दमक/ विगत ९ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सरकारले निःशुल्क वितरण गर्दै आएको छ । सरकारले करोडौं खर्च गरेर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाए पनि परिणाम भने झापामा सन्तोषजनक देखिएको छैन । 

झापामा हात्तीपाइले रोगविरुद्धको औषधिको प्रभावकारिता निरन्तर विफल देखिएकाले आम नागरिकलाई औषधि खुवाउने अभियान झापामा सञ्चालन गर्नुपर्ने भएको सरोकारवालाहरूले बताएका छन् । स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौँलागाईंले नतिजा सन्तोषजनक नआएकाले झापामा अहिले सर्वे सुरु भएको बताए । उनका अनुसार यसको प्रभावकारिताबारे थाहा पाउन गरिने सर्वेमा पहिलो पटक दमक र अर्जुनधारा नगरपालिकामा गरिएको छ । औषधि खुवाएको हरेक ५ वर्षमा औषधिले पारेको प्रभावको अवस्थाबारे गरिएको पटक–पटकको सर्वेमा दमकको नतिजा भने दुईपटक नै सन्तोषजनक नदेखिएको हो । 

हात्तीपाइले रोग निवारण गर्न सन् २०१२ देखि झापामा औषधि खुवाउने अभियान सुरु भएको चार वर्षपछि पहिलो पटक सन् २०१६ मा प्रभावकारिताबारे सर्वे गरिएको थियो । सर्वेमा दमक नगरपालिकाको परिणाम ४ दशमल ७६ दरको देखियो भने अर्जुनधाराको ३ दशमलव ५६ । जबकि प्रभावकारिताको परिणाम सन्तोषजनक मान्नका लागि उक्त दर २ प्रतिशतभन्दा कम हुनु पथ्र्यो ।

चौँलागाईंले भने, ‘सर्वे नतिजाको दर २ प्रतिशतभन्दा कम भएमा हात्तीपाइले रोगको जोखिम कम हुनेछ भन्ने रहन्छ तर, पहिलो पटक  गरिएको सर्वेमा दुई क्षेत्र विफल भएपछि  पुनः सन् २०१८ मा सर्वे गरियो । त्यसमा अर्जुनधारा नगरपालिकाको परिणाम १ दशमलव ६४ को दर देखियो भने दमक नगरपालिकाको परिणाम दर २ दशमलव ३ देखियो । अर्जुनधाराको दर २ भन्दा कम देखिएपछि लगत्तै झापा गाउँपालिकामा सर्वे गर्दा त्यहाँ त झन् १० दशमलव ४८ को दर देखियो ।’

क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा हात्तीपाइले रोग उत्पन्न गराउने सूक्ष्म फाइलेरिया परजीवीहरू शरीरमा प्रवेश गरेपछि रोग लाग्ने गरेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका भेक्टर कण्ट्रोल अधिकृत कुमार पोखरेलले बताए । उनका अनुसार रोगबाट बच्नका लागि औषधि खुवाउन थालेपछि  त्यसको प्रभाव मूल्याङ्कन गर्न जिल्लाको दमक नगरपालिका र झापा गाउँपालिकामा गरिएको सर्वे विफल भएको हो ।

पोखरेलका अनुसार झापामा यो पटक दमकमा ३ सय जना र झापा गाउँपालिकाको कुमरखोदमा ३ सय जना गरी ६ सय जनामा सर्वे गरिँदैछ । सर्वे गर्दा ७५ मिलिलिटर रगत औँलाबाट तानिन्छ । त्यो रगतलाई तत्कालै एफटिएस अर्थात् फाइलेरिया टेष्ट स्ट्रिप किटमा राखेर १० मिनेटभित्रै नतिजा निकालिन्छ । उनले भने, ‘हात्तीपाइले पोजेटिभ देखिएकालाई त्यहीँ थप उपचारको व्यवस्था गरिनेछ ।’ देशभर  ६३ जिल्ला  हात्तीपाइले रोगको जोखिममा रहेका छन् भने २ करोड ५० लाख जनसङ्ख्या यो रोगको जोखिममा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र्रले जनाएको छ । केन्द्रले सन् २०३० सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रूपमा रहन नदिने  लक्ष्य राखिएको छ ।