई विश्वास लागेन । कम्पनीसँग बुझँदा खवर सत्य रहेछ,’ रामकुमारका कान्छा काका दिनुलाल मुडियारीले भने, ‘त्यसपछि हामीले मेनपावर कम्पनीलाई शव घर ल्याइदिन नाता प्रमाणित गरेको कागज पठायौं । तर आर्कषण ईन्टरनेशनल  प्राली नामको कम्पनीले समयमा कागजपत्र नपठाएको जानकारी पाइयौं ।’

म्यानपावरले रामकुमारको शव ल्याउने पहल नगरेपछि उनीहरुले मलेसियास्थित नेपाली दुतावासलाई गुहारेर छोराको शव ल्याएका हुन् । ‘काठमाण्डौबाट शव घर ल्याएर ४ पुसमा बल्ल दाहसंस्कार ग¥यौं,’ कान्छा काका दिनुलालले भने ।

मलेसिया गएका रामकुमार बाबु वेचना र आमा गुदनीका एक्ला छोरा थिए । रामकुमारको मृत्यू भएपछि अब उनीहरुको बंश नै मासिएको छ । ‘कोरोना संक्रमण रोकथामका लागि लकडाउन नभएको भए रामकुमार आफै घर आउने थिए । लकडाउनपछि  सरकारले पनि बिदेशमा रहेकाहरुलाई  घर ल्याउन प्रभावकारी पहल गर्न सकेन । सरकारले समयमै घर फर्कन पहल गरिदिएको भए  भतिजको अकालमा ज्यान जाँदैनथ्यो होला’,  काका बिनोद मुडियारीले भने । १२ कक्षा पास गरेर रामकुमार रोजगारमा मलेसिया गएका थिए ।