भद्रपुर। झापाको भद्रपुरस्थित मेची अस्पतालले करिब डेढ दशकदेखि सफाइ कर्मचारीको रूपमा कार्यरत दशजना कर्मचारीलाई ‘परीक्षामा अयोग्य’ भएको कारण देखाउँदै निकालेको छ । 

सरसफाइ कर्मचारीको टेण्डर प्रक्रिया हटाएर अस्पताल प्रशासनले सञ्चालक तथा व्यवस्थापन समितिकै स्वामित्वमा रहने गरी कार्यालय सहयोगी (स्विपर) ज्यालादारीमा नियुक्त गरेको छ । पुराना कर्मचारीलाई पनि अनिवार्य परीक्षामा सामेल गराएर ‘अयोग्य भएको ठहर’ गर्दै कामबाट निकालेको हो । अन्दाजी ५० वर्षीय देवकली पासवानसहित ७ देखि १६ वर्षसम्म अस्पतालकै सरसफाइमा कार्यरत उनीहरूलाई एकैपटक निकालेको हो ।

अस्पताल प्रशासनले १४ जना कार्यालय सहयोगी (स्विपर) नियुक्त गरेसँगै उनीहरू बेरोजगार भएका छन् । श्रीमान् नभएकी देवकली दुई छोरी, एक छोरा र नाति–नतिनाका साथ भाडाको घरमा बस्दै आइरहेकी छन् । ‘पन्ध्रसय तलब हुँदा सेवा सुरु गरेको थिएँ, अहिले ६ हजार ८ सय पाउँथेँ, त्यसैबाट परिवारको गुजारा चल्थ्यो’ उनले भनिन्, ‘अहिले हामीलाई थाहै नदिई निकालेको छ ।’ 

त्यस्तै अस्पतालमै १५ वर्ष काम गरेकी विमला हरिजनको पीडा पनि देवकलीको भन्दा फरक छैन । अस्पतालकै कमाइबाट घरबार चल्ने गरेको बताउँदै उनले भनिन्, ‘तलब आइरहेकोले ऋण लिएको थिएँ, अब कसरी तिर्नु ?’ विगत ७ वर्षदेखि काम गर्दै आइरहेकी अनिसा पासवानको आफ्नो भन्ने कोही छैन । दुई दिदी बिहे गरेर गइसके । उनी त्यही अस्पतालकै कमाइले दैनिकी चलाउँथिन्, अब भने उनलाई थप कष्ट भएको छ ।

१० वर्षदेखि काम गर्दै आइरहेकी नेहा खातुन कोभिडका बेला दिनरात नभनी खटे पनि अहिले जागिरबाट हात धुनुपरेको बताउँछिन् । उनीहरू जस्तै १६ वर्षदेखि काम गर्दै आएकी अश्लीया हरिजन, १० वर्ष काम गरेकी रेखा कामती, गुडिया कामती, ७ वर्ष काम गरेकी दिव्या मण्डल, ६ वर्ष काम गरेकी ललिता कामतीको परिवार रोजगारबाट हात धुनुपर्दा बिचल्लीमा परेका छन् । उनीहरू सबैको स्थानीय ठेगाना भद्रपुर–५ र ८ हो । 

मेची अस्पताल भद्रपुरले २०७६ मङ्सिर २४ गते सुरक्षा गार्ड र कार्यालय सहयोगी (स्विपर) ज्यालादारीमा कर्मचारी आवश्यकताको सूचना प्रकाशन गरेको थियो । सूचनामा १५ जना सुरक्षा गार्ड र १४ जना कार्यालय सहयोगी (स्विपर) को दरबन्दी खुलाइएको थियो । दुवै पद गरी एक सय बढीले फारम भरेका थिए ।

फारम भर्ने बेलामा पुराना कर्मचारीलाई राख्ने भनेर अस्पताल प्रशासनले सबैलाई आश्वासन दिएको थियो । त्यसपछि त्यहाँ कार्यरत सबैले फारम भरेर परीक्षामा सामेल भएका थिए । तर, अस्पताल प्रशासनले पुस ७ गते कर्मचारी नियुक्ति भएका उम्मेदवारको नाम प्रकाशन गर्दा कार्यालय सहयोगी (स्विपर) पदमा पुराना पाँच जनाबाहेक अन्यको नाम परेको थिएन ।

पीडित कामदारले सोर्सफोर्सका आधारमा अन्यलाई जागिर दिएर आफूहरूलाई निकालेको बताए । अस्पतालमा पुर्जी काट्ने, ओटी वा प्रशासनमा बस्ने, डाक्टरको घरमा भाँडा माझ्ने र एउटै परिवारका अन्य सदस्यलाई जागिर दिएको भेटिएको उनीहरू बताउँछन् । १४ जनामध्ये केही व्यक्तिलाई परिवारको अवस्था हेरेर जागिर दिएकोमा कुनै आपत्ति नभएको उनीहरूको भनाइ छ । परीक्षाको बहानामा स्विपर पदका कर्मचारी नियुक्त गरेर अस्पताल प्रशासनले ‘आफ्नो मान्छे लगाउने नयाँ नीति लिएको’ गुडियाको आरोप छ ।

‘यो पहिलादेखिकै सेटिङ रहेछ’ –उनले भनिन् । हाल नयाँ नियुक्ति भएका बाहेक पुराना रुना हरिजन र किरण हरिजनले मात्र सम्पूर्ण अस्पतालको सरसफाइ गरिरहेकोे उनीहरूको भनाइ छ । अस्पतालले कार्यालय सहयोगी (स्विपर) ज्यालादारीमा खेमकुमारी दास, जानुका पौडेल, नवीन सिंह, जीवनकला कुइँकेल, राधा तामाङ, निर्मला, महत, सपना बोहोरा महत, किरण हरिजन, अशोक जमदार, कुमारी हरिजन, रुना हरिजन, रानी कामती, सुमित्रा लिम्बू र कला राईलाई नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

यसमध्ये रुना हरिजन, अशोक हरिजन, किरण हरिजन, कुमारी हरिजन र कला राई पहिलादेखि नै स्विपरमै कार्यरत थिए । यो बाहेक स्विपरमा नियुक्त भएका नवीन सिंह मेची अस्पताल एम्बुलेन्स चालकका भाइ हुन् । खेमकुमारी दास ल्यावमा रगत तान्ने काम गर्छिन् । जानुका पौडेल बिरामीको रिफर कागजमा छाप लगाउँछिन् । जीवनकला कुइँकेल एक्स–रे फाँट र काउण्टरमा बस्छिन् । सपना बोहोरा महतको सासू र ससुरा अस्पतालका स्थायी जागिरे हुन् । रानी कामती डाक्टरको घरमा भाँडा माझ्ने र ओटीमा काम गर्छिन् । सुमित्रा लिम्बूको सासू र तीन जना नन्द अस्पतालमा जागिरे छन् भने ससुरा अस्पतालका पूर्व कर्मचारी हुन् । 

अस्पतालले सरसफाइको ठेक्का लगाउँदा ठेकेदारले २९ जना स्विपरलाई  सरसफाइको काममा खटाएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर पिताम्वर ठाकुरले बताए । ठेकेदारले खटाएका स्विपरले राम्रो काम नगर्ने र आर्थिक भार पनि बढेर गएकोले यस वर्षदेखि सरसफाइको जिम्मा समितितर्फ ल्याइएको डा. ठाकुरले बताए ।

सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने भएकोले सङ्ख्या घटाउनु परेको उनको भनाइ छ । उनका अनुसार कर्मचारी छनोट प्रक्रियामा गएकामध्ये योग्य व्यक्तिलाई नै छनौट गरिएको हो । हाल कामबाट बञ्चित भएकालाई विस्तारै पुनस्र्थापना गरिने उनले बताए । एउटै परिवारका धेरै व्यक्तिलाई जागिर दिएको भन्ने विषयमा खुला प्रतियोगिता भएकोले योग्य व्यक्ति आएको बताउँदै समितिले गरेको निर्णयभन्दा बाहिर नगएको उनको भनाइ थियो ।